logo-img

संघीयता बचाउन शान्तिपूर्ण संवैधानिक लडाइँ आवश्यक : निधि

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले संघीयता बचाउन र संघीय कानुन कार्यान्वयनका लागि शान्तिपूर्ण संवैधानिक लडाइँ लड्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

जनकपुरधामको श्री महावीर युवा कमिटीको नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूका लागि आयोजित पदभार तथा शपथग्रहण र प्रमाणपत्र वितरण समारोहलाई सम्बोधन गर्दै पूर्वउपप्रधान तथा गृहमन्त्री समेत रहेका नेता निधिले यस्तो बताएका हुन् । 

संघीयता कार्यान्वयनमा केन्द्रीय सरकार प्रतिबद्ध नरहेको बताउँदै उनले एक समय मधेश माने कांग्रेस र कांग्रेस माने मधेस बुझिएजस्तै पुनः सोही नारा र माहौल बनाउन जुट्नुपर्ने आवश्यकता रहेको बताए ।

जनकपुरधाममा आधुनिकतालाई स्वीकार गर्दै आर्थिक गतिविधि हुनुपर्ने बताउँदै उनले महावीर युवा कमिटी जस्ता यहाँका युवाहरूले सामाजिक गतिविधि बढाउनुपर्ने र समाजमा योगदान दिएकाहरूको खोजी गरी सम्मान गर्नुपर्ने बताए ।

उनले भने, ‘केन्द्रीय सरकार संघीयताको मर्मअनुसार काम गर्न सकिरहेको छैन र प्रदेश सरकार पनि संघीय कानुनअनुसारको अधिकारका लागि अग्रसर देखिँदैन त्यसैले संघीयता बचाउन आन्दोलनको आवश्यकता छ ।’

सो अवसरमा कमिटीको निर्वाचन अधिकृत राकेशविक्रम साहले कमिटीको नव निर्वाचित अध्यक्ष अजय गुप्तासहित ११ सदस्यीय नयाँ कार्य समितिका पदाधिकारी र सदस्यहरूलाई शपथग्रहण गराएका थिए । 



कमिटीका पूर्व अध्यक्षहरूले सामूहिक रूपमा नयाँ अध्यक्ष गुप्तालाई पदभार ग्रहण गराएका थिए ।



  • प्रकाशित मिति : भदौ ९, २०८० शनिबार २०:४१:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया