logo-img

गणतन्त्रमाथिको प्रहारलाई मिलेर प्रतिवाद गर्ने शीर्ष नेताहरूको प्रतिबद्धता

मंगलबार सिंहदरबारमा गणतन्त्रलाई आत्मसात् गर्ने दलहरूको बैठक सम्पन्न भएको छ । बैठकमा ०६२ साल मंसिर ७ गते १२ बुँदे समझदारीमा हस्ताक्षर गरेका दलका नेताहरूलाई बोलाइएको थियो । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको उक्त बैठकमा उपस्थित शीर्ष नेताहरूले गणतन्त्रमाथि प्रहार हुन थालेको भन्दै मिलेर प्रतिवाद गर्ने सामूहिक प्रतिबद्धता जनाएका छन्।

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईलगायत नेता सहभागी थिए।

उक्त बैठकमा १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता, आन्दोलन, संविधानसभाबाट संविधान लेखनलगायत विषयमा छलफल भएको थियो । परिवर्तनकारी राजनीतिक दलका नेताहरूले विभिन्न कोणबाट देखापरेका प्रहारलाई मिलेर प्रतिवाद गर्ने निष्कर्ष निकालेको माओवादी नेतृ पम्फा भुसालले जानकारी दिइन् । 

कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरूले आफूहरू संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध रहेको बताएको उनले जानकारी दिइन्।

बैठकमा शान्ति प्रक्रियाका बाँकी काम छिटो पूरा गर्ने विषयमा कुराकानी भएको नेकपा (एमाले)का सचेतक महेश बर्तौलाले जानकारी दिए । प्रधानमन्त्रीले १२ बुँदे समझदारी निर्माणमा महत्वपूर्ण भूमिका खेलेका पार्टीहरूका बीचमा समसामयिक राजनीतिक परिवेश लगायतबारे छलफल भएको उनकाले बताए । 



कांग्रेसका प्रवक्तासमेत रहेका अर्थमन्त्री प्रकाशशरण महतले शान्ति प्रक्रिया छिटो टुंग्याउनेलगायत राष्ट्रिय मुद्दाहरूमा साझा धारणा बनाउन बैठक गरिएको बताए। उनले अहिलेको व्यवस्थाप्रति कतैबाट पनि त्रास नरहेको दाबी गरे।



  • प्रकाशित मिति : कात्तिक २१, २०८० मंगलबार १७:४५:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया