गोकुल बाँस्कोटाको दाबी- सरकारले २३ क्विन्टल सुन बाहिर पठाएको सूचना हामीसँग छ

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेकपा (एमाले) का सांसद गोकुल बाँस्कोटाले सरकारले २३ क्विन्टल सुन बाहिर पठाएको सूचना आफूसँग रहेको दाबी गरेका छन् । एक क्विन्टल सुन समाएजस्तो गरेर सरकारले करिब २३ क्विन्टल सुन बाहिर पठाएको उनको जिकिर छ । 

बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद बाँस्कोटाले सो एक क्विन्टल सुन समात्नु नौटङ्की थियो वा के कारणले समातियो ? भन्ने कुरा उच्चस्तरीय जाँचबुझ आयोगले बाहिर ल्याउने भन्दै आफूहरू त्यसको प्रतीक्षामा रहने समेत बताए । 

सांसद बाँस्कोटाले भने, ‘यसबीचमा हामीले प्राप्त गरेका सूचना अनुसार करिब २३ क्विन्टल सुन रातारात बाहिर पठाइयो । र, एक क्वीन्टर सुन समातियो । ६० केजी भयो क्यारे जोख्दा । यो फगत नौटङ्की थियो वा खास कारणले समातियो ? यसको पनि पर्दा खुल्दै जाला । अब हामी एउटा आयोग बनाउने कुरा गरिसकेपछि त्यसको प्रतिक्षमा छौँ । र, त्यसका तथ्यहरूलाई हामी स्वीकार गर्दछौँ ।’

उनले सत्तापक्षलाई सत्यको पक्षमा उभिन तर स्टन्टबाजी नगर्न पनि चेतावनी दिए । पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई जेल पठाउनेसम्मको अभिव्यक्ति सत्तापक्षबाट आएको उल्लेख गर्दै सांसद बाँस्कोटाले त्यस्ता खालको लल्कार्ने र तर्साउने काम नगर्न सचेत गराए । उनले जनताको विश्वासको जगमा उभिएका ओलीमाथि अपमान गरिए सह्य नहुने बताए । 

उनले भने, ‘सत्तापक्षले रुखको टुप्पोको पातमा बसेर, हाँगामा बसेर पात हल्लाउने कुरा नगर्नुस् । तपाईँहरूलाई सुझाव छ–स्टन्टबाजी होइन, गहिरो जरासम्म पुग्ने तागत राख्नुस् । आँट गर्नुस् । जे सत्य हो, त्यो कुरा बाहिर आउँछ । एक हजार कुतर्कको काम छैन । एउटा तथ्यले सम्पूर्ण कुराको छिनोफानो गर्दछ । यो आजको समाज हो । र यसमा स्टन्टबाजीको काम छैन ।’

सांसद बाँस्कोटाले सरकारले सत्यको पक्षमा उभिन तागत राख्नुपर्ने बताए । 





  • प्रकाशित मिति : भदौ ६, २०८० बुधबार १८:५८:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया