logo-img

राष्ट्रिय मेलमिलाप गरेर शरणार्थी फर्काउन भुटानी राजालाई अपिल

भुटान पिपल्स पार्टीका अध्यक्ष बलराम पौडेलले राष्ट्रिय मेलमिलापको नीति अपनाएर भुटानी शरणार्थीलाई स्वदेश फर्काउन भुटानका राजा जिग्मे खेसर नाम्ग्याललाई अपिल गरेका छन् । 

सन् १९९० मा भुटानबाट निर्वासित भएपछि भुटान पिपल्स पार्टीका अध्यक्ष पौडेल झापाको बिर्तामोडमा शरणार्थी जीवन बिताइरहेका छन् । उनले भुटानका राजा नाम्ग्याललाई यही जुलाई ३० तारिखमा पत्र पठाएर उक्त अपिल गरेका हुन् । 

बिर्तामोडमा आज पत्रकार सम्मेलन गरी अध्यक्ष पौडेलले भुटानमा दिनानुदिन संकट चुलिइरहेको, राष्ट्रियता र प्रजातन्त्र जोखिममा रहेको लगायतका कारण जनाउँदै देशभित्रको राजनीतिक समस्या राष्ट्रिय मेलमिलापको नीतिबाट मात्र हल गर्न सकिने भएको हुँदा भुटानका राजालाई पत्र पठाएको जानकारी दिए । 

हाल भूटानको पारो, चाम्गाङ, राबुना, मोन्गार, साम्द्रुपजोङ्खार लगायतका विभिन्न जेलमा दुई सयभन्दा बढी राजबन्दी विनासुनुवाइ थुनिएको जनाउँदै प्रजातन्त्र र मानव अधिकारको आन्दोलनमा सहभागी हुँदा कठोर जेल जीवन बिताइरहेका ती सबैलाई विनासर्त रिहाइ गर्न भुटानी राजालाई आग्रह गरे । 

‘भुटान नै नरहने हो कि भन्ने किसिमको संकट उत्पन्न भइरहेको छ,’ उनले भने, ‘आफ्नो भाषा, संस्कृति र प्रजातान्त्रिक अधिकारका लागि आवाज उठाउँदा दक्षिण भुटानका डेढ लाख नागरिकलाई ३० वर्षअघि अन्यायपूर्वक देश निकाला गरियो । वर्तमान राजालाई हामी ती सबै राजबन्दीलाई विनासर्त रिहाइ गरेर भुटानमा राष्ट्रिय मेलमिलापको नीति अपनाउन हार्दिक अपिल गर्दछौँ ।’

अध्यक्ष पौडेलले दक्षिण भुटानबाट देश निकालामा परेका २० प्रतिशत भुटानी नागरिक हाल कतिपय शरणार्थीको रुपमा तेस्रो मुलुकमा पुनःस्थापना भइसकेको र कतिपय हालसम्म पनि शरणार्थी शिविरमा दर्ता भई झापा र मोरङमा कष्टकर जीवन बिताइरहेको विषयमा चिठीमार्फत भुटानी राजालाई अवगत गराएका छन् ।



उनका अनुसार डेढ लाख भुटानी शरणार्थीमध्ये सात हजारको संख्यामा अझैसम्म शिविरमा रहेको र अरुहरु तेस्रो मुलुक पुगेका छन् । तेस्रो मुलुक पुगेका र शिविरभित्रै बसिरहेका सबै भुटानी शरणार्थी आफ्नो देश भुटान फर्कन पाउने प्रतीक्षामा रहेको उनले बताए । त्यसका लागि भुटानी राजाले जेलमा रहेका सबै राजबन्दीलाई रिहा गर्नुपर्ने र सबै शरणार्थीलाई स्वदेश फर्किने वातावरण तयार पार्नुपर्ने पौडेलले माग गरे । 

‘हामीलाई नेपाल सरकारले गाँस, बास र कपासको व्यवस्था गरिदियो,’ उनले भने, ‘तैपनि खुसी छैनौँ किनकि हामी आफ्नै देश भुटान फर्किन चाहन्छौँ । भुटान जान नपाएसम्म हामी खुसी हुन सक्दैनौँ ।’



भूटान सरकारसँग संवाद गरेर भुटानी शरणार्थीलाई स्वदेश फर्किने वातावरण बनाउनका लागि सहयोग गरिदिन उनले नेपाल सरकारलाई अनुरोध गरेका छन् । नेपालमा रहेका शरणार्थीको परिचय नवीकरण गरिदिन र दर्तामा छुटेकाको दर्ता गरिदिन उनले नेपाल सरकारलाई आग्रह गरेका छन् ।

  • प्रकाशित मिति : साउन २१, २०८० आइतबार २०:४०:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया