logo-img

गण्डकी प्रदेशमा गाईभैँसी कल्याण मापदण्ड कार्यान्वयन गरिँदै

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

गाईभैँसीप्रति हुने निर्दयी व्यवहार रोक्न गण्डकी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले गाईभैँसी कल्याणसम्बन्धी मापदण्ड कार्यान्वयनमा ल्याएको छ । 

व्यावसायिक गाईभैँसी फार्मलाई पशु कल्याणको अवस्था सुनिश्चित गर्न सो मापदण्ड जारी गरिएको हो । गत वर्ष कात्तिकमा मन्त्रिस्तरीय निर्णयबाट स्वीकृत भएको मापदण्ड अहिलेसम्म लागू हुन सकेको थिएन । 

पशुकल्याणका क्षेत्रमा क्रियाशील संस्था ‘स्नेहाज केयर’ सँगको सहकार्यमा मापदण्डको प्रभावकारी कार्यान्वयनका लागि मन्त्रालयले अग्रसरता लिएको हो । असल अभ्यासमार्फत पशुपक्षीजन्य उपजको उत्पादन तथा उत्पादकत्व वृद्धि, उत्पादनको स्वच्छता अभिवृद्धि र आर्थिक लाभ बढाउन गाईभैँसीको कल्याणमा जोड दिइएको हो ।  

घरायसी प्रयोजनका लागि पालिने गाईवस्तुमाथि हिंसा र निर्दयी व्यवहारका घटना छिटपुट मात्र हुने भएकाले ठूला व्यावसायिक गाईभैँसी फार्मलाई लक्ष्य गरि मापदण्ड बनाइएको हो ।

पशु सेवा तालिम केन्द्रका प्रमुख डा गृष्म न्यौपानले व्यावसायिकरूपमा पालिएका गाईभैँसीको सुविधा र कल्याणका लागि मापदण्ड जारी गरिएको उल्लेख गरे । सो मापदण्डले गाईभैँसीलाई भाक, प्यास र कुपोषण हुन नदिने, डर, त्रास र तनाव हुन नदिने, पीडा, चोटपटक र रोग व्याधिबाट सुरक्षित राख्ने र सामान्य प्राकृतिक व्यवहार अभिव्यक्त गरि बाँच्न पाउने स्वतन्त्रतालाई सम्बोधन गरेको उनको भनाइ छ । 

‘गाईभैँसीलाई गरिने निर्दयी व्यवहार रोक्ने र उनीहरूप्रति मानिसले निभाउनुपर्ने जिम्मेवारी र उत्तरदायित्वलाई मापदण्डले समेटेको छ’, डा. न्यौपानेले भने, ‘व्यावसायिक गाईभैँसी फार्ममा केन्द्रित गरिएको भए पनि यो समग्र पशुपक्षीको कल्याणसँग सम्बन्धित विषय हो, यसको दायरा क्रमशः विस्तारित हुँदै जान्छ ।’ 



उनले पशुकल्याण विधेयक सङ्घीय संसद्मा पुगेको अवस्थामा त्यसको कार्यान्वयनको वातावरण तयार गर्न यो मापदण्डले किसान र सम्बद्ध संस्थालाई प्रेरित गर्ने विश्वास व्यक्त गरे । मन्त्रालयले प्रदेश कृषि व्यवसाय प्रवर्द्धन ऐन, २०७७ ले दिएको अधिकार प्रयोग गरि गाईभैँसी कल्याण मापदण्ड बनाएको हो ।  



  • प्रकाशित मिति : असोज ६, २०८० शनिबार १२:३२:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया