logo-img

मौद्रिक नीतिका कारण गभर्नरसँग सेयर लगानीकर्ता आक्रोशित

राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिप्रति सेयर लगानीकर्ताले असन्तुष्टि व्यक्त गरेका छन् । राष्ट्र बैंकले विगत दुई वर्षदेखि सेयर बजारप्रति नकारात्मक बनेर मौद्रिक नीति ल्याउनु पुँजीबजारको विकासको लागि राम्रो नभएको उनीहरुको भनाइ छ । 

नेपाली पुँजीबजारको विकास र साना लगानीकर्ताको संरक्षण गर्नुपर्नेमा राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत लगानीकर्तालाई कन्फ्युज बनाउने काम गरेको लगानीकर्ताको आरोप छ । नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत लगानीकर्तालाई कन्फ्युज बनाउने काम गरेको बताइन् । 

मौद्रिक नीतिमा एकथरी भाषा प्रयोग गरिएको र त्यसपछि आयोजित पत्रकार सम्मेलनमा फरक कुरा सार्वजनिक गरेर लगानीकर्तालाई कन्फ्युज बनाउने काम गर्नु गलत भएको उनको भनाइ छ । मौद्रिक नीतिको पूर्णपाठ हेर्दा राहत दिने खालको मौद्रिक नीति आएको महसुस भएको तर दुई घण्टाको बीचमा विरोध गर्नुपर्ने अवस्था आएको बताइन् । सबै साइजका कर्जाको जोखिमभार नघट्ने गभर्नरको अभिव्यक्तिले लगानीकर्ताहरुलाई प्यानिक बनाएको उनको भनाइ छ । 

त्यस्तै नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले मौद्रिक नीति लगानीकर्ताहरुले सोचे जस्तो नआएको बताए । दुई वर्षअघि राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिकै कारणले पुँजीबजार धरासायी बनाएको उनको भनाइ छ । सेयर कर्जा संकुचन गर्न ४–१२ को नीति र भारित औसतलाई १०० बाट १५० बनाउँदा धरासायी बनेको पुँजीबजार यो मौद्रिक नीतिले पनि सम्बोधन गर्न नसकेको उनले बताए । 

मौद्रिक नीतिको लागि राष्ट्र बैंकले सुझाव माग्ने तर सुझाव कार्यान्यवन अहिलेसम्म नभएको उनले बताए । भारित औसतलाई पुनारावलोकन गरिनेछ भन्ने समाचार आउँदा लगानीकर्ताको माग सम्बोधन भयो भनेर सबैले मौद्रिक नीतिको स्वागत गरिए पनि दुई घण्टामा पत्रकार सम्मेलनमा गभर्नरले भारित औसत ५० लाखसम्मलाई मात्रै हो भन्ने अभिव्यक्तिले आम लगानीकर्तालाई कुठराघात गरेको बताए । मौद्रिक नीतिले लगानीकर्ताको माग सम्बोधन नगरे पनि आगामी दिनमा नेपाली पुँजीबजारको भविष्य सुनौलो रहेको दाबी गरे । 

त्यस्तै, सेयर विश्लेषक नवराज घिमिरेले नेपाल राष्ट्र बैंकका महाप्रसाद अधिकारी गभर्नर हुँदासम्म पुँजीबजार मैत्री मौद्रिक नीति आउन नसक्ने बताए । गभर्नर अधिकारी कहिल्यै पुँजीबजारप्रति सकारात्मक नभएकाले पुँजीबजारमैत्री नीतिहरु आउन नसकेको उनको आरोप छ । गभर्नरको कार्यकाल सकिएपछि मात्रै नेपाली पुँजीबजारले छलाङ मार्ने उनले दाबी गरे । 





  • प्रकाशित मिति : साउन ९, २०८० मंगलबार २१:३४:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया