गण्डकी प्रदेशले अनुत्पादक क्षेत्रमा लगानी गर्दैन : मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारले अनुत्पादक क्षेत्रमा लगानी नगर्ने बताएका छन् । गोरखा नगरपालिका न्यायिक समितिको आयोजनामा आज सदरमुकाममा आयोजित कार्यक्रममा उनले प्रदेशले प्राथमिकताका आधारमा मात्र विकास निर्माणमा लगानी गर्ने उल्लेख गरे । 

‘अनुत्पादक क्षेत्रमा बढी लगानी भयो, प्रदेशको अनुत्पादक क्षेत्रमा लगानी गर्ने नीति छैन,’ मुख्यमन्त्री पाण्डेले भने, ‘जथाभाबी लगानी गरे त्यसले कहिल्यै नतिजा दिन सक्दैन ।’ स्थानीय तहका जनप्रतिनिधिले योजना छनोट र प्रस्ताव गर्दा बढीभन्दा बढीले लाभ लिनसक्ने क्षेत्रमा प्राथमिकता दिएर योजना निर्माण गर्नुपर्नेमा उनले जोड दिए ।

मुख्यमन्त्री पाण्डेले भोट बैंक सुरक्षित गरेर तथा व्यक्तिगत स्वार्थमा केन्द्रित रहेर बजेट छुट्याउने परम्पराको गण्डकीले अन्त्य गरेको उल्लेख गरे । ‘एउटै खोलामा एक किलोमिटरको फरकमा पक्की पुल चाहियो भन्दै बजेट माग्ने गरेको पाइयो,’ उनले भने, ‘नेताहरूले पनि आफ्नो फाइदा हुने ठाउँमा मात्र पुल बनाउनुपर्छ भन्दै दबाब दिने गरेका छन्, स्थानीय जनप्रतिनिधिले वास्तविक आवश्यकताको पहिचान गरेर मात्र योजना निर्माण गर्नुपर्छ ।’ 

मुख्यमन्त्री पाण्डेले सिँचाइ, खानेपानीलगायत कार्यालयबाट विनियोजित बजेटभन्दा बढी खर्च गरेर भुक्तानी लिने गरेको पाइएको जिकिर गर्दै त्यसको अन्त्य गरिने बताए । ‘निश्चित बजेट विनियोजन भएको ठाउँमा आफूखुसी खर्च गर्ने काम बन्द गर्नुपर्छ,’ उनले भने । रासस





  • प्रकाशित मिति : साउन १६, २०८० मंगलबार १२:१४:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया