logo-img

नक्कली डाक्टरको बिगबिगी : एक महिनामा १५ जनाविरुद्ध मुद्दा दर्ता

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले एक महिनाको अवधिमा अवैधरूपमा मेडिकल पसल सञ्चालन गर्ने १५ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ ।

अनधिकृतरूपमा मेडिकल पसल सञ्चालन गरेर उपचार गर्ने १५ जनालाई नियन्त्रणमा लिएर औषधि सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए ।

‘वर्षौंदेखि अनधिकृतरूपमा सञ्चालनमा रहेका मेडिकल पसल बन्द गराउने अभियान थालेका छौँ,’ उनले भने, ‘यस क्षेत्रमा बिना इजाजत जोखिमपूर्ण औषधिको बिक्री वितरण तथा उपचार भइरहेको पाइएको छ ।’ 

औषधि सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेर अवैधानिकरूपमा मेडिकल पसल सञ्चालन गर्नेलाई कानुनी दायरामा ल्याउने कार्य भइरहेको प्रहरी उपरीक्षक थापाले बताए । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको तथ्याङ्कअनुसार एक महिनाको अवधिमा अवैध मेडिकल सञ्चालन गर्ने १५ जनालाई नियन्त्रणमा लिएर औषधि सम्बन्धी कसुर दर्ता भएको छ । 

प्रहरीले शुक्रबार भीमदत्त नगरपालिका क्षेत्रका ६ मेडिकल पसलमा खनतलासी गरेको थियो । ती मेडिकल पसलका चार सञ्चालकलाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक थापाको भनाइ छ । 

पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–७ की विमला उपाध्याय, भीमदत्त–१६ मझगाउँका राजेन्द्रबहादुर चन्द, भीमदत्त–१० सुकासालका सुरेश पाण्डेय र सोही ठाउँका मोहनबहादुर रोकाया छन् ।



दुईजना मेडिकल सञ्चालक भने फरार रहेको प्रहरीले जनाएको छ । भीमदत्त –१६ वसन्तपुरका वीरेन्द्रराज पन्त र भीमदत्त–१३ साझा चौराहका रामबहादुर विष्ट फरार रहेका छन् । पन्तको मेडिकल पसलबाट ९४ प्रकारका औषधि र विष्टको मेडिकल पसलबाट एक सय २५ प्रकारका औषधि बरामद गरिएको थियो ।

यसअघि प्रहरीले दोधारा चाँदनी र भीमदत्त नगरपालिका क्षेत्रबाट ११  मेडिकल सञ्चालकलाई समातेको थियो । उनीहरूलाई औषधि सम्बन्धी कसुरमा जिल्ला अदालत कञ्चनपुरबाट धरौटीमा रिहा भएको प्रहरी उपरीक्षक थापाले बताए ।



प्रहरीको खानतलासीका क्रममा विना इजाजतका औषधि बिक्री वितरण गर्दै आएको, नामबिनाको मेडिकल सञ्चालन गरेको, पसलमा कुनै बोर्ड नरहेको, इजाजत पत्र नराखेको र बिना सिफारिस बिक्री वितरण गर्न नपाइने जोखिमपूर्ण औषधि बिक्रीका लागि तयारी अवस्थामा राखेको पाइएको छ ।  

  • प्रकाशित मिति : साउन १, २०८० साेमबार ७:१:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया