logo-img

काठमाडौं महानगरद्वारा इन्द्रजात्रा अवलोकन गर्न निमन्त्रणा

काठमाडौं महानगरपालिकाले देशभित्र र अन्तरराष्ट्रिय पाहुनालाई इन्द्रजात्रा अवलोकन गर्न निमन्त्रणा गरेको छ । महानगरकी उपप्रमुख सुनिता डंगोलले  सोमबार पत्रकार सम्मेलन गरी भोलिदेखि विधिवतरूपमा सुरू हुने जात्रा अवलोकन गर्न आग्रह गरेकी हुन् । 

उनले भनिन्, ‘अहिलेसम्म २० जना विदेशी पाहुना र २२ जना स्वदेशी पाहुना अवलोकनका नागि आउने निश्चित छ । त्यसरी आउने पाहुनाहरूलाई इन्द्रजात्रा सञ्चालन हुने रुटमा पर्ने हनुमानढोका केन्द्रीत सम्पदा पदयात्रा, हाँडीगाउँ र स्वयम्भू र भक्तपुर दरवार स्क्वायरको भ्रमण अवलोकन, कुमारी रथ यात्राको अवलोकनलगायत कार्यक्रममा सहभागी गराइनेछ ।’

महानगरपालिकाले जात्रा सञ्चालन तथा व्यवस्थापनका लागि इन्द्रजात्रा व्यवस्थापन समितिसँगको सहकार्य गरेको छ । महानगरले सांस्कृतिक, सामाजिक तथा धार्मिक क्रियाकलाप सञ्चालन, प्रवद्र्धन काम गरिरहेको उपप्रमुख डंगोलले बताइन् ।
 
उनका अनुसार जात्राअन्तर्गतका वन प्रस्थान, लिङ्गो नगर प्रवेशलगायत कम सम्पन्न भइसकेका छन् भने शान्ति सुरक्षा, सरसफाइ, सम्पदाहरूको मर्मत संभार, रङ्गरोगन, रथयात्राको रुटमा पर्ने सडक मर्मत भएको छ । 

जात्रामा राष्ट्र प्रमुखबाट श्री गणेश, श्री भैरव र श्री कुमारीको दर्शन गर्ने परम्परा छ । यो चलन मल्ल राजा जयप्रकाशका पालादेखि चलेको विश्वाश गरिन्छ । त्यसबेला राजा आफैँ पनि कुमारीको रथ यात्रामा जान्थे भन्ने भनाइ पाइन्छ ।

लिच्छवीकालीन राजा गुणकामदेवका पालादेखि जात्रा चलिआएको मानिन्छ । जीवित देवी कुमारीको पूजा गर्ने र शाक्य थरकी कन्यालाई देवीका रूपमा पूजा गर्ने चलनलाई मल्ल कालसँग जोडेर हेर्ने गरिएको छ ।
 
तत्कालीन राजामा तान्त्रिक शक्ति भएकाले उनले देवीसँगको नियमित भेट गर्ने गरेको, देवीसँगै खेल खेल्ने गरेको, भेटघाटका क्रममा राजाका मनमा भोग र वासना उब्जिएपछि देवीबाट श्राप प्राप्त गरेको कथा यससँग जोडिएको छ ।

यसबाट पाएको दोष कटाउन र शासन बचाउन सुरु गरिएको परम्पराका रूपमा जात्रालाई हेरिन्छ । यसैकारण पनि कुमारीको रथ यात्रा हुनु पूर्व गणेश, भैरव र कुमारीको दर्शन गर्न राष्ट्र प्रमुख उपस्थित हुने गरेको भनाइ छ । 





  • प्रकाशित मिति : असोज ८, २०८० साेमबार १४:५९:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया