एमालेका नेताहरुलाई वरिष्ठ उपाध्यक्षको प्रश्न : अरे यार आदेश दिने तिमी को हौ ?

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले, आदेशको भरमा पार्टी नचल्ने टिप्पणी गरेका छन् । 

शुक्रबार काठमाडौंमा आयोजित एमाले ओखलढुंगा–काठमाडौं सम्पर्क मञ्चको पार्टी विस्तार तथा सुदृढीकरण विषयक अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीका निर्णय तल्लो तहसम्म पुर्याउने कुरा प्रभावकारी नभएको र व्यक्तिगत आदेश हाबी भएको तर्क गरे । 

‘फाइँफुइँ लाउने नेताहरु भेटिन सक्छन् । यस्ता नेताहरुको काम छैन । हामीले मान्छेको मन जित्नुपर्छ भनिरहेका छौँ । फाइँफुइँ लाएर कसरी काम हुन्छ ?’ उनले भने, ‘यो मैले भन्दिएँ, यो मैले आदेश दिएँ, अरे यार तिमी आदेश दिने को हौ ?’ 

उनले पार्टीका निर्णय कार्यान्वायनमा समस्या देखिएको बताए । ‘निर्णय एउटा छ तल कुरा पुगेकै छैन । अनि पार्टी बन्छ कसरी ? पार्टी त हावादारी बन्छ । अहिले हाम्रो पार्टी हावादारीजस्तो भएको यही कारणले हो । निर्णयमाथि एउटा छ, त्यो निर्णय तल पुग्दैन,’ उनले भने, ‘केरामाथि पानी परेजस्तो ट्यार्र पातमाथि पानी पर्छ उताउता जान्छ । जरामा पानी पर्दैन । यो पाराले पार्टी राम्रो बन्दैन ।’

अर्को प्रसंगमा उनले सारा विरोधीहरु एक ठाउँमा जम्मा भएर एमालेलाई सिध्याउने हिसाबले हमला गरिरहेको आरोप लगाए । 

उनले भने,‘अहिले पनि हाम्राअगाडि चुनौती छन् । आफैँभित्रका चुनौती र कमजोरी छन् । र, बाहिर पनि शत्रुहरूले मिलेर हामीलाई हमला गर्दै छन् । सारा विरोधी एक ठाउँमा जम्मा भएर एमालेलाई सिध्याउने हिसाबले हमला गर्दै छन् । यस बीचमा हाम्रो मेलमिलाप हुनुपर्छ । एक हुनुपर्छ ।’ 





  • प्रकाशित मिति : भदौ २३, २०८० शनिबार १६:४८:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया