logo-img

लाेसपामा संकट : राजेन्द्र महताेले महन्थ ठाकुरलाई भने- तपाईंले सक्नुभएन अरुलाई काम गर्न दिनुस्

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो र अध्यक्ष महन्थ ठाकुरबीच पार्टी बैठकमै भनाभन भएकाे छ । असोज १६–१७ गते दुई दिनसम्म चलेको बैठकमा वरिष्ठ नेता राजेन्द्र महतोले अध्यक्ष ठाकुरको खुलेर आलोचना गरेका हुन् । अध्यक्ष ठाकुरले बनाएको जम्बो पदाधिकारीप्रति नेता महतोले आक्रोश पाेखेका हुन् । 

लोसपाले एक साताअघि पदाधिकारीसहित ३११ सदस्यीय कार्य समिति सार्वजनिक गरेकाे थियाे । पार्टीको बैठकले २१ जनाको पदाधिकारी, ५१ जनाको कार्यकारिणी समिति बनाउने म्याण्डेट दिएको भए पनि अध्यक्ष ठाकुरले ६३ जनाको पदाधिकारी बनाएकाे भन्दै महताेले आक्रोश व्यक्त गरेका हुन् । 

‘उपाध्यक्ष दुई–चारवटा बढी बनाउँदा केही फरक पर्दैन । तर, महासचिव मात्र १६ जना बनाउनुभएको छ । महासचिव अध्यक्षजस्तै कार्यकारी पद हो । बढीमा दुई–तीनजनासम्म बनाउँदा हुन्थ्यो,'अध्यक्ष ठाकुरलाई प्रश्न गर्दै नेता महतोले भनेका थिए, 'यति धेरै महासचिव बनाउन के बाध्यता थियो ? के महासचिवको संख्या देखाएर गिनिज बुकमा नाम लेखाउनु हुन्छ ?’

प्रसाद बाँडेजस्तो पदाधिकारी बाँड्न नमिल्ने भन्दै उनले भने, ‘उसो भए माग्न त अध्यक्ष पनि मागिएको थियो । तर, किन दिनुभएन ? माग्दैमा प्रसादजस्तै पदाधिकारी बाँड्ने हो भने अध्यक्ष पनि दिनुपथ्र्यो, त्यो पनि मागिएको थियो ।’

महताेले अध्यक्ष ठाकुरकाे कार्यक्षमतामाथि पनि प्रश्न उठाएका थिए ।  ‘तपाईंको स्वास्थ्य र उमेरले पनि धेरै कुरा गर्न दिइरहेको छैन, धेरै कुरा बिर्सिन थाल्नु भएको छ,’ महतोले अध्यक्ष ठाकुरलाई भने, ‘तपाईं सक्नुहुन्न भने अरुलाई काम गर्न दिनुस् । यहाँ थुप्रै साथीहरु काम गर्न तयार हुनुहुन्छ । तपाईं आफू पनि नगर्ने अरुलाई पनि गर्न नदिने अनि पार्टी कसरी अगाडि बढ्छ ?’ 

लामाे समयदेखि नेता महतोले अध्यक्ष ठाकुरसँग पटक–पटक कार्यकारी अध्यक्ष बनाउन आग्रह गर्दै आएका थिए । कार्यकारी अध्यक्ष नभए कार्यवाहक अध्यक्ष मात्रै दिन उनले आग्रह गरेका थिए । बुधबारकाे बैठकमा पनि उनले अध्यक्ष ठाकुरसँग आशीर्वाद मागेका थिए । अध्यक्ष ठाकुरले तत्कालै ‘तपाईंलाई मेरो आशीर्वाद छ’ भनेर जवाफ दिए । 



नेता महतोपछि लगत्तै बोलेका अध्यक्ष ठाकुरले आफ्नाे 'मार्केट भ्यालु कम भएको' र कसैले चन्दा, सहयोग दिन छाडेकाे गुनासाे गरे । उनले भने, 'म त्यस परिस्थितिमा आइसकेको छु । अब तपाईंहरुले नै संगठन चलाउनुस् ।’



  • प्रकाशित मिति : असोज १८, २०८० बिहीबार २०:११:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया