logo-img

नागछाँगाको प्रवर्द्धन गर्न मेला, पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने लक्ष्य

भोजपुरको रामप्रसादराई गाउँपालिकामा रहेको धार्मिक तथा पर्यटकीयस्थल नागछाँगाको प्रवर्द्धनका लागि मेला लगाइने भएको छ । पर्याप्त प्रचार–प्रसार नहुँदा अनौठो प्राकृतिक स्वरूप रहेको यो स्थान ओझेलमा परेसँगै यसको प्रवर्द्धन गर्नका लागि मेला लगाउन लागिएको हो । 

वडा नं २ धोद्लेखानी र वडा नं ६ को सिमनामा पर्ने यो स्थानमा यही भदौ ४ गते मेलाको आयोजना गरिएको हो । प्रत्येक वर्षको नागपञ्चमीका दिन मेला लगाउने निर्णयसहित यो वर्षको लागि मेलाको तयारी गरिएको रामप्रसादराई गाउँपालिका–६ का वडाध्यक्ष एकराज आचर्यले जानकारी दिए ।  

यहाँका दुई वडालाई समेटेर नागछाँगा संरक्षण एवं मेला व्यवस्थापन समिति गठन गरिने वडाध्यक्ष आचर्यको भनाइ छ । ‘हाम्रो ठाउँको प्रसिद्ध धार्मिकस्थल नागछाँगाको संरक्षणमा जुटेका छौँ’, उनले भने, ‘यो संरक्षण तथा प्रचार–प्रसार गर्नका लागि भदौ ४ गते मेलाको आयोजना गरेका छौँ । यसलाई प्रत्येक वर्षको नागपञ्चमीमा लगाउने निर्णयसमेत गरेका छौँ । यसले यो क्षेत्रको प्रचार–प्रसारमा टेवा पुर्याउने हाम्रो लक्ष्य हो ।’ 

यहाँसम्म पुग्ने बाटोलाई श्रमदानमार्फत मर्मत तथा सरसफाइ गरिने वडाध्यक्ष आचार्यले बताए । नागछाँगा, गङ्गाखोला, गोल्मेभिर, थामडाँडालगायतका धार्मिक र पर्यटकीयस्थलको प्रचार–प्रसारमा वडा कार्यालयले काम गरिएको उनको भनाइ छ । 

नागछाँगाको किंवदन्तीको खोज तथा अनुसन्धान गरिरहेको वडाध्यक्ष आचार्यको भनाइ छ । ‘परापूर्वकालमा सक्कली नाग बस्ने गरेको  किंवदन्ती पनि छ’, उनले भने, ‘नजिकै रहेको गोल्माराजा गोल्मा रानीको भिरको राक्षस आएर मार्न खोजेपछि नाग अलप भएको बूढापाकाले बताउने गरेका छन् । यसको किंवदन्तीको खोजीमा लागेको छौँ ।’ 



दुई वडाको सिमनामा रहेको यो स्थानमा विकासमा एक भएर लागेको वडा नं २ का  वडाध्यक्ष राजकुमार तामाङले बताए । स्थानीयस्तरका धेरै मानिस यो ठाउँको महत्वका विषयमा जानकार भए पनि बाह्यरूपमा चिनाउन नसकिएको उनको भनाइ छ । यसको प्रचार–प्रसारका लागि विभिन्न गतिविधिलाई अघि बढाइएको उनले जानकारी दिए ।  

ढुङ्गाभरि नागको चित्र देख्न सकिने यो ठाउँमा दर्शन गरे मनोकाङ्क्षा पूरा हुने स्थानीयको भनाइ छ । ढुङ्गाभरि जेलिएका नागको चित्र देखेर जो–कोही पनि अचम्मित हुने गरेका छन् ।  हेर्दा नै अनौठो लाग्ने यो ठाउँले सबैको मन लोभ्याउने गरेको छ ।



गाउँपालिकाले यसको विकाससँगै यसको अन्य तथ्यको विषयमा खोजी गर्ने जनाएको छ । स्थानीयको धार्मिक आस्थाको ठाउँ रहेकाले नागछाँगालाई धार्मिक पर्यटकस्थलका रूपमा विकास गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए । 

अहिले पनि गाउँपालिकाले आवश्यक संरचना निर्माणको काम गरिरहेको उनको भनाइ छ । यसको थप विकासका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेकाले सोहीअनुसार विकासको काम अघि बढाउने अध्यक्ष राईले बताए ।  

‘नागछाँगा एउटा प्रकृतिको उपहार हो’, अध्यक्ष राईले भने, ‘यो हाम्रो गाउँपालिको सम्पत्ति पनि हो । यसको संरक्षणमा हामीले ध्यान दिँदै आएका छौँ । यसको पर्याप्त प्रचार–प्रसार हुनसकेको छैन । यहाँको महत्वलाई चिनाएर एक धार्मिक पर्यटकीय क्षेत्रका रूपमा स्थापित गर्ने हाम्रो योजना छ ।’

गाउँपालिकाकाले नागछाँगासँगै पर्यटकीय क्षेत्र बेहेरेश्वर मन्दिर, पामखाङ्ग भञ्याङ, चुलाचुली गुफालगायत स्थानको पनि विकासमा ध्यान दिएको राईले बताए । स्थानीय स्रोतसाधनको विकास तथा विस्तारमा गाउँपालिकाले योजनाबद्धरूपमा काम गरिरहेको गाउँपालिकाका उपाध्यक्ष वीरेन्द्र राईले बताए । 

पर्यटकीय क्षेत्रका रूपमा विकास गरेर नागछाँगालाई गाउँपालिकाको आयस्रोतमा जोड्ने उनले बताए । ‘हाम्रो गाउँपालिका धेरै पर्यटकीय सम्भावना बोकेको ऐतिहासिक स्थानीय तह हो’, उनले भने, ‘यहाँका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास गरेर राम्रो आम्दानी लिन सकिने अवस्था छ । यस्ता ठाउँको विकासका लागि काम गरिरहेका छौँ । पर्यटकीय क्षेत्रको विकास गर्दै यसलाई स्थानीयको आयस्रोतसँग जोड्ने हाम्रो लक्ष्य छ ।’

नागछाँगा सरमुकामबाट करिब एक दिनको पैदल दूरीमा अवस्थित छ । यो छाँगाको उचाइ करिब ६० मिटर रहेको गाउँपालिकाले जनाएको छ । रासस 

  • प्रकाशित मिति : भदौ ३, २०८० आइतबार ७:५७:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया