logo-img

धादिङमा उठेन ४१ करोड ३८ लाख विद्युत् महसुल, युनाइटेड सिमेन्टले २७ करोड तिर्न बाँकी

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

धादिङमा ४१ करोड ३८ लाख ४५ हजार रुपैयाँ विद्युत् महसुल उठ्न बाँकी छ । नेपाल विद्युत् प्राधिकरण धादिङ शाखाका प्रमुख माधव न्यौपानेका अनुसार धुनिबेँसी नगरपालिकामा सञ्चालित युनाइटेड सिमेन्ट उद्योगले मात्र २७ करोड ५९ लाख ६४ हजार महसुल तिर्न बाँकी छ । 

महसुल नतिर्ने १ हजार ७४८ जनाको विद्युत् लाइन काटिए पनि १७७ ग्राहकले अझैसम्म महसुल तिरेका छैनन् । १०३ जना उपभोक्तालाई  प्राधिकरणले कालोसूचीमा राखेको छ । 

लाइन काटेपछि ४ करोड २६ लाख ७४ हजार असुली गरेको शाखा प्रमुख न्यौपानेले जानकारी दिए । कालोसूचीमा परेका उपभोक्ताबाट ३७ लाख १२ हजार असुल गर्न बाँकी छ ।

धादिङ शाखाले गत आर्थिक वर्ष २०७९/८० मा एउटा ग्राहकको रकम उठाउन काठमाडौं र भक्तपुरमा समेत उनीहरूको घरमा लाइन काटेको प्रमुख न्यौपानेले बताए ।

चोरी पनि उस्तै

धादिङमा विद्युत् चोरीको घटना पनि गत वर्षको तुलनामा बढेका छन् । चुहावट रोक्न बन्द मिटर फेर्ने, तारले छोएका रुख काट्ने, नाङ्गो तारलाई कालो तारमा रूपान्तरण गर्ने तथा ट्रान्सफर्मर थप गरेर विद्युत् सञ्चालन गरे पनि चोरी नियन्त्रणमा आउन सकेको छैन । 



गत आवमा विद्युत् चोरी गर्ने २९४ जनालाई कारबाही गरिएको थियो । उनीहरूबाट १४ लाख ८१ हजार जरिवाना असुल गरिएको उनले बताए ।  अघिल्लो आवमा १२३ जनालाई विद्युत् चोरीअन्तर्गत कारबाही गरिएको थियो । 

गत आवमा ११ करोड २२ लाख ९१ हजार ६०९ युनिट विद्युत् बिक्री गरी १ अर्ब २ करोड रुपैयाँ संकलन भएको प्राधिकरणले जनाएको छ । रासस 



  • प्रकाशित मिति : साउन ३२, २०८० बिहीबार ८:५:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया