logo-img

पेट्रोलमा कृत्रिम अभाव : विनासूचना मूल्य घटाएको भन्दै बिक्री ठप्प

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

विनासूचना इन्धनको मूल्य घटाएको भन्दै पम्पहरूले सोमबारबाट पेट्रोलको बिक्री बन्द गरेका छन् । नेपाल आयल निगमले आइतबार डिजेलमा प्रतिलिटर पाँच रुपैयाँ र पेट्रोलमा प्रतिलिटर ११ रुपैयाँ मूल्य घटाउने निर्णय गरेको थियो । 

निगमले स्वचालित प्रणलीअनुसार मूल्य समायोजन गरे पनि पम्पहरूले जानकारी नदिई मूल्य घटाएको भन्दै पेट्रोलको बिक्री रोकेका हुन् । सोमबार देशभरका सडकका सवारीसाधन इन्धन सकिएर पेट्रोल भर्न पम्पमा जाँदा अधिकांश पम्पमा ‘पेट्रोल छैन’ भन्ने सूचना टाँस गरिएको थियो । 

आयल निगमले नियमित रूपमा इन्धन वितरण गरे पनि विक्रेताहरूले अनौपचारिक सहमति गरेर बिक्री ठप्प पारेका हुन् । आयल निगमले दसैँ–तिहारमा मूल्य घट्दैन भनेर आश्वासन दिएको, तर एक्कासि मूल्य बढाइएको उनीहरूको गुनासो छ । 

देशभर १६ सय पेट्रोल पम्प सञ्चालक व्यवसायी छन् । उनीहरूको छाता संगठन एसोसिएसनले अघोषित रूपमा पेट्रोल बिक्री बन्द गरेपछि चाडपर्वको मुखमा सर्वसाधारण मर्कामा​ परेका छन् । 

दुई साता अघि मात्रै मन्त्रिपरिषद बैठकले कालोबजारी र कृत्रिम अभाव सिर्जना गर्नेलाई कडा कारबाही निर्णय गरेको थियो । 

सरकारको निर्णयबारे जानकारी दिँदै प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले भनेकी थिइन्–आसन्न चाडपर्वहरुको अवसरमा उच्च माग हुने खाद्य तथा गैरखाद्य वस्तुहरुको कृत्रिम अभाव सिर्जना गरी अस्वभाविक मूल्यबृद्धि, कालोबजारी र अखाद्य वस्तु मिसावट गरी गुणस्तरहीन वस्तु विक्री वितरण गर्नेजस्ता अनुचित कार्यहरु नगर्न नगराउन सम्पूर्ण उद्योगी, व्यवसायीहरुलाई नेपाल सरकार ध्यानाकर्षण गराउँदछ । 



बजारमा कृत्रिम अभाव सिर्जना गर्ने र नाफाखोरी गर्ने व्यक्ति, फर्मलाई कानुनबमोजिम कडा कारबाहीका लागि कोही कसैसँग सूचना भएमा हेलो सरकार, वाणिज्य विभागको पोर्टल वा टोल फ्री नम्बर ११३७ मा सूचना दिनुहुन आम उपभोक्ता वर्गमा अनुरोध गर्दछ । 

उपभोग्य वस्तुको विक्री वितरणसँग सम्बन्धित सार्वजनिक निकायले तत्काल देशभर सुपथ मूल्यका पसल सञ्चालन गर्ने, बजार अनुगमनका लागि स्थापित सम्पूर्ण संयन्त्रहरुलाई थप सक्रिय र क्रियाशील बनाई बजार अनुगमन कार्यलाई प्रभावकारी बनाउने, अस्वभाविक मूल्यवृद्धि र कालोबजारी नियन्त्रण गर्ने, कृत्रिम अभाव सिर्जना गर्ने, अस्वभाविक नाफाखोरी गर्ने र अस्वाभाविक रुपमा मूल्य वृद्धि गरी कालोबजोरीमा संलग्न हुने जोकोहीलाई प्रचलित कानुनबमोजिम कडा कारबाही गर्ने र सोको प्रतिवेदन सर्वसाधारण सबैको जानकारी लागि सम्बन्धित निकायबाट दैनिक रुपमा सम्प्रेषित गर्न नेपाल सरकार निर्देशन गर्दछ ।



कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गर्ने सरकारको प्रतिबद्धतामा दुई साता पनि नपुग्दै आशंका पैदा भएको छ । चाडबाडका बेला टाढाटाढासम्म पुग्नुपर्ने यात्रुहरू इन्धनको कृत्रिम अभावका कारण रोकिएका छन् । 

  • प्रकाशित मिति : असोज २९, २०८० साेमबार २२:३:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया