logo-img

बागमती प्रदेशमा कृषिबाटै खान नपुग्ने परिवार ५६ प्रतिशत

बागमती प्रदेशमा ५५ दशमलव नौ प्रतिशत परिवारलाई कृषिको आम्दानीले खानसमेत नपुग्ने गरेको पाइएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले जारी गरेको कृषि गणना २०७८ को प्रतिवेदनअनुसार यस प्रदेशमा ५५ दशमलव नौ प्रतिशतलाई कृषिको आम्दानीले खानसमेत नपुग्ने देखिएको हो । 

कृषि पेसा गर्ने र त्यसको आम्दानीले खान पुग्ने परिवार भने प्रदेशमा ४४ दशमलव एक प्रतिशत मात्र छन् । नेपालमा भने कृषिमै आश्रित भएर पनि यसको आम्दानीले खान नपुग्ने ५५ प्रतिशत रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक बद्रीकुमार कार्कीले बताउनुभयो । 

बागमतीमा ७२ दशमलव छ प्रतिशत परिवारको आम्दानीको मुख्य स्रोत कृषि रहेको छ । सार्वजनिक गरिएको तथ्याङ्कअनुसार पुराना प्रविधि हराउँदै गएको छ । फलामे हलोको प्रयोग घटेको छ भने ट्याक्टर र पावररट्रिलर प्रयोग गर्नेको सङ्ख्यामा वृद्धि भएको छ । चौध दशमलव आठ प्रतिशत फलामे हलो, ३० दशमलव आठ प्रतिशत ट्याक्टर र १६ दशमलव सात प्रतिशत पावरट्रिलर प्रयोगकर्ता रहेको निर्देशक कार्कीले बताए । 

तीन दशकमा नेपालमा कृषक परिवार सङ्ख्या र कृषकले भोग चलन गरेको जग्गामा वृद्धि भए पनि सरदर दुई पटक मात्र बाली लगाएको देखिन्छ । यस प्रदेशमा १५ लाख ७० हजारभन्दा बढी  घरपरिवार रहेकामा छ लाख ६८ हजार १७७ कृषक परिवार रहेको र दुई लाख ८२ हजार २९२ हेक्टर जमिन कृषिमा  प्रयोग भएको उनले जानकारी दिए । 

नेपालमा सरदर एक दशमलव ९१ प्रतिशत बाली सघनता रहे पनि प्रदेशमा भने दुई प्रतिशत अर्थात् दुई पटकसम्म बाली लगाएको पाइएको निर्देशक कार्कीले जानकारी दिए । उनका अनुसार प्रदेशमा बगैँचाको रूपमा आँप ५३२ हेक्टरमा, केरा एक हजार १२० हेक्टरमा, सुन्तला ६८८ हेक्टरमा, कागती ४६० हेक्टरमा, स्याउ ८० हेक्टरमा लगाइएको छ । त्यस्तै प्रदेशमा गाई भैँसी पालन घट्दो छ । 

२०६८ को गणनादेखि नै  यसको क्रम घट्दो देखिन्छ ।  गाई गोरु र राँगाभैँसीभन्दा खसी बाख्रा, सुँगुर र बङ्गुर पाल्नेको सङ्ख्या भने धेरै वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ । प्रदेशमा उत्पादन गरिएको वस्तु सबै घरायसी उपभोग गर्ने ६६ दशमलव चार प्रतिशत कृषक छन् भने केही वस्तु बिक्री गर्ने २५ प्रतिशत, केही घरायसीका लागि राखी सबै बिक्री गर्ने सात दशमलव चार प्रतिशत र सबै वस्तु बिक्री गर्ने शून्य दशमलव नौ प्रतिशत रहेका छन् । 



 युवाहरू बिदेसिने भएका कारण पनि नेपालमा पछिल्लो समय कृषिमा महिलाको सङ्ख्या बढ्दो छ । विगत तीन दशकदेखिको नतिजा हेर्दा अहिले महिला कृषकको सङ्ख्या वृद्धिभएको निर्देशक कार्कीले बताए । नेपालमा ३२ दशमलव चार प्रतिशत महिला कृषक छन् भने बागमती प्रदेशमा मुख्य कृषकको रूपमा महिला ३७ दशमलव दुई प्रतिशत र पुरुष ६५ दशमलव आठ प्रतिशत रहेका छन् । विसं२०५८ को गणनामा महिला आठ दशमलव एक प्रतिशत र पुरुष ९१ दशमलव नौ  प्रतिशत कृषक थिए ।  

किसानको मुख्य चिन्ता भने समयमै मल, बीउ उपलब्ध नहुनुमा छ । कृषि गणनामा सहभागीमध्ये ५७ प्रतिशतले समयमै मल, बीउ उपलब्ध भए उत्पादन बढाउन सकिने  बताए । त्यस्तै ४८ प्रतिशतले सिँचाइको व्यवस्था, २७ प्रतिशतले कृषि कार्यका लागि तालिमको व्यवस्था, २७ प्रतिशतले कृषि प्राविधिक सेवा सहज, २२ प्रतिशतले कृषि औजार एवं आधुनिक साधन, १८ प्रतिशतले उन्नत नस्ल सुधार र उन्नत वीउबीजन, १२ प्रतिशतले कृषि उत्पादनको उचित बजार व्यवस्था र ११ प्रतिशत कृषकले शून्य ब्याजदर वा सस्तोमा ऋण उपलब्ध गराउन सुझाव दिएको प्रतिवेदनमा उल्लेख छ । 



  • प्रकाशित मिति : कात्तिक २२, २०८० बुधबार १५:३०:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया