logo-img

कांग्रेस नेता भण्डारी डिस्चार्ज

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेपाली कांग्रेसका नेता तथा सांसद डा. चन्द्र भण्डारी आज उपचारपछि कीर्तिपुरस्थित बर्न सेन्टरबाट डिस्चार्ज भएका छन् । उपचारमा संलग्न चिकित्सक डा. किरण नकर्मीले शल्यक्रियाबाट स्वास्थ्यमा सुधार देखिएपछि उनलाई डिस्चार्ज गरिएको जानकारी दिए ।

‘शल्यक्रियापछि उहाँको स्वास्थ्य अवस्थामा सुधार आएको छ, अब घरमै आराम गर्नुहुन्छ,’ उनले भने, ‘विस्तारैविस्तारै उहाँको स्वास्थ्यमा सुधार हुन्छ ।’ डा. नकर्मीले बाहिर सङ्क्रमणबाट जोगाउनका लागि उनलाई दुई हप्तासम्म अन्य व्यक्तिको सम्पर्कमा पनि नआउनसमेत भनिएको बताए । 

उनका अनुसार नेता भण्डारीको पुनः मङ्गलबार घाउको ड्रेसिङ गरिनेछ । करिब ६ महिना अगाडि घरमा ग्यास लिक हुँदा आगलागीमा परी घाइते भएका उनको यही ३१ साउनमा छालाको प्रत्यारोपण गरिएको थियो ।  

‘जलनको कारणले घाउ भएपछि दाग परेर नेता भण्डारीको हातको मुठ्ठी पार्न गाह्रो भएको थियो’, उनले भने, ‘दागहरू निकालेर छाला प्रत्यारोपण गरिएको हो ।’

उनको शल्यक्रियाका लागि क्यानडाबाट अमेरिकीमूलका चिकित्सक डा. तिमोथी स्प्रौलसहित प्रा.डा. बिडी झा, प्रा.डा. शङ्करमान राई, डा. किरण नकर्मी, डा. अनुप सुवेदी, डा. प्रदीप राजभण्डारी, डा. विशाल कार्की डा. प्रविन गिरी, डा. सुष्मा डङ्गोल, मोहनकृष्ण डङ्गोल र डा. प्रज्वल श्रेष्ठ गरी ११ जनाको चिकित्सको टोली उपचारमा संलग्न रहेको थियो ।  

गत ३ फागुनको राति आगलागीमा परेका सांसद डा. भण्डारीको सुरुमा कीर्तिपुर बर्न सेन्टरमै उपचार गरी थप उपचार भारतको मुम्बइमा रहेको नेसनल बर्न सेन्टरमा गराइएको थियो । भारतमा ७३ दिन उपचार गराएर फर्किएपछि उनको गत १९ वैशाखदेखि काठमाडौंको पुरानो बानेश्वरमा रहेको फ्रन्टलाइन अस्पतालमा उपचार भइरहेको थियो ।  





  • प्रकाशित मिति : भदौ १, २०८० शुक्रबार १८:८:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया