logo-img

निर्माण व्यवसायीको आरोप : सरकारले नै हामीलाई लुट्यो
तत्काल माग पूरा नभए देशभर निर्माण कार्य ठप्प पार्ने निर्माण व्यवसायीको चेतावनी

नेपाल निर्माण व्यवसायीहरूले सरकारले निर्माण व्यवसायीहरूको माग सम्बोधन नभए देशभर निर्माण कार्य ठप्प पार्ने चेतावनी दिएका छन् । शुक्रबार उनीहरूले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेला भई निर्माण उपकरणसहित धर्ना दिएका हुन् । 

कार्यक्रममा निर्माण व्यवसायीहरूले पूर्ववर्ती सरकारले गरेका गल्तीहरू सच्याएर देश विकासका लागि सरकार सच्चिन आवश्यक रहेको बताएका छन् । उनीहरूले बजेट दिन नसक्ने आयोजनाहरू खारेज नगरे देशमा निर्माण व्यवसायीहरूको आन्दोलन थप चर्किने चेतावनी दिएका छन् । 

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका सांसद पूर्णबहादुर तामाङले रक्षा मन्त्रालय नै ठेक्कापट्टामा लागेको भन्दै रक्षा मन्त्रालयले सुरक्षा व्यवस्था चुस्त बनाउने हो की ठेक्का पट्टामा लाग्ने हो ? भन्दै प्रश्न गरे । उनले सरकारले निर्माण व्यवसायीको माग पूरा नगरे आफूले सांसदको पद त्याग्ने बताए । उनले निर्माण व्यवसायीहरू प्लेकार्डमा मात्रै एकत्रित हुने नभई जुनसुकै बेलामा एकत्रित हुनुपर्ने बताए । उनले छिटो काम सम्पन्न गर्ने कुरामा सबै निर्माण व्यवसायीहरू लाग्नुपर्ने बताए । तामाङले लामो ग्याप गरेर भुक्तानी नरोक्न सरकारलाई सुझाव दिँदै प्रत्येक महिनाको ग्याप राखेर रकम भुक्तानी गर्न आग्रह गरे ।

विरोध कार्यक्रममा बोल्दै महासंघका पूर्व अध्यक्ष जयराम लामिछानेले निर्माण व्यवसायीहरू सरकारबाट नै ठगिरहेको आरोप लगाए । उनले सरकारको काम निर्माण व्यवसायीहरूले गरेकाले कामको भुक्तानी सबैभन्दा पहिला गर्नुपर्ने बताए । उनले निर्माण व्यवसायी नेपालको मुहार फेर्ने जमात भएकाले बाटोमा खडा हुने अवस्था बाध्य नबनाउन चेतावनी दिए । लामिछानेले सिंहदरबार, बालुवाटार, शितलनिवास निर्माण व्यवसायीहरूले नै निर्माण गरेको भन्दै निर्माण व्यवसायीहरूका माग पूरा गर्न आग्रह गरे ।

महासंघका पूर्व अध्यक्ष यक्षध्वज कार्कीले ढुंगामाटोसँग खेल्ने निर्माण व्यवसायीहरूलाई सडकमा आन्दोलन गर्न बाध्य नबनाउन सरकारसँग आग्रह गरे । उनले निर्माण व्यवसायीहरूलाई परेको दुःख सबैको दुःख भएकाले निर्माण व्यवसायलाई अघि बढाउन माग गरेको बताए । उनले सरकारले आफ्ना मागहरूको अन्देखा गरिएको आरोप लगाउँदै सरकारले माग पूरा नगरे देशभर निर्माण ठप्प बनाउने चेतावनी दिए । 

त्यस्तै महासंघका पूर्व अध्यक्ष रमेश शर्माले निर्माण व्यवसायीहरूका सम्पूर्ण माग जायज रहेकाले पूरा गर्नुपर्ने बताए । उनले आन्दोलन गरेको ६ दिन भइसक्दासमेत सरकारले आफ्ना मागप्रति चासो नदिएको भन्दै अर्को चरणको आन्दोलन चर्काउने चेतावनी दिए । उनले देशभर रोलर, एक्सभेटरहरु सडक बन्द गर्ने गरी तेर्स्याएर विरोधमा उत्रिने चेतावनी दिए । शर्माले सरकारले निर्माण व्यवसायीहरूका माग पूरा गरेपछि मात्रै निर्माणका कामहरू अघि बढ्ने बताए ।



महासंघका अध्यक्ष रवि सिंहले आन्दोलन गर्नुपूर्व धेरै पटक प्रधानमन्त्रीको ध्यानाकर्षण गराए पनि माग सुनुवाइ नभएकाले आन्दोलन गर्न बाध्य भएको बताए । उनले असार मसान्तसम्म सबै कामको भुक्तानी गर्ने प्रतिबद्धता जनाए पनि सोअनुसार कार्यान्वयन गर्न नसकेको गुनासो गरे । अघिल्ला सरकारले गल्ती गरेका हुन् भनेर गल्ती नसच्याई कन वर्तमान सरकार पन्छिन नपाउने उनले बताए ।  



  • प्रकाशित मिति : साउन १९, २०८० शुक्रबार १२:६:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया