एक हप्तामा काठमाडौंमा मात्रै १२ हजार सवारी चालकलाई कारबाही
फाइल तस्बिर

ट्राफिक नियम उल्लङ्घनविरुद्ध काठमाडौं उपत्यकामा कारबाही अभियान तीव्र पारिएको छ । प्रहरीले एक सातामै उपत्यकाका विभिन्न क्षेत्रबाट १२ हजार सात सय ११ चालकमाथि कारबाही गरेको छ । 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार यही दसैँ लगत्तै कात्तिक ९ देखि आज बिहानसम्म गरिएको कारबाही अभियानका क्रममा उनीहरूलाई कारबाही गरिएको हो । 

कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले उपत्यकाको काठमाडौं, ललितपुर र भक्तपुरका तीनै जिल्लामा प्रहरी टोली परिचालन गरी कारबाही अभियान चलाइएको बताए ।  चाडबाडका समयमा नियम उल्लङ्घन गरेर जथाभाबी सवारीसाधन चलाउँदा दुर्घटनाको जोखिम बढ्ने भएकाले कारबाही तीव्र पारिएको उनले भने । 

प्रहरी वरिष्ठ उपरीक्षक भट्टका अनुसार आज (पछिल्लो २४ घण्टा)मै दुई हजार दुई सय १८ चालक कारबाहीमा परेका छन् । त्यसमा तीव्र गतिमा सवारीसाधन चलाउने मात्रै तीन सय रहेका छन् भने लेन क्रस गरेर गाडी चलाउने एक सय ५२ चालक कारबाहीमा परेका छन् । यस्तै मापसे गरेर सवारीसाधन चलाउने मात्रै एकै दिनमा ८६ चालक कारबाहीमा परेका उनले बताए ।

यसअघि यही कात्तिक १५ गते दुई हजार चार, कात्तिक १४ गते एक हजार पाँच सय २७ र १३ गते एक हजार पाँच सय ८७ चालकलाई कारबाही गरिएको कार्यालयले जनाएको छ । यस्तै १२ गते एक हजार एक सय ५५, कात्तिक ११ गते एक हजार सात सय ६८, १० गते एक हजार तीन सय ५५ र कात्तिक ९ गते एक हजार ९७ चालक कारबाहीमा परेका थिए ।  

प्रहरीको अध्ययनले तीव्र गतिमा सवारीसाधन चलाउँदा उपत्यकामा बढी दुर्घटना भएका छन् । त्यसैले उपत्यकाको चक्रपथका विभिन्न क्षेत्रमा स्वचालित क्यामरा जडान गरेरै गति मापन गरी कारबाही गरिएको छ भने ठाउँ ठाउँमा टोली नै परिचालन गरेर पनि गति नियन्त्रणको क्रम जारी छ । 



यस्तै आकस्मिकरुपमा जाँच अभियानमार्फत नियम उल्लङ्घनविरुद्ध कारबाही जारी रहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले बताए ।  



  • प्रकाशित मिति : कात्तिक १६, २०८० बिहीबार ११:९:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया