चाडपर्व लक्षित सडक मर्मतका लागि पनि बजेट अभाव छ : मन्त्री ज्वाला
फाइल तस्बिर

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले चाडपर्व लक्षित सडक मर्मत, सम्भारका लागि बजेटको अभाव रहेको बताएका छन् । बजेटको अभावका कारण दसैँअघि नै सडक मर्मत, सम्भार र यातायात व्यवस्थापनको काम भनेजस्तो हुनसक्ने अवस्था नरहेको मन्त्री ज्वालाको भनाई थियो । 

बुधबार संघीय संसद् प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले दसैँलगायतका चाडपर्व अघि नै सडक र यातायात क्षेत्रको उचित व्यवस्थापनका गर्नका लागि प्रक्रियागत झमेला समेत रहेको बताए । मन्त्री ज्वालाले भएको स्रोत र साधनको अधिकतम परिचालन गरी दसैँअघि नै सडक मर्मत र यातायातको आवश्यक व्यवस्था मिलाउनका लागि मातहतका निकायलाई निर्देशन दिइएको पनि बताए।

उनले काठमाडौं उपत्यकाको खाल्डाखुल्डी भने दसैँअघि नै व्यवस्थापन गरिसक्ने प्रतिबद्धता समेत व्यक्त गरे । उनले भने, ‘भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय चाडपर्व लक्षित यातायात व्यवस्था सहजीकरण र सडक मर्मत सम्भारका लागि गम्भीर छ । अब बजेटको अभाव छ । यहाँहरूलाई जानकारी छ । अव बजेटको अभावले भनेजस्तो नहुन पनि सक्छ । प्रक्रियागत झमेलाहरू पनि छन् । तर भएका स्रोतलाई अत्यधिक प्रयोग गरेर सडक मर्मत गर्ने कुरा, खाल्डाखुल्डी व्यवस्थापन गर्ने कुरा र यातायात सहज गर्ने कुरामा मन्त्रालय गम्भीर छ । दसैँअगाडि चाहिँ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत पर्ने सडकहरूका खाल्डाखुल्डी हामीले व्यवस्थित गरिसक्छौँ । यो चाहिँ समितिमा हाम्रो कमिटमेन्ट हो । त्यसै अनुसार हामीले निर्देशन दिइरहेका छौं ।’

मन्त्री ज्वालाले दसैँअघि नै बसको टिकटका लागि अग्रिम बुकिङ खुला गर्ने जानकारी दिए । उनले जथाभाबी भाडा लिएर यात्रुहरूलाई ठग्ने व्यवसायीमाथि कडा कारबाही गर्ने चेतावनी समेत दिए । यात्रुहरूलाई बस भाडामा ठगिन नदिने गरी तीन वटै तहको सरकारले सहकार्य गरेर अनुगमनको कामलाई सशक्त बनाउने उनले बताए । मन्त्री ज्वालाले दसैँ अघि नै यातायात क्षेत्रको आवश्यक व्यवस्था मिलाउनका लागि सम्बन्धित निकायसँग आफूले छलफल गरिसकेको पनि बताए । 

मन्त्री ज्वालाले भने, ‘अब यो टिकट बुकिङको सन्दर्भमा चाहिँ मैले भनिपनि सके हामी यसमा सिरियस पनि छौं । बिचौलिया प्रवृत्तिलाई नियन्त्रण गर्न र त्यसका लागि अनुगमनको कामलाई भरपर्दो बनाउनका लागि र अग्रिम बुकिङ खुला गर्ने र त्यसपछि त्यसलाई कसरी सहज गर्ने । लामो लाइन लाग्नुपर्ने अवस्था नहोस् । यात्रुहरूले टिकट लिनका लागि दुःख व्यहोर्न नपरोस् । आफूले लिएको टिकटको सिट नम्बरमा पनि बस्न नपाउने अवस्था नहोस् । बढी भाडा लिएर ठग्ने कुरालाई नियन्त्रण गर्ने कुरामा हामी संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार, ट्राफिक प्रहरी, यातायात व्यवस्था विभागलगायतका कार्यालयहरूसहितको सशक्त अनुगमन गरेर काम अगाडि बढाउँछौँ ।’





  • प्रकाशित मिति : असोज १७, २०८० बुधबार १७:१८:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया