कान्ति बालमा शय्या अभाव, अप्रेशनको लागि पनि महिनौँ कुर्नुपर्ने बाध्यता

कान्ति बाल अस्पतालमा शय्याको अभाव हुँदा बिरामीहरू मर्कामा परेका छन् । बालबालिकाहरूको रेफरल अस्पतालका रुपमा रहेको कान्ति बाल अस्पतालमा मिर्गौला रोगको उपचार, बाल क्यान्सर, बाल मानसिक रोगको उपचार हुँदै आएको छ । यस्तै, बालबालिकाहरूको इन्डोस्कोपी सेवा, मुटु रोगको ओपिडी सेवा सञ्चालन हुने गरेको छ । 

अहिले रुघाखोकी, निमोनिया, ज्वरो र केही मात्रामा झाडापखालाका बिरामीहरू चाप छ । अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले पर्याप्त शय्या नहुँदा उपचारमा अफ्ठ्यारो भएको जानकारी दिए । उनले एउटा बेडमा दुईदेखि जना तीन जनासम्मलाई उपचार गर्नुपर्ने बाध्यता रहेको बताए ।  अस्पतालमा जम्मा ३३० शय्या छ । 

बसौलाले अस्पतालमा पर्याप्त शय्या नहुँदा एउटा बेडमा खप्टेर बस्नुपर्ने स्थिति रहेको बताए । उनले नर्सिङ जनशक्तिको पनि अभाव रहेको जानकारी दिए । डा. बसौलाले गत आर्थिक वर्षमा २ लाख बालबालिकाले उपचार सेवा लिएको जानकारी दिँदै अहिले दैनिक झन्डै ९०० जना उपचारका लागि आउने गरेको बताए ।

डा.बसौलाले भने, ‘बिरामी सङ्ख्या हेर्दा खेरी अहिले गर्मी मौसममा एउटै रेसियोमा बिरामी आउने देखिन्छ । अत्यधिक चाप चाहिँ साउन भदौ महिनामा देखिन्छ । दैनिक हेर्दा खेरी आठ सयदेखि ९०० को हाराहारीमा ओपिडीमा आउनेको सङ्ख्या छ भने इमरजेन्सीमा एक सय ५० देखि दुई सय बिरामी आउने गर्छन् । हाम्रो अहिले तीन सय ३० बेडले पनि धान्न सकेको छैन । एउटा बेडमा दुई जना तीन जना बसेको देख्न सक्नुहुन्छ ।’  

डा. बसौलाले अस्पतालमा एक जना नर्सले ६ देखि ८ जना बिरामीलाई सेवा पुर्‍याउनुपर्ने अवस्था रहेको बताए । उनले कहिलेकाहीँ दुई जना नर्सले पूरै वार्ड हेर्नुपर्ने अवस्था आउने गरेको भन्दै कम्तीमा पनि पाँच सय जनाको हाराहारीमा नर्सिङ जनशक्ति चाहिने बताए । हाल अस्पतालमा दुई सय जना नर्स कार्यरत छन् ।



उनले भने, ‘अब्जरबेसन वार्डमा २४ घण्टामा तीन चार जना बच्चा बसेकोसम्म भेट्न सक्नुहुन्छ । २५ बेडको अब्जरबेसन वार्ड र २५ बेडको इमर्जेन्सी छ । एउटा बेडमा खप्टेर बस्नुपर्ने स्थिति  छ । २५ बेडमा पनि ५०/६० जना बालबालिका राख्नुपर्ने अवस्था छ । ओपिडी, फार्मेसी, ल्याबको रिपोर्ट हेर्दा दुई चार दिनदेखि बिरामीको अत्यधिक चाप छ ।’

अस्पतालले मिर्गौला रोगको उपचार, बाल क्यान्सर, बाल मानसिक रोगको उपचार, इन्डोस्कोपी, मुटु रोगको ओपिडी सञ्चालन गर्दै आएको छ । दैनिक २० देखि ३० वटा अप्रेसन हुने गरेको जानकारी दिए । कान्ति बालमा ५२ शय्याको आइसीयु सञ्चालनमा छ ।



एक हजार शय्याको अस्पताल निर्माण गर्ने गरी सिपिआर पूरा भएको जानकारी दिँदै डा. बसौलाले नौ अर्ब ३० करोडको लागतमा पाँच वटा भवन बनाउने योजना रहेको बताए । उनले इमर्जेन्सी बाहेक अप्रेशनका लागि ६ महिनादेखि एक वर्षसम्म कुर्नुपर्ने बाध्यता रहेको बताए ।

डा. बसौलाले भने, ‘अप्रेशन गर्नुपर्ने डेट अलिकति लामो हुन्छ । किनभने नेपालभरीबाट बालबालिकाको अप्रेशनका लागि रेफरल आउँछ । भनेको जस्तो समयमा अप्रेशनको पालो आउँदैन । जस्तो आज आयो भने ६ महिनादेखि एक वर्षसम्म कुर्नुपर्ने हुन्छ, इमर्जेन्सी बाहेक ।’

कान्ति बाल अस्पतालले निकट भविष्यमा नै एमआरआई सेवा सञ्चालन गर्ने योजना बनाएको उनले बताए ।   

  • प्रकाशित मिति : साउन २१, २०८० आइतबार ११:४९:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया