राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकबारे एमालेलाई जानकारी छैन : सुवास नेम्वाङ

राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूका लागि बोलाएको सर्वदलीय बैठकमा सहभागी नहुने भएको छ ।

संसदको जारी अवरोध कायमै रहेपछि राष्ट्रपति पौडेलले अहिले बिहान शीतल निवासमा सर्वदलीय बैठक बोलाएका छन् । तर, संसदको अवरोध हटाउन प्रधानमन्त्रीको पहलमा दलहरू निरन्तर छलफलमा रहेको जनाउँदै राष्ट्रपतिले अनावश्यक सक्रियता देखाएको एमालेको बुझाइ छ । 

संसदको जारी अवरोध हटाउने प्रयासमा दलहरू निरन्तर सक्रिय रहेको जनाउँदै एमाले संसदीय दलका उपनेतासमेत रहेका उपाध्यक्ष सुवाचन्द्र नेम्वाङले आज २ बजे पुनः छलफल हुने बताए । सोमबार रातिको छलफल सकारात्मक रहेको जनाउँदै नेम्वाङले राष्ट्रपतिले सर्वदलीय बैठक बोलाएको आफूहरूलाई जानकारी नभएको बताए । 

‘राष्ट्रपतिजीले प्रधानमन्त्रीकै सल्लाहमा यस्ता बैठकहरू बोलाउने हो । हामी प्रधानमन्त्रीकै पहलमा निरन्तर संसद् सुचारु गर्ने पहलमा छौँ । आज पनि २ बजे बैठक बस्दैछौँ,’ उनले भने, ‘राष्ट्रपतिले सर्वदलीय बैठक बोलाएको हामीलाई जानकारी छैन । हामी प्रधानमन्त्रीसँग निरन्तर छलफलमा छौँ ।’

यद्यपि राष्ट्रपति पौडेलले भने एमाले अध्यक्ष केपी ओली, उपनेता नेम्वाङ र प्रमुख सचेतक पदम गिरीलाई पनि बिहान साढे ८ बजेका लागि तय गरिएको सर्वदलीय बैठकमा आमन्त्रण गरेका बताइएको छ । यसअघि पौडेलले ३१ साउनमा ओलीलाई शीतल निवास बोलाएर संसद् सुचारु गर्ने विषयमा छलफल गरेका थिए । 

एमालेले १० साउनदेखि सुन तस्करीको छानविन गर्न उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै संसद् अवरुद्ध गर्दै आएको छ ।    





  • प्रकाशित मिति : भदौ ५, २०८० मंगलबार ९:३१:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया