logo-img

माल्टा पुगेर भुवन केसीले भने– नेपाली चलचित्रको प्रवर्द्धनमा सघाउनुस्

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

युरोप भ्रमणमा रहेका अभिनेता एवं चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी यतिबेला माल्टा पुगेका छन् । स्विट्जरल्याण्ड हुँदै माल्टा पुगेका उनले त्यहाँस्थित ब्लु हर्स इन्टरटेन्मेन्टको उद्घाटन समेत गरे । 

एमसिदा जिराको ब्ल्याक पर्ल रेष्टुराँमा आयोजित समारोहमा अध्यक्ष केसीले माल्टावासी नेपालीमाझ नेपाली चलचित्र र कला संस्कृतिको प्रवद्र्धनमा सघाउनसमेत आग्रह गरे । नेपालीपनको आभास दिलाउन सक्ने कार्यक्रम आयोजना गर्न सके बोर्डबाट हुनसक्ने सम्पूर्ण सहयोग गर्न तयार रहेको उनले बताए । 

लोकगायिका सुनिता दुलालसमेत सहभागी कार्यक्रममा उनको सांगीतिक प्रस्तुतिले माहौल तताएको थियो । उनले आफ्ना चर्चित गीतहरु सुनाएर मनोरञ्जन प्रदान गरिन् । नायिका जिया केसीसँगै त्यहाँ पुगेका अभिनेता केसीले समेत कार्यक्रममा गीत गाए ।

युरोपका विभिन्न मुलुकमा नेपाली कला संस्कृति, एवं वेशभूषाको प्रवद्र्धनसँगै व्यावसायिक ढंगले विभिन्न मनोरञ्जनात्मक गतिविधि आयोजना गर्ने उद्देश्यले उक्त संस्था खोलिएको यसका परिकल्पनाकार तथा संरक्षक जिके शर्माले बताए । यसका निम्ति नेपालस्थित राइज मिडिया नेटवर्कसँग सहकार्यका निम्ति समझदारी भएको समेत उनले जानकारी गराए । 

राइज मिडिया अडियो भिडियो निर्माण तथा इभेन्ट म्यानेजमेन्ट सँगै सञ्चार क्षेत्रमा आबद्ध संस्था हो । माल्टालगायत युरोपमा रहेका नेपालीलाई एकताबद्ध गरी नेपालको मौलिकतालाई युरोपमा प्रवद्र्धन गर्न ब्लु हर्स इन्टरटेन्मेन्ट निरन्तर सक्रिय रहने समेत शर्माको भनाइ थियो । यस संस्थाको संरक्षक उदयबाबु श्रेष्ठ रहेका छन् । 

गैरआवासीय नेपाली संघ राष्ट्रिय  समन्वय परिषद्  माल्टाका अध्यक्ष रेमलाल खनाल (रेम्स) तथा संस्थापक अध्यक्ष तेजबहादुर लिम्बूले नेपाली कला संस्कृतिको प्रवद्र्धनका लागि नयाँ खुलेको संस्थालाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । 



एनआरएन माल्टाका सल्लाहकार हरि बिसीले समग्र टिमलाई शुभकामना व्यक्त गर्दै ब्लु हर्स इन्टरटेन्टमेन्टले युरोपमा रहेका नयाँ प्रतिभालाई आफ्ना प्रतिभा प्रष्फुटन गर्न महत्वपूर्ण अवसर प्रदान गर्न सक्ने विचार राखे ।

माल्टावासी नेपाली, विभिन्न संघसंस्थाका प्रतिनिधि एवं व्यवसायीको उपस्थिति रहेको कार्यक्रम ब्लु हर्स इन्टरटेन्मेन्ट संयोजक डम्बर राणाको संयोजकत्वमा भएको थियो । कार्यक्रमको सञ्चालन असीम लोप्चनले गरेका थिए । माल्टा पछिल्लो समय नेपालीका लागि रोजगारीको आकर्षक गन्तव्य बनेको छ । 
 



  • प्रकाशित मिति : असोज १६, २०८० मंगलबार १९:६:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया