logo-img

कर्णाली प्रदेश सरकारले दुई ठाउँमा पर्यटकीय नमुना बस्ती निर्माण गर्दै

कर्णाली प्रदेश सरकारले प्रदेशका विभिन्न ठाउँमा पर्यटकीय केन्द्रमा नमुना बस्ती निर्माण गर्ने भएको छ । 

आफ्नो बजेट कार्यक्रममा नै कर्णालीका विभिन्न पर्यटकीय ठाउँमा नमुना बस्ती निर्माण गर्ने योजना अगाडि सारिएको हो । सङ्घीय सरकारसँगको सहकार्यमा नमुना बस्ती निर्माण गरिने जनाइएको छ । 

त्यसअन्तर्गत सङ्घीय सरकारसँगको संयुक्त लगानीमा डोल्पाको शे–फोक्सुण्डो ताल किनारमा रहेको प्राचीन बस्ती रिङ्मोलाई बौद्ध कला र संस्कृतिको अनुपम बस्तीका रूपमा रूपान्तरण गर्ने योजना अगाडि सारिएको छ । नेपालको अद्वितीय प्राकृतिक तथा धार्मिक पर्यटकीय केन्द्रका रूपमा विकास गर्न रिङ्मो बस्ती विकास कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ । त्यसका लागि रु १० करोड बजेट विनियोजन गरिएको सरकारले जनाएको छ । 


यस्तै सङ्घ तथा प्रदेश सरकारको सह–लगानीमा हुम्लाको सदरमुकाम सिमकोटको पूर्वाधार विकास गरी मानसरोवर तथा कैलाशद्वारका रूपमा थप विकास गर्ने गरी कार्यक्रम सञ्चालन गरिने प्रदेश सरकारले जनाएको छ । 

नेपालको एक आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न हुम्लाको खार्पु सिमकोट (मानसरोवर प्रवेशद्वार)मा पनि नमुना एकीकृत पूर्वाधार विकास कार्यक्रमका सञ्चालन गरिने छ भने त्यहाँ नमुना बस्ती निर्माण गरिने जनाइएको छ । त्यसका लागि १८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । 

यसैबीच प्रदेश सरकारले सङ्घीय सरकारको सहकार्यमा दलित, विपन्न र सीमान्तकृत तथा अल्पसङ्ख्यक समुदायको आवास निर्माणमा सहयोग गर्न सञ्चालित जनता आवास कार्यक्रमलाई अझै प्रभावकारी बनाउने गरी काम थालनी हुने दाबी गरेको छ । 



सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले प्रदेश सरकारका मन्त्रालयको एकीकृत तथा आधुनिक भवन निर्माण गर्ने सरकारको लक्ष्य छ । प्रदेशभित्र सुरक्षित, व्यवस्थित र वातावरणमैत्री एवम् अपाङ्गमैत्री भवन निर्माण गर्नका लागि भवनसँग सम्बन्धित कानुन, संहिता तथा मापदण्ड तर्जुमा कार्य सुरु गरिएको छ ।

कर्णाली प्रदेश सरकारले भौतिक पूर्वाधार, यातायात तथा सहरी विकासका लागि यस वर्ष दश अर्ब एघार करोड ४२ लाख रुपैयाँ विनियोजन गरेको जनाएको छ । 



  • प्रकाशित मिति : असोज ७, २०८० आइतबार १२:१३:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया