logo-img

झलनाथ खनाललाई प्रश्न- के एमालेमा फर्किन लाग्नुभएको हो ? [अन्तर्वार्ता]

पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल अहिलेको सत्ता गठबन्धनप्रति त्यति सन्तुष्ट छैनन् । अझै पनि उनी असफल साबित भइसकेको वाम एकताकै वकालत गरिरहेका छन् । कांग्रेसले आफूलाई चियापानमै नबोलाएकोमा उनलाई चित्त दुःखेको छ । तर, उनलाई पूर्वपार्टी एमालेले भने चियापानमा निमन्त्रणा गर्यो । चियापानमा उनी एमाले अध्यक्ष केपी शर्मा ओलीसँगै देखिए । ओलीसँगको भेटपछि झलनाथ कतै एमालेमा फर्किन लागेका होइनन् कि भन्ने आशंका उब्जिएको छ । प्रस्तुत छ, तीनै खनालसँग एमालेमा फर्किन सकिने सम्भावना, समसामयिक राजनीतिक विषयवस्तु, गठबन्धनको कार्यशैलीलगायत विषयमा केन्द्रित भएर गरिएको कुराकानीको अंश : 

‘हामी यहाँ छौँ’ भनेको दिनदेखि आजसम्म आइपुग्दा पनि हामी कहाँ छौँ, के गर्‍यौँ भन्ने प्रश्नले घोच्छ कि घोच्दैन ?  

घोच्छ र घोच्नु पर्छ । किनभने जतिबेला पार्टीमा विद्रोह भयो । त्यो विद्रोह हाम्रो चाहनाको कुरा होइन । विद्रोह नभएको भए बडो राम्रो हुन्थ्यो । त्यो दुई तिहाइ बहुमत भएको पार्टी नेकपा त्यो बचाउन सकेको भए यो देशको भाग्य नै अर्को हुन्थ्यो । किनभने त्यो दुई तिहाइ बहुमत प्राप्त भएको पार्टी भनेको नेपालको निम्ति एउटा अन्त्यन्तै शक्तिशाली पार्टी थियो र विराट सम्भावना अगाडि भएको पार्टी थियो । उसका कर्तव्यहरू हेर्ने हो भने असाध्यै धेरै चिजहरू उसले गर्न सक्थ्यो । उसले यो देशमा भूमि सुधार गर्न सक्थ्यो, कृषि क्रान्ति गर्न सक्थ्यो । देशमा राष्ट्रिय औद्योगिकरणको एउटा लहर सिर्जना गर्न सक्थ्यो । शिक्षामा स्वास्थ्यमा आज हेर्नुस् त यस्तो बेहाल छ । व्यापक सुधार गर्न सकिन्थ्यो, गरिबी उन्मूलन गर्ने कार्यक्रम लागू गर्न सकिन्थ्यो, आज राष्ट्रियतामाथि यो खालका तरङ्गहरू पैदा भइरहेका छन्, खतराहरू पैदा भइरहेका छन्, यसलाई सुदृढ गर्नेतर्फ कदम चाल्न सकिन्थ्यो । 

कहाँ–कहाँ भयो त कमजोरी ? 

हामीले पारवहन सुविधाको भारतसँग कत्रो लडाइँ लड्नुपर्‍यो, म ०२३ सालदेखि लडेको थिएँ, विद्यार्थीकालदेखि यता चीनबाट पनि हामीले सुविधा प्राप्त गर्नुपर्ने हो एउटा प्रोटोकलत भयो तर व्यावहारिकरूपमा छैन । त्यसका आधारहरू, पूर्वाधारहरू बनेकै छैन । यी सबै कुराको सम्भावना तुहिए, त्यसकारणले त्यो तुहिइसकेपछि विद्रोह भयो र विद्रोहबाट एकदम धेरै क्रान्तिकारी पार्टी, सही कार्यनीति, दिशा, सिद्धान्त भएको पार्टी, एउटा राम्रो लक्ष्य भएको पार्टी बनाउनुपर्छ भन्ने मलाई लाग्या थियो । तर, यो दुई वर्षको हाम्रो जुन यात्रा छ, त्यो यात्रामा त्यस हिसाबले अगाडि बढ्न सकेनौँ र कतिपय नीतिहरूमा नै हाम्रो कमजोरी भए, त्यो कारणले गर्दा स्थानीय चुनावमा, राष्ट्रिय चुनावमा अपेक्षित सफलता होइन, बरु हामीले प्राप्त गर्ने सफलता पनि गुम्यो, त्यो कारणले तपाईँले भनेको सही हो । हामी कहाँ छौँ भन्ने प्रश्न अथवा, तिमीहरू कहाँ छौँ भनेर कसैले भन्यो भने यो प्रश्नको बारेमा केही समय हामीले सोच्नुपर्ने हुन्छ । यसको जवाफ हामीले नै दिने हो र अब हामीले दिने भनेको यो दुई वर्षको राम्रो समीक्षा गर्नुपर्छ, कमीकमजोरी कहाँ भयो त्यसलाई सच्चाउनुपर्छ र अहिलेको राष्ट्रिय, अन्तर्राष्ट्रिय परिस्थितिको ठोस विश्लेषण गर्नुपर्छ ।

हाम्रो यति बेलाका कार्यदिशा, नीति, सिद्धान्त, लक्ष्य र कार्य नीति के हुन्छन् भन्दा एकदम व्यवस्थितरूपले हामीले अगाडि सार्नुपर्छ र हिजोका घटनाक्रमहरूको मूल्यांकन गर्नुपर्छ । पार्टी विभाजनदेखि लिएर सबै कुराहरू मूल्यांकन गर्नुपर्छ । यो लेफ्ट लिडरहरूको बीचमा जुन पानी बाराबारको अवस्था देखिन्छ नि यो पानी बाराबार आफैं खतरनाक कुरा हो । कुनै पनि लिडरहरूको बीचमा पानी बाराबार जरुरी छैन । चाहे लेफ्ट होस् चाहे राइट होस् त्यो जरुरी छैन । त्यसमाथि लेफ्टहरू एक स्थानमा आउने मात्र हो भने पनि देशको परिस्थिति बेग्लै हुन्छ नि त्यसकारणले मलाई लाग्छ, फेरि पनि लेफ्टका लिडरहरूले रि–थिङ्क गर्नुपर्छ कहाँ–कहाँ कमीकमजोरी भए आफ्ना कमीकमजोरीलाई लाज नमानिकन सच्याउनु पर्छ । मैले गरेको छ भने मैले सच्याउनु पर्छ, केपी ओली तथा माधव नेपालले गरेको भए उहाँले सच्याउनु पर्छ । पुष्पकमल दाहालले गरेको भए उहाँले सच्याउनु पर्छ ।



कम्युनिस्टहरूलाई एक बनाउन शीर्ष नेताहरूसँग तपाईंले के आग्रह गरिरहनुभएको छ ? 

मैले आइएसी परीक्षाको परीक्षाफल निस्किएको बेलुकी राति १२ बजे जुन संकल्प गरेँ, म त्यो संकल्पमा अहिले पनि दृढ छु । कतिपय साथीहरूका खुट्टा चिप्लिरहेका छन् । उहाँहरूका अडानहरू परिवर्तन भइरहेका छन् । त्यो बदलिरहेका अडानहरूको बीचबाटोमा ती साथीहरूलाई फेरि पनि ठाउँमा आउन, ल्याउन आफ्नो खुट्टाहरू रलेफ्टहरूको एउटा विराट मोर्चाबन्दी गरौँ जसले गर्दा यो देशलाई अगाडि बढाउनका लागि एउटा नयाँ आधार, वैचारिक आधार र राजनीतिक आधार तयार हुन्छ । किन तपाईँहरू यस बारेमा सोच्नु हुन्नके ले रोकेको छ तपाईँहरूलाई, किन यस्तो आग्रह पूर्वाग्रह पाल्नु हुन्छ । बदलिऊँ न मैले भन्न खोजेको कुरा यो छ । 



नेताहरूको अहिलेको गतिविधिले आगामी निर्वाचनमा कस्तो प्रभाव पार्ला ? 

यी नेताहरू जतिबेला दुई तिहाइ बहुमतका नेता थिए नि त्यतिबेलाको यश, सम्मान, सम्भावनाहरू, जसको वरिपरि उनीहरू थिए नि जसको बीचमा थिए उनीहरू आज त छैन । आज कसैले कसैसँग गएर अंकमाल गर्नु परेको छ । विचार नमिले पनि जबरजस्त मिलाएजस्तो गर्नु परेको छ । भविष्यमा के हुने हो, भविष्य अनिश्चित छ । भोलिको चुनावले बडारिदिने पो हो कि, उनीहरू प्रत्येकका टाउकोमा यो घन्टी बजिरहेको छ । यी नेताहरूलाई घण्टी भनेको मैले साहित्यिक घण्टी हो, त्यो उहाँहरूको घण्टी चाहिँ होइन, तर जे भए पनि यो घण्टीले उहाँहरूलाई अलिकति नयाँ चेत दिन्छजस्तो मलाई लाग्छ । एकै दिनमा होइन, विस्तारै यसबाट अलिकति समय लाग्छ ।

एमालेको चियापानमा ओलीसँगको भेटमा तपाईँको हाँसोलाई कसरी बुझ्ने ? के एमालेमा फर्किन लाग्नु भएको हो ? 

त्यही एउटा भेटघाट र एउटा हाँसोले फरक संकेत त गर्दैन, मैले त्यस दिन केपी ओलीसँग मेरो भेट भयो धेरै लामो समयपछि भेट भयो, केपी ओली भनेको २६ सालदेखिको मेरो साथी पनि हो । उहाँसँग कैयौँ कुरामा मतभेद छ, तैपनि मित्रता त मित्रता नै होनि होइन र, यो तपाईँ र मेरोबीचको जुन मित्रता छ, यसलाई अझ गहिरो, राम्रो, घनिष्ठ बनाउन पाए हुन्थ्यो भन्नेपर्छ भन्ने लाग्छ नि । यस्तै लिडरहरूसँगको सम्बन्धलाई राम्रो सधैं बनाउन सक्नुपर्छ । 

कांग्रेसले चाहिँ तपाईँलाई चियापानमा किन बोलाएन होला ? 

म कसैसँग आग्रहपूर्वाग्रह राख्दिन । देउवाजीसँग जाँदा पनि त्यसरी हाँस्ने हो, शेखरजीसँग गए भने पनि त्यही हो, किशुनजीसँग त हाम्रो हरेक दिन हाँसो हुन्थ्यो, उहाँ मजाक गरिरहने मान्छे, मैले अस्ति केपीजीलाई पनि के भनेको भने भेटमा आज तपाईँ कतिवटा मजाक गर्नुहुन्छ भनेको उहाँ हाँस्नु भयो म पनि हाँसे । अब अरूको निम्ति खास भइहाल्यो । यो चियापान संस्कृति पछिल्लोकालमा मनमोहन अधिकारीजीले सुरु गरेको हो । यो संस्कृतिलाई विकास गर्नुपर्छ भन्ने मलाई लाग्छ । यसले अरू केही नगरे पनि राजनीतिज्ञहरूलाई एकआपसमा नजिक आउन भेट गर्न, ठट्टा गर्न, विचारको आदानप्रदान सहयोग हुन्छ भन्ने मलाई लाग्छ । कहिलेकाहीँ हुन्छ फेरि, त्यसकारणमलाई फोन गरेर गएको उनीहरूको कार्ड हेरेर गएको होइन । 

म यस्तो कुरालाई संस्कारको रूपमा हेर्छु, यसले सामान्य एउटा मित्रता बनाउँछ, भेट्न गाह्रो भएको मानिससँग भेट्न पनि सजिलो बनाइदियो नि, अब कुराकानी गर्न पनि सजिलो हुन्छ । यसले यहाँ त चिया खाइयो अब त्यहाँ बसेर पनिखाउँ न त भन्ने हुन्छ । जस्तो मैले अब केपी ओलीलाई कतै चिया खान आउनु न भनेर बोलाएँ भने होइन, आउँदिन भन्न मिल्दैन नि । त्यसो हुनाले सविस्तार अर्को चियापानमा मजाले कुराकानी गर्न सक्छौँ । यसरी एउटा सुरुवात हुन्छ, यो सामान्य मित्रता हो, यहाँबाट यसलाई अगाडि बढाउने हो भने भोलि गएर पार्टीहरूको बीचमा एकआपसमा कुराकानी हुने, विचार आदानप्रदान हुने अनि हाम्रो बीचका एकता के छ, फरक के छ त्यसलाई केलाउन पाउने, साझा आधारमा उभिएर एकताका आधारहरू पहिलाउने, जसले वास्तवमा जनतालाई हेर्छ, हाम्रो लक्ष्य भनेको मित्रता बढाउने मात्रै होइन, यो मित्रतामार्फत देश रजनताको सेवा गरौँ, देशलाई समाजवादको दिशातर्फ लैजाउँभन्ने हो ।  

मैले यो कसरी हेर्छु भने कसैले हामीलाई चियापनमा बोलायो जस्तो कांग्रेसले मलाई बोलाएन । यसपालि बिर्सियो, या निम्तो मिसप्लेस भयो, या बोलाउन चाहेन । जे होस् उनीहरूले बोलाएनन् । मलाई त्यहाँ बोलाएको भए देउवाजीसँग हात मिलाएर त्यही मुस्कान दिन्थेँ होला । 

  • प्रकाशित मिति : कात्तिक २२, २०८० बुधबार १०:४०:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया