logo-img

राष्ट्रसंघका महासचिव गुटेरेस नेपालमा, यस्तो छ कार्यतालिका

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपालको चारदिने औपचारिक भ्रमणका क्रममा आज काठमाडौं आइपुगेका छन् । उनलाई परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा स्वागत गरे ।  

सो अवसरमा नेपाल सरकारका उच्च अधिकारी, नेपालस्थित संयुक्त राष्ट्रसंघको कार्यालयका प्रतिनिधिलगायत उपस्थित थिए । महासचिव गुटेरेसको स्वागतमा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो । 

महासचिव गुटेरेसले भ्रमणको पहिलो दिन आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रपति कार्यालय र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग उहाँको कार्यालयमा शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

महासचिव गुटेरेसले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग संघीय संसद् भवन नयाँबानेश्वरमा बेग्ला–बेग्लै शिष्टाचार भेट गर्नेछन् ।  

उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ तथा परराष्ट्रमन्त्री साउदसँग समेत महासचिव गुटेरेसको छुट्टाछुट्टै भेटवार्ता हुनेछ । भेटवार्तापछि उनले ऐतिहासिक एवं पुरातात्विक महत्वको सम्पदास्थल पाटन दरबार क्षेत्रको पनि अवलोकन गर्नेछन् ।  

प्रधानमन्त्री दाहालले महासचिव गुटेरेसको सम्मानमा आइतबार साँझ सांस्कृतिक कार्यक्रमसहितको रात्रिभोजको आयोजना गर्नेछन् । भ्रमणका क्रममा सोमबार उनी नाम्चे, पोखरा, अन्नपूर्ण आधार शिविर र लुम्बिनी जानेछन् । आगामी मंगलबार अपरान्ह ४ बजे उनले संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ ।



सन् २०१७ मा संयुक्त राष्ट्रसंघको महासचिव भएपछि पहिलोपटक नेपालको भ्रमण गर्न गरिरहेका गुटेरेसले यहाँको शान्ति प्रक्रिया, दिगो विकास, जलवायु परिवर्तनलगायत विषयमा छलफल गर्ने मन्त्रालयले जनाएको छ ।

राष्ट्रसंघका महासचिवको करिब १५ वर्षपछि नेपालमा हुन लागेको यस भ्रमणलाई कूटनीतिक क्षेत्रमा महत्वका साथ हेरिएको छ । प्रधानमन्त्री दाहालको निमन्त्रणामा महासचिव गुटेरेस औपचारिक भ्रमणका क्रममा नेपाल आएका हुन् । 



  • प्रकाशित मिति : कात्तिक १२, २०८० आइतबार ६:३६:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया