घोषणामै सीमित क्रिकेट रंगशाला

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

एसिया कप खेलेर स्वदेश फर्कने क्रममा हालै नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले भनेका थिए, 'अब ‘हाई टाइम’ भइसक्यो, सरकारले क्रिकेटको इन्फास्ट्रक्चरमा लगानी गर्नुपर्छ ।' खेलाडीका बलमा नेपाली क्रिकेट जति अगाडि छ, पूर्वाधारमा उति नै पछाडि । 

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले मान्यता दिएको त्रिवि क्रिकेट मैदानमा ‘फ्लड लाइट’समेत नहुनुले नेपालको खेल पूर्वाधार कतिसम्म कमजोर छ भन्ने देखाउँछ । क्रिकेटमा राज्यको लगानी र प्राथमिकताबारे बहस उठिरहँदा गण्डकी प्रदेश सरकारको क्रिकेट रंगशाला बनाउने योजना पनि घोषणामै सीमित बन्न पुगेको छ ।

पोखरा महानगरपालिका–३३ पशुपतिघाटमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माणको पहल विसं २०७१ देखि नै सुरु भएको थियो । प्रदेश सरकार बनेपछि त्यसलाई प्रदेश गौरवको आयोजनाका रुपमा समेटियो । लाखौँ खर्चेर रंगशालाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) पनि तयार पारियो । 

तर, रंगशाला निर्माणको काम सुरु हुन सकेन । रेखदेख र संरक्षण नहुँदा रङ्गशालाको जग्गा नदी कटानको जोखिममा परेको छ । पशुपतिघाटमा रंगशाला बनाउने योजना अलपत्र छाडेर प्रदेश सरकार नयाँ जग्गाको खोजीमा लागेको छ । 

प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी श्रीप्रसाद अधिकारीले पशुपतिघाटमा रंगशालाको योजना दिगो हुने नदेखिएपछि निर्माणको काम अगाडि नबढेको बताए । 'सेती नदीले जग्गा कटान गरिरहेको छ, अन्तर्राष्ट्रिय मापदण्डको रंगशाला बनाउने ठाउँ जोखिमपूर्ण देखियो,' उनले भने, 'अन्यत्र ठाउँमा जग्गाको खोजी भइरहेको छ ।'

चालू आवमा सो ठाउँमा रङ्गशाला निर्माणका लागि बजेट नछुट्टिएको उनले जानकारी दिए । गत आवमा जम्मा २० लाख विनियोजन भएकामा कामै नभई बजेट फिर्ता भएको थियो । नयाँ जग्गा प्राप्तिका लागि चालू आवमा ५० लाख बजेट विनियोजन गरिएको मन्त्रालयले जनाएको छ । 



गण्डकी प्रादेशिक क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले पशुपतिघाटमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने योजनाबाट प्रदेश सरकार पछि हट्न खोजेको बताए । 

'प्रदेश सरकारको लगानीमा क्रिकेट रङ्गशाला बनाउने घोषणा भएको हो, नीति, कार्यक्रमा पनि आयो, डिपिआर पनि बन्यो, तर अहिलेसम्म निर्माणको काम अगाडि बढ्न सकेन,' उनले भने, 'रंगशालाका लागि स्थानीयवासीले दिएको जग्गा यत्तिकै बेवारिसे जस्तो बनेको छ, संरक्षण नहुँदा नदीले कटान गरिरहेको छ ।'



रंगशालाका लागि एक सय ७४ रोपनी जग्गा प्रदेश सरकारका नाममा भोगाधिकार आइसकेको अध्यक्ष सिग्देलले बताए । 'तटबन्धसहित जग्गा संरक्षण गर्ने हो भने पशुपतिघाटमै क्रिकेट मैदान बनाउन सम्भव छ, अन्यन्त्र निर्माण गर्ने भए पनि लगानीका लागि प्रदेश सरकार तयार रहनुपर्छ,' उनले भने, 'पोखरा उपत्यकाभित्रै अर्को जग्गा व्यवस्थापन गर्न सकिन्छ ।'

क्रिकेटको गन्तव्य सहरका रुपमा विकास गर्न पोखरामा अन्तर्राष्ट्रिय मापदण्डको रंगशाला चाहिने अध्यक्ष सिग्देलले बताए । 'पोखरा रंगशालामा भएको क्रिकेट मैदानलाई पनि स्तरोन्नति गर्नुपर्छ, अर्को वैकल्पिक रंगशाला पनि निर्माण भयो भने अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सकिन्छ,' उनले भने, 'काठमाडौंले मात्र अब नेपालको क्रिकेटलाई धान्दैन, पोखरालगायत सम्भावना बोकेका सहरलाई क्रिकेट गन्तव्यका रुपमा विकास गर्नु जरुरी छ, सरकारले पूर्वाधारमा लगानी बढाउनुपर्छ ।'

पशुपतिघाटमा निर्माण घोषणा गरिएको क्रिकेट रंगशालामा एक अर्ब ३६ करोड लागत लाग्ने अनुमान गरिएको थियो । विस्तृत परियोजना प्रतिवदेनमा १८ हजार दर्शक क्षमताको प्यारापिटसहित टि–२०, एक दिवसीय र टेस्ट म्याच खेल मिल्ने गरी पूर्वाधार तयार पारिने उल्लेख छ । 

रंगशालामा एक सय ३० भिभिआइपी सिट, एक हजार दुई भिआइपी र स्पेसल, नौ सय सिट क्षमताको खेलाडी कक्ष, एक सय क्षमताको मिडिया कक्ष बन्ने जनाइएको थियो । स्रोत जुटाएर तीन/चार वर्षभित्रमै रंगशाला निर्माण गर्ने प्रदेश सरकारको योजना थियो । प्रदेश खेलकुद परिषद्का सूचना अधिकारी तोपलाल भुसालले रंगशालाका लागि नयाँ जग्गा खोजी र पहिचान गर्न समिति गठन गरिएको बताए । 

'परिषद्ले जिल्ला तहमा सम्भावित जग्गाको खोजी गरिरहेको छ, जग्गा व्यवस्थापन भएपछि रंगशाला निर्माणको काम अगाडि बढ्छ,' उनले भने, 'यसमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र प्रदेश नीति तथा योजना आयोगले पनि चासो लिएको छ ।'

  • प्रकाशित मिति : असोज २, २०८० मंगलबार २०:२:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया