logo-img

हमासको बन्धकबाट आफ्ना नागरिक छुटाउन इजिप्ट र कतारको भ्रमणमा थाई विदेशमन्त्री

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

इजराइलमाथिको हमलामा हमासद्वारा बन्धक बनाइएका २२ थाई नागरिकका बारेमा कुराकानी गर्न मंगलबार थाइल्यान्डका विदेशमन्त्री पर्णप्री बहिद्धा–नुकाराले कतार र इजिप्टको आकस्मिक भ्रमण गरेका छन् । 

इजराइली अधिकारीहरूका अनुसार ७ अक्टोबरमा गाजापट्टीबाट हमासले इजराइमा गरेको आक्रमणमा अधिकांश सर्वसाधारणसहित एक हजार ४ सयभन्दा बढी मानिस मारिएका छन् । 

जवाफमा इजराइली सेनाले गाजामा हमला गरेको छ । हमलामा ३ हजारभन्दा बढी बालबालिकासहित ८ हजार ३ सय मानिस मारिएको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

पछिल्लो तथ्याङ्कअनुसार गाजामा हमासले २ सय ३० जनालाई बन्धक बनाएको छ । थाई विदेशमन्त्रालयका अनुसार तीमध्ये २२ जना थाई नागरिक छन् । प्रधानमन्त्री श्रेथा थाभिसिनले सोमबार थाई नागरिकहरूलाई स्वदेश फर्काउन कडा मिहिनेत गरिरहेको बताएका छन् । उनले बुधबार इजिप्टका विदेशमन्त्रीसँग कुराकानी गर्नुअघि मंगलबार कतारका प्रधानमन्त्री र विदेशमन्त्रीसँग भेट्नका लागि विदेशमन्त्री पर्णप्रीलाई कतार पठाएका छन् । 

पर्णप्रीले इजराइल र गाजामा जारी हिंसाका कारण बन्धक बनाइएका थाई नागरिकको स्थितिका बारे कुराकानी गर्ने विदेश मन्त्रालयले एक विज्ञप्तिमा उल्लेख गरेको छ । 

द्वन्द्व सुरु हुँदा इजराइलमा करिब ३० हजार थाईले काम गरिरहेका थिए । तीमध्ये अधिकांश कृषि क्षेत्रमा संलग्न थिए । मन्त्रालयलका अनुसार द्वन्द्वमा कम्तीमा ३२ थाई नागरिकको मृत्यु र १९ जना घाइते भएका छन् । 



‘हामी युद्धका पीडितहरू जस्तै छौँ’, छिमेकी मुलुक लाओसको भ्रमण गर्नुअघि सोमबार प्रधानमन्त्री श्रेथाले पत्रकारसँग भने, ‘इजराइलमा अन्य देशको तुलनमा थाई नागरिक धेरै भएकाले हामी सबैभन्दा बढी प्रभावित भएका छौँ ।’ 



  • प्रकाशित मिति : कात्तिक १४, २०८० मंगलबार १२:२३:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया