नेपालबाट बाहिरियो मनसुन

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

सुदूरपश्चिम तथा कर्णाली प्रदेशको पश्चिम भू–भाग भएर यस वर्षको मनसुन बाहिरिएको छ । बाँकी भू–भागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले शुक्रबार राति विशेष मौसम बुलेटिन निकालेर नेपालबाट मनसुन बहिर्गमन सुरु भएको जनाएको हो ।

महाशाखाका मौसमविद् गोविन्दकुमार झाका अनुसार नेपालबाट मनसुन पूर्ण रुपमा बाहिरिन अझै केही दिन लाग्नेछ । ‘देशको पश्चिम भेग भएर शुक्रबारबाट मनसुन बाहिरिन सुरु भएको छ । बाँकी भेगमा मनसुन कायमै रहेकाले आगामी तीन दिन हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ,’ झाले भने । 

नेपालमा मनसुन बहिर्गमनको औसत मिति अक्टोबर २ तारिख भए पनि यस वर्षको मनसुन औसत मितिभन्दा केही दिन ढिलो बाहिरिएको झाले बताए । उनका अनुसार बंगालको खाडीको उत्तर–पश्चिम भागमा विकास भएको न्यूनचापीय क्षेत्रको प्रभावले मनसुन बहिर्गमनमा ढिलाई भएको थियो ।

नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो । यस वर्ष सरदर मितिभन्दा एक दिन ढिलो अर्थात् जुन १४ तारिख (जेठ ३१ गते) मनसुन भित्रिएको थियो । नेपालको पूर्वी तथा मध्य भू–भागमा हाल बंगलादेश र आसपास रहेको न्यूनचापीय क्षेत्रको प्रभावले बदली र वर्षा गराएको महाशाखाले उल्लेख गरेको छ ।

आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । भोलि आइतबार पनि कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहनेछ । 



कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन–चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।



  • प्रकाशित मिति : असोज २०, २०८० शनिबार १८:३१:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया