एएफसी कप क्वालिफायरको दोस्रो चरणमा पुग्ने मच्छिन्द्रको लक्ष्य

दोस्रो पटक एएफसी कप क्वालिफायरको प्रारम्भिक चरण खेल्ने तयारीमा रहेको नेपालको शीर्ष डिभिजन क्लब मच्छिन्द्र फुटबल क्लबले आफ्नो प्रशिक्षणमा तीव्र्रता दिइरहेको छ । 

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्स मैदानमा मच्छिन्द्रले प्रशिक्षण सुरु गरेको छ । एएफसी कप क्वालिफायरको प्रारम्भिक चरणको पहिलो खेलमा मच्छिन्द्रले भुटानको लिग च्याम्पियन पारो एफसीविरुद्ध चुनौती प्रस्तुत गर्नेछ । उक्त खेलमा आगामी साउन २३ गते दशरथ रंगशालामा नै हुँदै छ । 

मच्छिन्द्रले भने लिग च्याम्पियन भएर उक्त प्रतियोगिता खेल्न लागेका होइन । डेब्यु सिजनमा चर्च ब्वाइज क्लब लिग च्याम्पियन भए पनि एएफसी क्लब लाइसेन्स नहुँदा दोस्रो स्थानको मच्छिन्द्रले त्यो अवसर पायो । त्यससँगै मच्छिन्द्रले लगातार दोस्रोपटक एएफसी कप क्वालिफायरको प्रारम्भिक चरणको खेल खेल्ने भएको हो ।

पहिलो सहभागिता भने मच्छिन्द्रका लागि सुखद् भएन । प्रारम्भिक चरणको खेलमा नै मच्छिन्द्र श्रीलंकाको ब्लु स्टारसँग २–० ले पराजित हुन पुग्यो र उसको यात्रा थप अगाडि बढ्न सकेन । यसपटक भने मच्छिन्द्र सुखद् नतिजा ल्याउने आशामा रहेको प्रशिक्षक किशोर केसीको भनाइ छ । 

सबैले राम्रो मेहनत गरिरहेको र राष्ट्रिय टोलीबाट पनि खेलाडी आएकाले राम्रो टोली बन्नेमा आफू विश्वस्त रहेका प्रशिक्षक केसी बताउँछन् । अघिल्लो सिजन मच्छिन्द्रले ब्लु स्टारबिरुद्ध सुखद् नतिजा निकाल्न नसक्दो प्रारम्भिक चरण पार गर्न सकेन । उक्त खेलमा मच्छिन्द्रले बल पोसेसन पनि आफ्नो नियन्त्रणमा राखेको थियो । तर, हार बेहोर्यो । यसपटक भने मच्छिन्द्रले खेलाडी अनुबन्धन र तयारी राम्रो गरेकाले दोस्रो चरणमा पुग्ने प्रशिक्षक किशोर श्रेष्ठको बताउँछन् । 

मच्छिन्द्रको टोलीमा कुल २३ खेलाडी अनुबन्धित छन् । यीमध्ये नौजना गत लिगमा विभिन्न क्लबबाट उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई मच्छिन्द्रले एएफसी कप क्वालिफायर्सको यात्राका लागि अनुबन्धित गरेको छ । प्रशिक्षक केसीले समय थोरै भए पनि जतिसक्दो राम्रो तयारी गर्ने योजनामा छन् । 



एक हप्ता फिजिकल र त्यसपछि ट्याक्टिकल पक्षमा ध्यान दिने प्रशिक्षक केसीले बताउनु भयो । भुटानले पछिल्लो समय फुटबलमा राम्रो गरिरहेको छ । उनीहरूको युथ लेभलको फुटबल निकै राम्रो रहेको प्रशिक्षक केसीको धारणामा छ । त्यसैले पनि पारोसँग सचेत रहेर राम्रो फुटबल खेल्ने प्रशिक्षक केसीको विश्वास छ ।

यसपटक भने मच्छिन्द्रले पहिलो चरणको खेल जित्ने लक्ष्यका साथ लिगका चर्चित विदेशी खेलाडी र राष्ट्रिय टोलीका खेलाडीलाई केही समयका लागि भित्र्याएको छ । तीमध्ये मेसुके ओलामोउ, लाकेन लिम्बु, सनिष श्रेष्ठ र आयुष घलान हुन् । यो खेल जितेमा मच्छिन्द्रले साउथ जोनको दोस्रो चरणमा भारतको मोहन बगानसँग खेल्नेछ ।



मच्छिन्द्रका कप्तान तथा गोलकिपर विशाल श्रेष्ठले प्रशिक्षकको योजनाअनुरूप आफूहरूको मेहनत गरिरहेकाले लिगको भन्दा बलियो टोली बन्नेमा विश्वस्त रहेको बताए । आफूहरूलाई चाहिने पोजिसनमा पनि खेलाडी थपिएको र केही युवा खेलाडीहरू निकै राम्रो रहेकाले पारोसँगको प्रतिस्पर्धा उत्कृष्ट हुने कप्तान श्रेष्ठको विश्वास छ ।

मच्छिन्द्रले यो खेल पनि जिते प्लेअफ राउण्डमा बंगलादेशको ढाका अबाहानी र माल्दिभ्सको क्लब इगल्सबीचको विजेतासँग खेल्न पाउनेछ । मच्छिन्द्र पनि दोस्रो चरणमा पुग्ने लक्ष्यमा छ । यद्यपि, त्योभन्दा पहिलो पारोसँग खेलमा आफूहरू केन्द्रित रहने योजनामा छ ।

  • प्रकाशित मिति : साउन १३, २०८० शनिबार १८:३१:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया