logo-img

एक महिनाभित्र आफ्नै स्वामित्वमा फार्मेसी सञ्चालन नगर्ने अस्पताललाई कारबाही गरिने
फाइल तस्बिर

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल परिसरभित्र आफ्नै स्वामित्वमा फार्मेसी नभएका अस्पताललाई एक महिनाभित्र फार्मेसी सञ्चालन गर्न निर्देशन दिएको छ ।  

मन्त्रालयले सरकारी, निजी, गैरसरकारी, सामुदायिक प्रतिष्ठान तथा मेडिकल कलेजको नाममा परिपत्र जारी गर्दै  आफ्नै स्वामित्वमा अस्पताल फार्मेसी सञ्चालनमा नरहेका स्वास्थ्य संस्था वा अस्पतालले एक महिनाभित्र फार्मेसी सञ्चालन नगरे कारबाही गर्ने चेतावनीसमेत दिएको छ । 

‘हालसम्म पनि आफ्नै स्वामित्वमा अस्पताल फार्मेसी सञ्चालनमा नरहेका स्वास्थ्य संस्था/अस्पतालले यो परिपत्र जारी भएको मितिले एक महिनाभित्र आवश्यक प्रक्रिया पूरा गरी आफ्नै स्वामित्वमा अस्पताल फार्मेसी सञ्चालन हुने व्यवस्था मिलाई मन्त्रालयमा पत्राचार गर्न हुन र सो नभएको पाइएमा कानूनबमोजिम आवश्यक कारबाही अघि बढाइनेछ’, मन्त्रालयद्वारा जारी परिपत्रमा उल्लेख छ । 

मन्त्रालयबाट जारी अस्पतालको न्यूनतम सेवा मापदण्डमा समेत अस्पताल हाताभित्र अस्पताल फार्मेसीबाहेक अन्य फार्मेसी हुनुहुँदैन भन्ने प्रावधानसमेत उल्लेख गरिएको छ ।

यस्तै, फार्मेसी भएका अस्पतालले अस्पतालमा प्रयोग हुने सम्पूर्ण औषधि तथा औषधिजन्य सामग्री २४सै घण्टा उपलब्ध गराउनुपर्ने मन्त्रालयको निर्देशन छ ।  





  • प्रकाशित मिति : साउन १७, २०८० बुधबार १८:४४:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया