काठमाडौं महानगरले एक वर्षमा उठायो १० अर्ब २५ करोड राजस्व

काठमाडौं महानगरपालिकाले गत आर्थिक वर्ष २०७९/०८० मा १० अर्ब २५ करोड ४१ लाख रुपैयाँ राजस्व असुल गरेको छ । कामपाले गत आवको लागि १० अर्ब ४१ करोड रुपैयाँ लक्ष्य लिएको थियो । अघिल्लो आवको भन्दा गत आवमा आन्तरिक राजश्व लक्ष्यअनुसार नै उठे पनि कामपाले सङ्घ तथा प्रदेश सरकारबाट बाँडफाँट र अनुदानबाट आउने रकम कमी आउँदा समग्र राजस्व घटेको हो ।  

आव २०७८/०७९ मा कामपाले १० अर्ब ४१ करोड राजस्व असुल गरेको थियो । अनुदान रकम कम भए पनि अछिल्लो आर्थिक वर्षको तुलनामा आन्तरिक आम्दानी १ अर्ब ३६ करोड बढी असुल भएको कामपा राजस्व विभागका प्रमुख धुव्र काफ्लेले जानकारी दिए । उनका अनुसार कामपाले आन्तरिक आम्दानी लक्ष्यभन्दा ५७ करोड बढी असुल गरेको हो ।  

जसमा सबैभन्दा बढी बहाल करमा २ अर्ब ५६ करोड रुपैयाँ असुल भएको छ, त्यस्तै सम्पत्ति करमा १ अर्ब आठ करोड रुपैयाँ, व्यवसाय करमा पनि ५८ करोड असुल भएको विभागका प्रमुख काफ्लेले बताए । त्यस्तै, नक्सापास दस्तुरबाट१० करोड ११ लाख रुपैयाँभन्दा बढी राजस्व उठेको छ । 

स्रोतसाधनको हिसाबले सबैभन्दा बलियो कामपाले अघिल्लो वर्षको तुलनामा ३० प्रतिशतले बढी आन्तरिक राजस्व उठाएको हो । आव २०७८/०७९ मा जम्मा ४ अर्ब ४६ करोड रुपैयाँ आन्तरिक राजस्व उठाउन सफल भएको कामपाले आव २०७९/०८० मा ५ अर्ब ८२ करोड रुपैयाँ राजस्व उठाउन सफल छ ।  

कामपाले सम्पत्ति, घरजग्गा, बहाल, व्यवसाय मनोरञ्जनलगायत विभिन्न ३६ शीर्षकमा राजस्व असुल गर्दै आएको छ । अन्तर–सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ मा मूल्य अभिवृद्धि कर तथा आन्तरिक अन्तः शुल्कबाट उठेको रकममध्ये ७० प्रतिशत केन्द्र सरकारलाई र १५/१५ प्रतिशत प्रदेश तथा स्थानीय तहलाई बाँडफाँट हुने व्यवस्था छ ।  

गत आवमा बाँडफाँटबाट कामपाले १ अर्ब ८५ करोड पाएको छ । राजश्व विभाग प्रमुख काफ्लेले भने, ‘अघिल्लो वर्षको  तुलनामा १ अर्ब ६८ करोड ९४ लाख रुपैयाँले कमी हो । अघिल्लो वर्ष करिब तीन अर्ब ५५ करोड रुपैयाँ प्राप्त गरेको थियो ।’  
 





  • प्रकाशित मिति : साउन २४, २०८० बुधबार १४:२६:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया