logo-img

यात्रा गर्दा कस्ता कुरामा ध्यान दिने ?

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेपाली हिन्दु धर्मावलम्बीको महान् चाड बडादसैँ सुरु भइसकेको छ । दसैँमा विश्वभर छरिएर रहेका नेपाली दाजुभाइ, दिदीबहिनी गाउँघरमा भेला भएर परिवारसँग रमाइलो गरेर मनाउने गर्छन् । 

दसैँको बेला विदेशदेखि स्वदेशमै शहरमा बस्ने सबै नेपाली आफ्नो पुर्ख्यौली थलो फर्किन्छन् । दसैँमा सबैजसो परिवारसँगै मनाउन उत्तम मान्ने भएकाले एक ठाउँबाट अर्को स्थानमा जानु परेको हुन्छ । 

दसैँको समयमा घर जाँदा सामान्यतः हवाइजहाज र बस दुई किसिमका यातायातका साधनमा यात्रा गरिन्छ । त्यसमा पनि अधिकांश व्यक्तिले बसको यात्रा नै गर्ने गर्छन् । बसको यात्रा गर्दा धेरैजसो व्यक्तिलाई मोसन सिक्नेस (वाकवाकी आउने, रिँगटा लाग्ने) हुन्छ ।

अनि पेट उमठेर बान्ता हुने हुन्छ । बसको यात्रामा त्यस्तो समस्या हुने मान्छेले अदुवा खाने, पानी खाने, अनि हल्का (साधारण) खाना खाएर यात्रा गर्नु राम्रो हुन्छ । यात्राको बेलामा विभिन्न कारण बिरामी पर्ने पनि हुन्छ । जस्तो : बान्ता हुने, ग्यास्ट्रिक हुने, पखाला लाग्ने जस्ता समस्या आउन सक्छन् । यी समस्या समाधानका लागि आफैंले औषधि बोक्न सकिन्छ । 

यात्रा गर्दा ध्यान दिनैपर्ने कुरा :

बान्ता रोक्ने औषधि 



बसको यात्रा गर्दा बान्ता हुने व्यक्तिले जहिले पनि बस चढ्नु एक/डेढ घण्टाअघि बान्ता रोक्ने औषधि सेवन गर्नुपर्छ । यस्तो औषधि एक दुई पत्ता साथमा बोकि पनि रहनुपर्छ । किनभने आफूलाई बान्ता नआए पनि छेउमा बसेको व्यक्तिलाई आउन सक्छ ।  

ग्यास्ट्रिकको औषधि 



यात्राका क्रममा खानपानको समय मिल्दैन । लामो दूरीको यात्रामा झन् खानपानका लागि लामै समय कुर्नुपर्ने हुन्छ । पहिलादेखिकै ग्यास्ट्रिकको समस्या भएका व्यक्तिलाई त झनै गाह्रो हुनसक्छ । त्यसैले यात्रा गर्दा ग्यास्टिकको औषधि अनिवार्य बोक्नुपर्छ ।    

जीवनजल 

यात्राका बेलामा कहिलेकाहीँ खानपान नमिल्दा पखाला पनि लाग्न सक्छ । पखाला रोक्नका लागि जीवनजलले सहयोग गर्छ । पखाला लागेको बेलामा शरीर एकदमै कमजोर हुन्छ । जसकारण जीवनजलले शरीरलाई शक्ति गर्छ ।  

मास्क

यात्राको क्रममा मास्क झनै आवश्यक वस्तु हो । भीडभाडमा मास्कको प्रयोगले विभिन्नखाले संक्रमणबाट जोगाउनुका साथै धुलो-धुवाँका कारण श्वासप्रश्वास सम्बन्धी समस्या हुन दिँदैन ।  

प्राथमिक उपचारका सामग्री

लामो यात्रा गर्दा जहिले पनि प्राथमिक उपचारका लागि सामग्री बोक्न आवश्यक छ । यात्राको बेलामा कहिलेकाहीँ चोटपटक लाग्न सक्छ । जसको उपचारका लागि घाउ बाँध्ने टेप, ब्यान्डिज, काटेको घाउमा लगाउने औषधि, ह्याण्डी प्लाष्ट, पट्टी, डेटोललगायतका सामग्री बोकेर यात्रा गर्न सकिन्छ। यस्ता सामग्री बोक्दा सामान्य चोटपटकको उपचार आफैं गर्न सकिन्छ । 

स्यानिटरी प्याड

महिलाले यात्रामा छुटाउनै नहुने स्यानिटरी प्याड हो । महिनावारीको समय नजिकिँदै छ भने झनै छुटाउनै हुँदैन । स्यानिटरी प्याड सबै ठाउँमा किन्न नपाइन सक्छ । त्यसकारण आफूलाई आवश्यक नपरे पनि छेउछाउका अन्य व्यक्तिहरूले बोक्न बिर्सिँदा प्रयोग गर्न सजिलो हुन्छ ।  

डाइपर 

यात्राको क्रममा साथमा साना बच्चाहरू छन् भने बच्चाले प्रयोग गर्ने डाइपर बोक्न अनिवार्य हुन्छ । बच्चाहरूले बेलाबेलामा दिसापिसाव गर्दा सरसफाइमा विशेष ध्यान पुर्याउनुपर्छ । 

नियमित औषधि 

कुनै पनि बिरामीले यात्रा गर्दा आफ्नो नियमित औषधि भने बोक्न छुटाउनु हुँदैन । नियमित औषधि छुट्यो भने आफूले प्रयोग गरिरहेको औषधि सबै ठाउँमा पाइन्छ भन्ने हुँदैन । त्यसैले आफ्नो नियमित औषधि भने छुटाउनै हुँदैन ।

(शंकरापुर अस्पतालका फिजिसियन डा. रमेश ढकालसँग फरधारकर्मी रेश्मा सिंहले गरेको कुराकानीमा आधारित।)

  • प्रकाशित मिति : असोज ३०, २०८० मंगलबार १४:३३:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया