logo-img

के हो ओली–रावल भेटवार्ताको अन्तर्य ?

एमाले​मा लामो समयदेखि भूमिकाविहीन रहेको नेता भीम रावलले मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्। पार्टीका गतिविधिमा निष्क्रिय रहेका रावलले पार्टी कार्यालय च्यासल पुगेर ओलीसँग भेटवार्ता गरेका हुन् । 

नेकपामा रहँदा माधव नेपाल समूहमा रहेका रावल र अध्यक्ष ओलीको सम्बन्ध एमालेको १०औँ महाधिवेशनपछि थप जटिल बनेको थियो । २०७८ मा चितवनमा भएको सो अधिवेशनमा रावलले ओलीसँग अध्यक्षमा प्रतिस्पर्धा गरेका थिए । 

त्यही तिक्ततापूर्ण सम्बन्धका कारण ओलीले रावललाई गत चुनावमा टिकटबाटै वञ्चित गरिदिएका थिए । त्यसयता रावल पार्टीका गतिविधिमा निष्क्रिय नै छन्। उनलाई पार्टीले पनि कुनै जिम्मेवारी दिएको छैन । 

रावलले झैँ १०औँ महाधिवेशनमा महासचिवमा उम्मेदवारी दिएका घनश्याम भुसाललाई पनि ओलीले टिकटबाट वञ्चित गरे । टिकट नपाएपछि कांग्रेस नेतृत्वको गठबन्धनको समर्थनमा रुपन्देहीबाट स्वतन्त्र उम्मेदवारी दिएका भुसाल आमनिर्वाचनमा पराजित भए । त्यसपछि उनी एकीकृत समाजवादीमा प्रवेश गरेर महासचिवको जिम्मेवारीमा छन् । 

अपमान सहेरै भए पनि एमाले नछाडेका रावलसँग रावलसँग संवादका लागि एमालेले गत चैतमा उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको थियो । टोलीले केही चरणमा वार्ता गरे पनि खासै फलदायी भएको थिएन । 

मंगलबार रावलले लामो समयपछि अध्यक्ष ओलीसँग भेटवार्ता गरेका हुन् । भेटपछि पत्रकारहरूसँग छोटो कुराकानी गर्दै रावलले सामान्य कुराकानी मात्रै भएको बताए । दुवैजनाले आ–आफ्ना विचार राखेको र देशको स्थितिबारे छलफल भएको जानकारी दिए । 



पछिल्ला दिनमा माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालप्रति आक्रामक रुपमा प्रस्तुत हुँदै आएका ओलीले रावलसँग भेटेर केही जिम्मेवारी दिन लागेको अधिकांशको अनुमान छ । 

तर, रावलले भने त्यसबारे कुराकानी नभएको बताएका छन् । तपाईंलाई पार्टीले दिने जिम्मेवारीबारे के छलफल भयो ? भन्ने पत्रकारको प्रश्‍नमा उनले त्यस्तो केही नभएको र अब फेरि कुराकानी गर्ने भनेर छुटेको बताए ।



  • प्रकाशित मिति : साउन ३०, २०८० मंगलबार २२:४०:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया