logo-img

कलाकारले यसरी मनाए दसैँ

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

विजया दशमी कलाकारले धुमधामले मनाएका छन् । अभिभावकबाट बडादसैँको टीका ग्रहण गरिएका तस्बिरहरू कलाकारले सामाजिक सञ्जालमार्फत सार्वजनिक पनि गरेका छन् । 

हास्य कलाकार हरिवंश आचार्यले पत्नी, छोरा र बुहारीलाई टीका लगाइदिए । उनले सामाजिक सञ्जालमार्फत टीकाको तस्बिर सार्वजनिक गर्दै आपसी सद्भाव बढाउने पर्वको रूपमा वडादसैँलाई लिइएको बताए ।  

दसैँ लगत्तै ‘महाजात्रा’ को छायाङ्कनमा जानुपर्ने भएकाले पनि दसैँलाई आफन्तसँगको भेटघाटको रुपमा मनाइरहेको उनले बताए । यसैगरी अभिनेता अनमोल केसीले पिता तथा अभिनेता भुवन केसीको हातबाट टीका र जमरा लगाए । सपरिवार टीका ग्रहण गरेको जानकारी गराउँदै उनले दसैँ लगत्तै ‘फर्की फर्की’ नामक चलचित्रमा काम गर्ने बताए ।

यो दसैँ अभिनेता तथा मोडल पल शाहका लागि पनि  महत्वको भएको छ । उनले अघिल्लो वर्ष टीका लगाउन नपाइएका कारण यो वर्षको दसैँ परिवारसँग बसेर मनाइरहेको बताए । अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला, अभिनेता तथा निर्देशक निर्मल शर्मा, अभिनेत्री वर्षा सिवाकोटी र अभिनेता जितु नेपालले पनि आफ्ना मान्यजनबाट टीका ग्रहण गरे ।

अभिनेत्री वर्षा राउतले पनि आफ्ना पति तथा अभिनेता सन्जोग कोइरालासँग सिन्धुली पुगेर टीका ग्रहण गरिन् । यस्तै, आमाबाट टीका र जमरा ग्रहण गर्नुभएका हास्य कलाकार शिवशङ्कर रिजालले भने, ‘तराई गएर अन्य मान्यजनबाट पनि टीका ग्रहण गर्नेछु । मेरो दसैँ तराई र काठमाडौँमा बराबर हुँदै आएको छ ।’

यसैगरी अभिनेता सलिनमान बनियाँ, अभिनेत्री स्वेता खड्का र ऋचा शर्मा, अभिनेता रवीन्द्रसिंह बानियाँले  पनि आफ्ना मान्यजनबाट टीका ग्रहण गरे ।



अभिनेता खगेन्द्र लामिछानेले आफूद्वारा निर्मित तथा लिखित चलचित्र ‘पशुपति प्रसाद–२ : भष्मे डन’ प्रदर्शनरत रहेकाले काठमाडौं उपत्यकाको विभिन्न चलचित्र भवनमा पुगेर दर्शक भेट्ने जानकारी दिए । ‘यो पटक स्याङ्जास्थिचत घर जान नपाए पनि  दर्शकसँग साक्षात्कार गर्दै दसैँ मनाइरहेको छु,’ उनले भने ।

दसैँलाई एकता, भ्रातृत्व र प्रेमको रूपमा लिइने गरिएका कारण सबै आफन्तजन एकै स्थानमा भेला भएर टीका लगाउने गरिएको कलाकारले जानकारी गराए । रासस 



  • प्रकाशित मिति : कात्तिक ८, २०८० बुधबार ८:२४:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया