logo-img

मनमोहक फुङफुङ्गे झरना, बन्दैछ पर्यटकीय गन्तव्य

फुङफुङ्गे झरनाको चारैतर्फ डाँडाकाँडा र हरियाली वनजङ्गल । यहाँको वातावरणले मनै लोभ्याउँछ । पछिल्लो समय ताप्लेजुङको पर्यटकीय गन्तव्य बन्दै गएको छ फुङफुङ्गे झरना ।  

३ सय मिटर जति अग्लो चट्टानी काँपबाट जोड्ले तल झरेको झरनाको आवाज नै फुङफुङ हुने हुँदा नामकरण फुङफुङ्गे भएको बताइन्छ । ताप्लेजुङ सदरमुकामबाट नजिकै रहेको मिक्वाखोला गाउँपालिकामा अवस्थित फुङफुङ्गे झरना पर्यटकका लागि आकर्षक क्षेत्र हो ।

यो सुन्दर झरनामा झरेको पानी मेवा खोलामा मिसिन्छ । नेपाल सरकारले पर्यटकीय प्रबल सम्भावना भएका सय स्थानको पहिचान गरी पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने कार्यक्रम अघि बढाएको छ । 

यसअन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रवर्द्धन गर्नुपर्ने नयाँ सय पर्यटकीय गन्तव्यमा फुङफुङ्गे झरनालाई पनि एक हो । झरनाको प्रचारप्रसार भएसँगै दैनिक यसको अवलोकन गर्न आउने पर्यटकको सङ्ख्या पनि बढ्दै गएको स्थानीयवासी बताउँछन् । अहिले झरनासम्म सडक पुगेकाले पनि अवलोकन गर्ने पर्यटकको संख्या बढ्दै गएको हो । 

पर्यटकको चहलपहल हुन थालेसँगै झरना अवलोकन गर्न आउने पर्यटकलाई लक्षित गरेर होटल सञ्चालनमा आउन थालेका छन् । सडक पुगेकाले झरना नजिकै तेम्बा क्षेत्रमा बजार नै विस्तार हुँदै गएको छ । 

स्थानीयले होटल तथा होमस्टेसमेत सञ्चालन गरेर मनग्य आम्दानी गर्दै आएको मिक्वाखोला गाउँपालिका–४ का होमस्टे (घरबास) सञ्चालक विजय साँवाले बताए ।  



केही वर्ष अगाडि झरनामा आउने पर्यटकका लागि खाने बस्ने ठाउँ अभाव थियो । तर झरना नजिकै सडक पुगेसँगै बजार विस्तार हुन थालेको साँवाले बताए । बजार विस्तार भएसँगै किसानले उत्पादन गरेको स्थानीय उत्पादनले पनि राम्रो बजार पाउन थालेको छ । 

झरना नजिकै अझ मिक्वाखोला गाउँपालिकाको केन्द्र स्थापना हुनुलाई पनि झरनाको थप प्रचारप्रसार सहयोग पुगेसँगै आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्दै गएको हो । 



फुङ्फुङ्गे झरना ताप्लेजुङको पनि नजिकैको पर्यटकीय गन्तव्यमा पर्दछ । यस क्षेत्रका लागि तीनै तहका सरकारले विगतदेखि नै बजेट विनियोजन गरेर आवश्यक पूर्वाधार निर्माण गर्दै आएका छन् ।

झरनालाई थप आकर्षक बनाउन चालू आवमा सङ्घीय सरकारबाट १ करोड रुपैयाँ बजेट विनियोजन भएर ठेक्का लागि सकेको मिक्वाखोला गाउँपालिकाका उपाध्यक्ष डन्डु लामाले बताए ।   

झरनाले प्राकृतिक सुन्दरताले भरिपूर्ण मात्र नभइ पर्यटकीय र धार्मिक महत्व बोकेको छ । झरनालाई शक्तिको प्रतीक मानेर झरनाको फेदी नजिकै फुङफुङे देवीको पूजास्थल पनि राखिएको छ । यहाँ देवीको पूजा गर्न भक्तजन जाने गर्दछन् । झरनाको अवलोकन गर्ने पर्यटकलाई झरनाको फेदीमा रहेको देवीथानमा पूजापाठ गरेर फर्कने गर्दछन् । 

भारत र चीन जोड्ने सबैभन्दा छोटो सडक तमोर करिडोर निर्माणाधीन छ । उक्त सडक निर्माण सकिएपछि ताप्लेजुङमा पर्यटकीय गतिविधि स्थानीयले अपेक्षा गरिएको छ ।

पर्यटन प्रवर्द्धनका हिसाबले प्रचुर सम्भावना बोकेको फुङफुङे झरना क्षेत्रमा जाने सडकको कालोपत्रलगायत भौतिक पूर्वाधारको निमार्णसँगै प्रचारप्रसारमा सबै सरोकारवालाले ध्यान दिनसके बर्सेनि आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि हुने र ताप्लेजुङको विकासमा ठूलो हिस्सा ओगट्ने देखिन्छ । रासस 

  • प्रकाशित मिति : असोज ४, २०८० बिहीबार ११:५९:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया