logo-img

नरेन्द्र मोदीको गुन्जी भ्रमणबारे रवि लामिछानेले मागे सरकारको जवाफ
फाइल तस्बिर

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको गरेको नेपाली भूमि गुन्जीको भ्रमणको सम्बन्धमा सरकारको जवाफ माग गरेका छन् ।  

बिहीबारको प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै सभापति लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली भूमि गुन्जीको भ्रमण गरेको भन्दै यसको सम्बन्धमा सरकारले संसदलाई जानकारी गराउनुपर्ने माग गरेका हुन् । उनले मोदी नेपाल आउँदा सरकारले कुनै स्वागत नगरेको र देशलाई कुनै जानकारी नदिइएको टिप्पणी गरे ।

उनले छिमेकी देशको प्रधानमन्त्री नेपाल आउँदा कुनै औपचारिक कार्यक्रम समेत नभएको बताए । 

‘हामीले नै पास गरेको, यो सदनले पास गरेको यो चुच्चे नक्साभित्र हाम्रो भू–भाग पर्छ । त्यसकारणले त्यस भू–भागभित्र गुन्जी पनि पर्छ । जहाँ छिमेकी मित्रराष्ट्र भारतका प्रधानमन्त्रीले भ्रमण गर्नुभयो भन्ने समाचार आयो । यसको आधिकारिकताका लागि प्रमुख जिल्ला अधिकारीसँग कुराकानी गरियो हामी त्यहाँ जान पाउँदैनौँ । हामीले पनि थाहा पायौँ भन्ने कुरा उहाँले पनि जानकारी गराउनुभयो,’ लामिछानेले भने, ‘म सरकारलाई र परराष्ट्र मन्त्रालयलाई सोध्न चाहन्छु, यति ठूलो भ्रमण आफ्नो भूमिमा, आफ्नो देशमा छिमेकी राष्ट्रका प्रधानमन्त्रीको भ्रमण बारे सरकारले नेपाली जनतालाई, सदनलाई जानकारी गराउनु पर्दैन ? यत्रो ठूलो भ्रमणमा मित्र राष्ट्र, छिमेकी राष्ट्रको त्यति ठूलो व्यक्तित्व, सरकार प्रमुख हाम्रो भूमिमा आउँदाखेरी सरकारले उहाँलाई स्वागत गर्नु पर्दैन ? कुनै कार्यक्रम हुनुपर्दैन ? त्यसका औपचारिकताहरू हुँदैनन् ? त्यसकारणले यस बारेमा सम्मानित सदनलाई सरकारले, परराष्ट्र मन्त्रालयले वास्तविकता जानकारी गराउनुपर्‍यो ।’  

उनले सो क्षेत्र नेपाली भूमि रहेको र नेपालको चुच्चे नक्सामा समेत समेटिएको उल्लेख गर्दै नेपाली भूमिमा भारतीय प्रधानमन्त्रीको भ्रमणको बारेमा सरकारले स्पष्ट पार्नुपर्ने बताए ।  





  • प्रकाशित मिति : असोज २५, २०८० बिहीबार १३:४९:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया