logo-img

पाँचौँ बाह्रखरी कथा लेखन प्रतियोगिता घोषणा

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

बाह्रखरी मिडियाले ‘डिसहोम पाँचौँ बाह्रखरी कथा लेखन प्रतियोगिता–२०८०’ घोषणा गरेको छ । बाह्रखरी मिडियाले आज पत्रकार सम्मेलन गरी आख्यान साहित्यको सशक्त विधा कथा लेखनमा स्थापित र नयाँ कथाकारको प्रतिभालाई प्रोत्साहन गर्नका लागि कथा प्रतियोगिता आयोजना गरेको बताएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै बाह्रखरी मिडियाका प्रधानसम्पादक प्रतीक प्रधानले बाह्रखरी मिडियाले नयाँ स्रष्टा जन्माउन र कथा विधालाई अगाडि बढाउन विगत पाँच वर्षदेखि कथा प्रतियोगिता गर्दै आएको जानकारी दिए । 

नेपालको कथा लेखन प्रतियोगिताको सबैभन्दा ठूलो राशि रहेको उक्त प्रतियोगितामा सहभागी हुन चाहने प्रतियोगीले आगामी असोज ३० गतेसम्म कथा पठाउन सकिने बताइएको छ ।

बाह्रखरी कथा प्रतियोगिताको निर्णायक समूहको संयोजकमा प्राडा सावित्री कक्षपति, सदस्यमा कथाकार महेशविक्रम शाह र कथाकार सुविन भट्टराई रहेका छन् । 

यस्तै, बाह्रखरी मिडियामा प्राप्त भएका सबै कथालाई पहिलो चरणमा बाह्रखरी मिडियाका विचार सम्पादक गोविन्द अधिकारीको संयोजकत्वमा रहेको आन्तरिक समूहले छाँट्ने पत्रकार सम्मेलनमा जानकारी गराइयो । आन्तरिक समूहले प्राप्त भएका कथामध्येबाट ५० कथा निर्णायक समूहलाई उपलब्ध गराउने बाह्रखरी मिडियाले जनाएको छ ।

उक्त मिडियाले प्रथम, द्वितीय र तृतीयका साथै अन्य २२ गरी २५ कथा र स्थापित कलाकारका पाँच कथालाई समावेश गरी पुस्तक प्रकाशन गर्ने जनाएको छ । कथा प्रतियोगितामा प्रथम हुने कथालाई एक लाख, द्वितीय हुने कथालाई ६० हजार र तृतीय हुने कथालाई ४० हजार नगद र प्रमाणपत्र तथा मेडल प्रदान गरिने बाह्रखरीका विशेष सम्पादक हरिबहादुर थापाले जानकारी दिए । 



यस्तै, संग्रहमा समावेश हुने २२ कथालाई समेत जनही पाँच हजार सम्मानस्वरुप प्रदान गरिने सो मिडियाले जनाएको छ । कथा प्रतियोगिताको नतिजा आगामी पुस ६ गते प्रकाशन गरिने बाह्रखरी मिडियाले जनाएको छ । 



  • प्रकाशित मिति : भदौ ३१, २०८० आइतबार २१:१६:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया