सुदूरपश्चिममा बत्ती बाल्ने महिना सुरु

बैतडीसहित सुदूरपश्चिम प्रदेशमा साउनलाई ‘बत्ती बाल्ने महिना’का रुपमा मनाउने गरिन्छ । धार्मिक महिनाका रुपमा चिनिने यस महिनालाई बत्ती बाल्ने महिना अर्थात् स्थानीय भाषामा ‘कालो महिना’ भनिन्छ । कालो महिना मानिने भएकाले आजदेखि बत्ती बालेर उज्यालो पार्ने पर्वका रुपमा मनाइँदैछ ।

साउने सङ्क्रान्तिदेखि सुदूरपश्चिमका जिल्लामा साउनलाई विशेष धार्मिक महिनाका रुपमा लिई मन्दिरमा पाठपूजा गर्ने चलन रहिआएको संस्कृतिका जानकार जयानन्द भट्टले बताए । साउनको महिना देवीदेवता बैकुण्ठमा शयन गर्ने अर्थात् सुत्ने भएकाले यस महिनालाई कालो महिना भन्ने गरिएको उनले बताए ।

‘साउनमा सबैतिर हरियाली हुने भएकाले देवीदेवता सुत्ने गर्दछन्, हरिशयनी एकादशीदेखि साउनसम्म भगवान बैकुण्ठमा बस्ने गर्छन्’, भट्टले भने । शयन गरेका बेला बत्ती बालेपछि देवीदेवताको रक्षा हुनाका साथै कुनै पनि वैरी नलाग्ने जनविश्वास रहिआएको छ । 

आजदेखि भक्तजनले बिहानै उठेर नुहाएर एक महिनासम्म व्रत बस्ने तथा देवीदेवताका मन्दिरमा गई पूजापाठ गर्नाले मनले चिताएको पूरा हुने र अञ्जानमा गरिएका पाप कर्म नष्ट हुने धार्मिक विश्वास रहिआएको छ । 

बैतडीमा सातबैनी भगवती र सातभाई केदार देवताका मन्दिर रहेकाले नेपालका मात्रै नभई सीमावर्ती भारतीय दर्शनार्थी समेत आउने गरेको दशरथचन्द नगरपालिका–२ का दीपेन्द्र बोहराले बताए । जिल्लामा रहेका रौलाकेदार मन्दिर, ग्वाल्लेक केदार, जगन्नाथ मन्दिर, ईश्वरी गङ्गाधाम, सिगास मन्दिर, शिवनाथ मन्दिर, दोगडाकेदारमा रहेको दोगडाधाम, देउलेक केदार, भिटाकेदार मन्दिरमा श्रावण भरी दर्शनार्थीको घुइँचो लाग्ने गर्दछ । 

श्रावण महिनाभरी मन्दिरमा राति जाग्राम बस्ने र बत्ती बाल्ने चलन रहिआएको भट्टले बताए । जिल्लाबाट बसाइँ सरेर गएका पनि मन्दिरमा पूजापाठ गर्न तथा बत्ती बाल्न जिल्ला भित्रिने गर्दछन् । बत्ती बाल्ने महिना सुरु भएसँगै यहाँका शक्तिपीठहरुमा दर्शनाथीको भीड लागेको छ ।  





  • प्रकाशित मिति : साउन १, २०८० साेमबार १४:२:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया