logo-img

कस्ता छन् मौद्रिक नीतिका लक्ष्य ?  कस्तो पार्ला प्रभाव ?
फाइल तस्बिर

नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गरेको छ । चालू आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिमा विभिन्न सात वटा लक्ष्य निर्धारण गरिएको छ । 

मौद्रिक नीतिले कम्तीमा सात महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने गरी विदेशी विनिमय सञ्चिति कायम गर्ने लक्ष्य लिएको छ। केन्द्रीय बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिमा विदेशी विनिमय सञ्चितिमा टेवा पुग्ने गरी व्यवस्था गरेको छ। 

यस्तै, विदेशी विनिमय सञ्चितिले आयात धान्ने क्षमता र वार्षिक लक्षित मुद्रास्फीतिका आधारमा नीतिगत दर तय गर्ने भएको छ । नेपाली मुद्राको भारतीय मुद्रासँगको स्थिर विनिमयदारलाई मौद्रिक नीतिको अङ्कुशका रूपमा यथावत् राखिएको छ ।

बैंक तथा वित्तीय संस्थाको अन्तरबैंक कारोबारको भारित औसत ब्याजदरलाई सञ्चालन लक्ष्यका रूपमा यथावत् राखिएको छ । मौद्रिक नीतिले सञ्चालन लक्ष्यको स्थितिको आधारमा सक्रिय रूपमा खुला बजार कारोबार सञ्चालन गरी अन्तरबैंक ब्याजदरलाई ब्याजदर कोरिडोरभित्र राख्ने लक्ष्य राखेको छ ।

यस्तै, मुद्रास्फीतिलाई छ दशमलव पाँच प्रतिशतभित्र कायम राख्न मौद्रिक विस्तारबाट मूल्यमा चाप पर्न नदिने गरी मौद्रिक व्यवस्थापन गर्ने लक्ष्य राखेको छ । सरकारको चालु आवको वार्षिक बजेट वक्तव्यले लक्षित गरेबमोजिम ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न सहयोग पुग्ने गरी वित्तीय स्रोतलाई उत्पादनशील क्षेत्रतर्फ प्रवाहित गर्ने प्राथमिकता केन्द्रीय बैंकले तय गरेको छ ।

यस्तै, चालू आवमा विस्तृत मुद्राप्रदाय १२ दशमलव पाँच प्रतिशत र बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ जाने कर्जा ११ दशमलव पाँच प्रतिशतसम्मले वृद्धि हुने प्रक्षेपण गरिएको छ ।



के हो मौद्रिक नीति ?

समष्टिगत आर्थिक स्थायित्व कायम राख्दै आर्थिक क्रियाकलाप विस्तारमा सहयोग पुर्‍याउन देशको केन्द्रीय बैंकले तर्जुमा गर्ने नीति मौद्रिक नीति हो । मौद्रिक नीतिले मुद्रा प्रदायक, कर्जा र ब्याजदरको व्यवस्थापनमार्फत आर्थिक स्थायित्व कायम राख्दै आर्थिक वृद्धि तथा रोजगारी सिर्जनामा सहयोग पुर्‍याउने उद्देश्य राखेको हुन्छ।



मौद्रिक नीतिले कस्तो पार्छ प्रभाव ? 

अर्थतन्त्रको दुई वटा महत्त्वपूर्ण नीतिगत पाटो हुन्छ । एउटा मौद्रिक नीति हो भने अर्को वित्तीय नीति (बजेट कार्यक्रम)। अहिलेको धराशायी अर्थतन्त्रलाई बजेट कार्यक्रमले सम्बोधन गर्नुपर्थ्यो, तर, त्यस्तो भएन । 

यस्तो अवस्थामा मौद्रिक नीति महत्त्वपूर्ण हुने अर्थशास्त्री ज्ञानेन्द्र अधिकारी बताउँछन् । 

‘मौद्रिक नीति देशको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान गरिरहेको हुन्छ । अहिलेको धराशायी अर्थतन्त्र रिकभरी गर्ने भनेको मौद्रिक नीतिले नै हो,’ उनी भन्छन्, ‘देशमा मुद्रा प्रवाहलाई कुन अवस्थामा राख्ने भन्ने नीति हो । मान्छेको खल्तीमा कति पैसा पुर्‍याउने भन्ने कुरा मौद्रिक नीतिमा भर पर्छ । खुद्रा व्यापारी वा उद्योगी व्यवसायीको कसको हातमा बढी पैसा पुर्‍याउने भन्ने कुरा पनि मौद्रिक नीतिमै भर पर्छ ।’

अझ उनी भन्छन्, ‘मौद्रिक नीति आफैँमा स्वतन्त्र नीति होइन । सरकारले लिने आर्थिक नीति र वित्त नीतिको पूरक नीति हो मौद्रिक नीति । अहिले अर्थतन्त्र शिथिल भएको अवस्था छ । मूल्यवृद्धि उच्च छ तर वृद्धि न्यून छ । यो कुरालाई सच्याउन उपयुक्त समूह, व्यक्ति र उपयुक्त कम्पनीको हातमा पैसा बढी पुर्‍याउनका लागि मौद्रिक नीतिले भूमिका खेल्छ ।’  

देशको आर्थिक नीतिलाई प्रभाव पार्ने उत्पादन, राजस्व, माग आपूर्तिको सन्तुलनमा मौद्रिक नीतिको ज्यादै ठूलो हात हुने उनको तर्क छ । 

  • प्रकाशित मिति : साउन ७, २०८० आइतबार १५:४६:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया