logo-img

क्यानडामा पहिलो संगीतयात्रा गर्दै नेपथ्य, यी तीन सहरमा हुनेछ कार्यक्रम

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेपथ्यले पहिलो पटक क्यानडाको संगीतयात्रा गर्ने भएको छ । अक्टोबरको १ आइतबारको दिन नेपथ्यले आफूलाई क्यालगरी सहरको ‘दी प्यालेस थिएटर’ मा उभ्याउनेछ । 

त्यसपछि अक्टोबर ४ बुधबार ब्याण्डको प्रस्तुति भ्यानकुभर सहरको ‘दी भोग थिएटर’ मा हुनेछ । यी दुवै सहर क्यानडाको पश्चिमी भेगमा पर्छन् । यात्राको अन्तिम सो भने मुलुककै पूर्ववर्ती सहर टोरन्टोका दर्शक माझ हुनेछ । अक्टोबर ८ आइतबारका दिन ब्यान्ड टोरन्टोस्थित क्यानाडाकै विख्यात कार्यक्रम स्थल ‘म्यासी हल’मा प्रस्तुत हुनेछ ।

सन् १८९४ मा खुलेको क्यानडाको म्यासी हल त्यसको सय वर्ष पुग्नै लाग्दा अर्थात् सन् १९८१मा मुलुककै ‘नेशनल हिस्टोरिक साइट’ (राष्ट्रिय ऐतिहासिक स्मारक) मा सूचीकृत भएको थियो । त्यहाँ विश्वविख्यात सांगीतिक समूहहरूले आफूलाई प्रस्तुत गरिसकेको इतिहास छ ।

दुई महिनाअघि मात्र म्यासी हलले सामाजिक सञ्जाल मार्फत नेपथ्य कन्सर्टको तालिका घोषणा गर्दा क्यानडामै बसोबास गर्दै आएकी लेखिका मञ्जुश्री थापाले सामाजिक सञ्जाल मार्फत खुसी प्रकट गर्दै उल्लेख गरेकी छन्, ‘नेपथ्य आउने समाचारले केही शीतलता महसुस गराएको छ । माओवादी द्वन्द्व कालको चरम निराशाका क्षणमा आशाको सञ्चार गरेर लगाइदिएको गुनका निम्ति नेपथ्य सदैव प्रिय छ ।’

सन् २००२ मा नेपालयले व्यवस्थापन सम्हालेपछि नेपथ्यले हालसम्म १६ वटा देशको २८ सहरमा ७८ वटा कार्यक्रम गरिसकेको छ । क्यानडा नेपथ्यको १७ औँ गन्तव्य राष्ट्र हुनेछ । केही समययता नेपालीहरूका निम्ति क्यानडा आप्रवासनको आकर्षक गन्तव्य बन्दै आएको छ । त्यसमा पनि विशेषगरी अध्ययनका लागि त्यस तर्फ जाने नेपाली विद्यार्थीहरूको सङ्ख्या बर्सेनि बढ्दो छ ।



‘केही वर्ष अघिसम्म पनि यहाँ नेपाली अनुहार मुस्किलले देखिन्थे,’ टोरन्टोका दिलीप पौडेल भन्छन्, ‘अहिले सार्वजनिक यातायात, कलेज, रेस्टुरेन्ट र बाटा घाटामा पनि नेपाली बोलिरहेका मानिस देखिनु सामान्यजस्तै बन्दै गएको छ ।’

बढ्दो जनसङ्ख्यासँगै यहाँका नेपाली संघसंस्थाहरूले आयोजना गर्ने विभिन्न खाले सांगीतिक कार्यक्रमहरूको सङ्ख्या पनि नियमित बन्दै गएको छ । ‘यहाँको नेपाली समुदायले म्यासी हल जस्तो सम्मानित कार्यक्रम स्थलमा नेपाली कलाकारलाई प्रस्तुत गर्न लागेको सम्भवतः यो नै पहिलो पटक हो,’ अर्का क्यानडावासी रविन थपलिया भन्छन् ।



सन २०२३ भरि नेपथ्यका सबै प्रस्तुतहरूलाई ‘मानवताका लागि संगीत’ को नारा सहित मानवता प्रवर्द्धन अभियानको शृङ्खलाको रूपमा प्रस्तुत गर्ने विचार अनुरूप यसपालिको नेपथ्य क्यानडा शृङ्खला पनि त्यही नारा अन्तर्गत अगाडि बढ्ने छ ।

‘क्यानडामा हुने प्राय नेपाली कार्यक्रमहरू अमेरिकी यात्रासँग जोडिएर आयोजना गरिएको पाइन्छ,’ व्यवस्थापन सम्हाल्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘नेपाली कलाकारहरूले क्यानडाको मात्र यात्रा गरेको घटना विरलै हुने गरेकोमा यसपालि त्यो सम्भावनाको ढोका पनि उघार्ने अठोट लिएका छौँ ।’ नेपाली विद्यार्थीहरूको रोजाइमा पर्ने प्रमुख गन्तव्य मध्येको क्यानडामा नेपाली जनसङ्ख्या वृद्धि भएसँगै त्यतातिर हाम्रो कलाको बजार पनि विस्तार हुने सम्भावना देखिन थालेको श्रेष्ठ थप्छन् ।

नेपालयले उचित व्यवस्थापन मार्फत नेपथ्यको प्रस्तुतिमा एकरूपता ल्याउनका लागि नेपालमा र विदेशमा नेपथ्यसँग अनुभव बटुलेका प्राविधिकहरूलाई यात्रा टोलीमा सम्मिलित गर्दै आएको छ । सोही अनुरूप अघिल्लो महिनाको श्रृंखलावद्ध जापान यात्रामा सम्मिलित ८ जना प्राविधिज्ञ एवं व्यवस्थापक र ६ संगीतकर्मी सहित जम्मा १४ जनाको टोली क्यानडा यात्रामा समावेश हुने छन् ।

‘हाम्रो लागि क्यानडा नयाँ गन्तव्य भएता पनि त्यहाँ बसोबास गर्ने नेपालीहरूले देखाउनुभएको उत्साहबाट असाध्यै हौसला मिलिरहेको छ,’ ब्यान्डका अगुवा एवं मुख्य गायक अमृत गुरुङ भन्छन्, ‘दसैँको मुखमा स्वदेशको सम्झना र थुप्रै माया बोकेर मञ्चमा उभिनेछौँ ।’

क्यानडामा रहेका शुभचिन्तकहरूले सामाजिक सञ्जालमार्फत दिइरहेको सन्देश आफूलाई प्राप्त भइरहेको अमृतले जानकारी दिए । ‘कतिपय प्रशंसकहरूले समूह बनाउँदै अर्कै सहरदेखिको लामो दुरी तय गरेर पायक पर्ने सहरमा कन्सर्ट हेर्न आउने जानकारी दिइरहनुभएको छ,’ अमृत भन्छन्, ‘यो मायाका लागि म र मेरो टिम आभारी छौँ ।’

क्यानडाको तीन वटै कन्सर्टमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गीतारमा सुबिन शाक्य, गीतारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले साथ दिनेछन् ।

क्यानडाका तीन वटै सहरहरूमा नेपथ्य कन्सर्टका निम्ति स्थानीय समय अनुसार बेलुकीको पाँच बजे प्रवेश खुला गरिनेछ भने ठिक सात बजे कन्सर्ट सुरु हुने बताइएको छ ।  

  • प्रकाशित मिति : असोज ३, २०८० बुधबार १८:१७:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया