logo-img

महामारीको उच्च जोखिममा भूकम्प पीडित, सर्तकता अपनाउन चिकित्सकको अनुरोध

गत शुक्रबारको मध्यरातमा जाजरकोट केन्द्रविन्दु भएर गएको विनाशकारी भूकम्पले यतिबेला देश शोकमा छ । अहिले पनि पटकपटक जाजरकोटलगायत छिमेकी जिल्लामा भूकम्पको धक्का महसुस भइरहेको छ ।  

शुक्रबारको भूकम्पका कारण १ सय ५३ जनाको मृत्यु भएको छ । साथै, ३ सयभन्दा बढी नागरिक घाइते भएका छन् । भूकम्पका कारण ठूलो भौतिक क्षति पनि भएको छ । जसले गर्दा  भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुम पश्चिममा सङ्क्रामक रोगको प्रकोप फैलिनसक्ने जोखिम बढेको छ ।

यही १७ कात्तिकमा जाजरकोटको बारेकोट गाउँपालिकास्थित रामिडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । हाल उक्त भूकम्पले गाउँका अधिकांश घरहरू भत्किँदा गाउँभर धुलोधुँवा मात्रै रहेको र मानिस खुल्ला चौरमा बसेका छन् । जसले गर्दा स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने सरोकारवालाको भनाइ छ । 

कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. रविन खड्काले भूकम्प प्रभावित क्षेत्रमा मुख्यतया महामारी फैलिन सक्ने जोखिम बढेको बताए । उनका अनुसार हाल भूकम्प प्रभावित क्षेत्रमा अधिकांश माटोका घर भत्किएपछि गाउँभर धुलो–प्रदूषण फैलिएको छ । साथै पालिएका गाईवस्तु मरेपछि गाउँमा त्यसको पनि दुर्गन्ध फैलिन थालेको छ ।  जसले गर्दा संक्रमणको उच्च जोखिम  देखिएको छ । 

‘यसबाहेक प्रायः धेरैजसो घरहरू भत्किसकेका हुनाले धेरै जना खुला चौरमा पालमुनि बसिरहेका छन् । चिसो मौसम पनि सुरु भइसकेको छ । चिसोका कारण निमोनिया हुनसक्ने उच्च जोखिम छ’, डा. खड्काले भने, ‘यसअघि जाजरकोटमा प्रदूषित खानेपानीका कारण झाडापखाला फैलिएको थियो । यसपटक पनि भूकम्प प्रभावित क्षेत्रमा झाडापखाला फैलिन सक्ने उच्च सम्भावना रहेकाले बेलैमा सर्तकता अपनाउन आवश्यक छ ।’



उनका अनुसार संक्रमण नफैलियोस् भनेर निर्देशनालयले हाल भूकम्पले धेरै प्रभावित भएका सातवटा पालिकामा सातवटा टिमलाई सरसफाइलगायतका जनचेतनाका दिनका लागि टोली पठाइएको छ । त्यो टिमले सरसफाइ र संक्रमण रोक्न तत्काल के गर्न सकिन्छ भनेर रिपोर्टिङ गर्ने तथा जनस्तरमा जनचेतना फैलाउने काम गरिरहेको समेत उनले बताए ।



‘हामीले सातवटा पालिकामा टिम नै पठाएका छौँ, उहाँहरूसँग खानेपानी शुद्ध गर्ने केही औषधिहरू पनि पठाएका छौँ । यसबाहेक अत्यावश्यक पर्ने औषधीहरू पनि पठाइएका छन्,’ डा. खड्काले भने, ‘प्रभावित ठाउँको जोखिम हेरेर उहाँहरूले वितरण गर्नुहुन्छ तर दीर्घकालीन रूपमा के गर्नुपर्ने अवस्था छ भनेर स्थानीय संघसंस्था र प्रभावितहरूसँग उहाँहरूले छलफल गरेर हामीलाई भन्नुहुन्छ । वर्तमान अवस्थामा कसरी व्यवस्थापन गर्ने र भइपरी आउने समस्याको समाधान कसरी गर्ने भनेर पूर्व तयारीमा बसेका छौँ ।’

स्थानीय तहस्तरमा रहेका स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीलाई विशेष गरी प्रभावित क्षेत्रमा सरसफाइ र शुद्ध खानेपानीलाई फोकस गरेर काम गर्न निर्देशन दिएको समेत डा. खड्काले जानकारी दिए । उनका अनुसार घाइतेको उद्धार गरिसकेको अवस्थामा अब प्रभावित क्षेत्रका बासिन्दाको बसोवास, खानपान र सरसफाइ नै मुख्य विषय रहेको छ । यी कुरामा मध्येनजर गरेर निर्देशनालयले कामहरू गरिरहेको उनले बताए । 

जाजरकोटमा भूकम्पको बारम्बार झड्का दिइरहेको छ । सोमबार मात्र त्यहाँ ४.५ म्याग्निच्युडको भूकम्पको झड्का महसुस गरियो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जाजरकोटको पैङ्क केन्द्रविन्दु भएर भूकम्प गएको हो । सोमबार नै जाजरकोटको रामिडाँडा भएर ५.८ म्याग्निच्युडको भूकम्प गएको थियो । 

यसअघि शुक्रबार सो ठाउँमा केन्द्रविन्दु भएर गएको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा ठूलो जनधनको क्षति भएको थियो । यो समाचार तयार पार्दासम्म भूकम्पमा परेर १ सय ५३ जनाको मृत्यु भएको छ भने ३ सय ७५ जना घाइते भएको गृह मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार हालसम्म भूकम्पले ९ सय ३२ घरमा पूर्ण र २ हजार ३ घरमा आंशिक क्षति भएको छ । थप विवरण संकलन गर्ने कार्य जारी रहेकाले क्षतिको यकिन विवरण प्राप्त हुनेक्रम जारी रहेको पनि मन्त्रालयले जनाएको छ । 

  • प्रकाशित मिति : कात्तिक २१, २०८० मंगलबार १३:५८:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया