logo-img

डेंगु संक्रमण : ८० प्रतिशतलाई देखिँदैन लक्षण, दोस्रोपटक डेंगु भएमा झनै खतरा

गत वर्ष महामारीको रूप लिएको डेंगुको जोखिम यो वर्ष पनि उत्तिकै रहेको भन्दै विज्ञहरूले सजग रहन आग्रह गरिरहेका छन् । गत माघदेखि ८ भदौसम्म देशभरका ७५ जिल्लामा डेंगु फैलिइसकेको छ । ७७ वटै जिल्लामा डेंगुको भाइरस रहेकाले सबैतिर डेंगुको जोखिम छ भनेर बुझ्नपर्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले जनाएको छ । 

वर्षायाम सुरु भएसँगै डेंगु संक्रमणको जोखिम पनि बढ्दै जाने इडिसिडीले जनाउँदै आएको छ । इडिसिडीका अनुसार माघयता १९ हजार ११३ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ । डेंगु संक्रमण पुष्टि भएकामध्ये १३ जनाको मृत्यु भएको छ । यस्तै, चार जिल्लामा डेंगु संक्रमणका बिरामी ५०० सयको हाराहारीमा रहेका छन् । 
 
जिल्लाअनुसार सुनसरीमा सबैभन्दा बढी डेंगु संक्रमित रहेका छन् । इडिसिडीका अनुसार सुनसरीमा १० हजार २३८, धादिङमा २ हजार ५, मोरङमा १ हजार ९५१, झापामा १ हजार २९२, काठमाडौंमा ४१०, धनकुटामा ३०८, कास्कीमा २५८, संखुवासभामा २३६, दार्चुलामा १९४ र ललितपुरमा १६२ जनामा संक्रमण पुष्टि भएको छ । 

सन् २०२२ मा ५४ हजार ७८४ जनालाई डेंगु संक्रमण भएको थियो । तर, यो संख्या वास्तविक संक्रमितभन्दा कम रहेको इडिसिडीले जनाएको छ । संक्रमितहरू उपचारका लागि सरकारी संस्थामा मात्रै नजाने र कतिपय निजी संस्थाले डेंगु पुष्टि भएको रिपोर्टिङ नगरेकाले गत वर्ष डेंगु संक्रमितको संख्या योभन्दा बढी भएको हुनसक्ने इडिसिडीको ठहर छ । 

सन् २०२२ मा ७७ प्रतिशत संक्रमित बागमती प्रदेशमै थिए । जसअन्तर्गत काठमाडौं उपत्यकामा ५६ प्रतिशत संक्रमित थिए । इडिसिडीले डेंगु संक्रमितको यथेष्ट जानकारी गराउन स्थानीय तह, सरकारी तथा निजी स्वास्थ्य संस्थाहरूलाई अनुरोध गरेको छ ।

बर्सेनि उकालो ग्राफमा डेंगु 

नेपालमा पहिलोपटक सन् २००४ मा एकजनामा डेंगु संक्रमण पुष्टि भएको थियो । त्यसपछि सन् २००६ मा ३२ जनामा, २००७ मा २७ जनामा, २००८ मा १० जना, २००९ मा ३० जना, २०१० मा नौ सय १७ जना, २०११ मा ७९, २०१२ मा एक सय ८३, २०१३ मा ६ सय ८६, २०१४ मा तीन सय ५६, २०१५ मा एक सय ३५ जनामा डेंगु संक्रमण पुष्टि भएको थियो । यस्तै, सन् २०१६ मा एक हजार पाँच सय २७, २०१७ मा दुई हजार एक सय ११, २०१८ मा आठ सय ११ जनामा डेंगु संक्रमण पुष्टि भएको थियो । 



२००४ देखि २०१८ सम्म आउँदा डेंगु संक्रमणलाई सामान्य रूपमा हेरिएको थियो । यसतर्फ सरकारको ध्यान तब गयो जब एकैपटक महामारीको रूपमा संक्रमण फैलियो । सन् २०१९ मा १७ हजार नौ सय ९२ जनामा संक्रमण पुष्टि भएको थियो । नेपालमा सन् २०१३, २०१६, २०१९ र २०२२ मा महामारी देखिएको इडिसिडीको तथ्यांकले देखाउँछ । 

पुनः संक्रमण हुँदा जोखिम



डेंगुको आरडिटी र रगतको जाँच गरेर परीक्षण गरिन्छ । ८० प्रतिशत व्यक्तिलाई डेंगुकोे लक्षण नै नदेखिने स्वास्थ्यविज्ञको भनाइ छ । २० प्रतिशत जतिलाई सामान्य लक्षण देखिन्छ । डेंगुको कुनै खास उपचार छैन । 

विज्ञहरूका अनुसार नयाँ व्यक्ति त छँदै छ, पहिल्यै डेंगु संक्रमण भइसकेका व्यक्तिलाई पनि दोहोर्याएर संक्रमण हुने खतरा हुन्छ । डेंगुको संक्रमण भइसकेका व्यक्तिलाई पुनः संक्रमण भए स्वास्थ्य अवस्था जटिल हुनसक्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुन बताउँछन् । 

‘डेंगु एडिसएजिप्टाई जातको लामखुट्टेको टोकाइबाट सर्ने सरुवा रोग हो । एडिस जातको लामखुट्टे शरीर तथा खुट्टामा सेतो थोप्लाहरू भएको सानो र कालो रंगको हुन्छ । रंग र आकारको कारण यसलाई हत्तपत्त देखिँदैन,’ उनले भने । 

दुखाइ तथा लक्षणका आधारमा उपचार गरिन्छ । डेंगुको उपचारमा खासगरी पारासिटामोल नै प्रयोग गरिन्छ । डेंगुको लक्षण देखिएपछि डाक्टरलाई नजँचाई जथाभावी आइब्रुफेन र एस्पिरिनजस्ता औषधिको प्रयोग नगर्न चिकित्सकले सुझाब दिएका छन् । 

डा. पुनका अनुसार डेंगु सार्ने भाइरसका चारवटा स्वरूप (सेरोटाइप) हुन्छन् । डेन्भ १, डेन्भ २, डेन्भ ३, डेन्भ ४ । नेपालमा यी चारै स्वरूपका भाइरसबाट संक्रमण भएको पुष्टि भइसकेको छ । अध्ययनका अनुसार एकपटक एउटा सेरोटाइपको डेंगु लागिसकेपछि सोही व्यक्तिलाई फेरि उही सेरोटाइपबाट संक्रमण हुँदैन । फरक–फरक स्वरूपका भाइरसले एक व्यक्तिलाई ४ पटकसम्म डेंगु संक्रमण गराउन सक्छ । ‘नेपालमा चारवटै सेरोटाइपको संक्रमण देखिसकेको छ । गत वर्ष सेरोटाइप १ र ३ ले संक्रमण गराएको बिरामी धेरै देखिएको थियो,’ डा. पुनले भने ।

डेंगुबाट बच्नका लागि घर वरिपरि सरसफाइ गर्ने, सुत्दा झुलको प्रयोग गर्ने, रोग प्रतिरोधात्मक क्षमता बढाउने खानेकुरा खान जोड दिन स्वास्थ्यविज्ञ सुझाउँछन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वका आधा जनसंख्या अहिले डेंगु संक्रमणको जोखिममा छ । प्रत्येक वर्ष १० करोडदेखि ४० करोड मानिस डेंगुबाट संक्रमित हुने अनुमान गरिएको छ । अहिले पनि १०० वटा देशमा डेंगुको महामारी छ । 

  • प्रकाशित मिति : भदौ १०, २०८० आइतबार २०:२:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया