logo-img

डेंगुबाट १३ हजार संक्रमित, सतर्कता अपनाउन आग्रह

देशभरि डेंगुको संक्रमण दैनिक बढिरहेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार हाल देशभरि ७४ जिल्लामा डेंगुको संक्रमण फैलिँदा १३ हजार दुई सय ९२ जना बिरामी परेका छन् । 

डेंगुको संक्रमणबाट हालसम्म १० जनाको मृत्यु भइसकेको छ । महाशाखाका निर्देशक डा. रुद्रप्रसाद मरासिनीले लगातार परिरहेको पानीका कारण तथा सरसफाइमा ध्यान नदिँदा डेंगुको संक्रमण बढिरहेको बताए । दैनिक संक्रमण बढिरहेकाले सतर्कता अपनाउन उनले आग्रह गरे । 

'दैनिक डेंगुको संक्रमण बढिरहेकाले सरसफाइसहित लामखुट्टेबाट बच्न सतर्कता अपनाउनुपर्दछ,' निर्देशक डा. मरासिनीले भने, 'डेङ्गु संक्रमण भदौ र असोजमा उच्च हुने जोखिम छ ।' 

नेपालमा पहिलोपटक सन् २००४ मा डेंगुको संक्रमण देखिएको थियो । सन् २०२२ मा ५४ हजार सात सय ८४ जना डेंगुबाट संक्रमित भएका थिए भने यसबाट ८८ जनाको मृत्यु भएको थियो । 

सुनसरीमा सात हजार संक्रमित

डेंगुको संक्रमण सबैभन्दा बढी सुनसरीमा देखिएको छ । महाशाखाका अनुसार सुनसरीमा सात हजार ८९ जना डेंगुबाट संक्रमित भएका छन् । 



यस्तै, मोरङ एक हजार पाँच सय ९१, धादिङमा एक हजार दुई सय दुई, झापामा आठ सय ९६, कास्कीमा दुई सय ४७, धनकुटामा दुई सय ३६, काठमाडौंमा एक सय ९६, दार्चुलामा एक सय ९४, संखुवासभामा एक सय ५६ तथा चितवनमा ९० जनामा डेंगु संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ । 

कोशी प्रदेशमा बढी 



डेंगुको संक्रमण सबैभन्दा बढी कोशी प्रदेशमा देखिएको छ । कोशीमा १० हजार एक सय ८२ जना यसबाट संक्रत भएका छन् । 

यस्तै, बागमती प्रदेशमा एक हजार सात सय ९३, गण्डकीमा पाँच सय १०, सुदूरपश्चिममा चार सय १७,  लुम्बिनीमा दुई सय ६३, मधेसमा ९२ र कर्णाली प्रदेशमा ३६ जनामा डेंगुको संक्रमण देखिएको महाखाले जनाएको छ ।  

मन्त्रालयले लामखुट्टेबाट बच्नका लागि सधैँ झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न अनुरोध गरेको छ । 

यस्तै, सम्भव भएसम्म लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपक्षी व्यवस्थित ढंगले पाल्न र घरवरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिन आग्रह गरेको छ । 

  • प्रकाशित मिति : साउन ३०, २०८० मंगलबार १७:२३:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया