logo-img

प्रथम वीरगञ्ज गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा

त्रिभुवन आर्मी क्लब पर्साको वीरगञ्जमा जारी प्रथम वीरगञ्ज गोल्डकप २०८० को फाइनलमा प्रवेश गरेको छ । 
    
वीरगञ्जस्थित आदर्शनगर रंगशालामा आज सम्पन्न दोस्रो सेमिफाइनलमा संकटा क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै आर्मीले फाइनलमा अर्को विभागीय टिम नेपाल पुलिस क्लबसँगको भेट पक्का गरेको हो । 

अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफको २२औँ मिनेटमा आर्मीका रिपु भुलनले हेडमार्फत गोल गर्दै टिमलाई अग्रता दिएका थिए ।

त्यसपछि दुवैतर्फबाट भएका प्रहार रक्षापंक्तिका खेलाडीले जोगाएका थिए । आजको खेलमा निर्णायक गोल गरेका आर्मीका भुलन प्लेयर अफ दी म्याच घोषित भएका छन् । उनले क्वेस्ट फर्मास्युटिकलको तर्फबाट रु १० हजार पुरस्कार प्राप्त गरे । 
 
अब आर्मी क्लबले कात्तिक २५ गते हुने फाइनलमा नेपाल पुलिस क्लबको सामना गर्ने आयोजक क्लबका अध्यक्ष सुबिन बस्नेतले जानकारी दिए । 

मधेस प्रदेशकै ठूलो पुरस्कार राशिको जारी ‘प्रथम वीरगञ्ज गोल्डकप २०८०’ मा प्रतियोगितामा नेपालका त्रिभुवन आर्मी क्लब काठमाडौं, नेपाल पुलिस क्लब काठमाडौं, संकटा क्लब काठमाडौं, चर्च ब्वाइज युनाइटेड नवलपरासी, झापा एफसी झापा, आयोजक वीरगञ्ज भेट्रान सिटी क्लब तथा भारत कोलकाताको क्लाइभ हाउस डमडम र दिल्लीको एफसिआई नर्थजोन फुटबल टिम नोएडा गरी आठ टिमको सहभागिता रहेको छ । 

वीरगञ्ज महानगरपालिका मुख्य प्रायोजक रहेको प्रतियोगिताको उपाधि जित्ने विजेता टिमलाई नगद ११ लाख ११ हजार एक सय ११ र उपविजेता टिमलाई नगद पाँच लाख ५५ हजार पाँच सय ५५ पुरस्कारसहित ट्रफी, प्रमाणपत्रलगायत प्रदान गरिने अध्यक्ष बस्नेतले बताए । 

त्यस्तै, प्रत्येक खेलको प्लेयर अफ दी म्याच घोषित हुने खेलाडीलाई नगद १० हजार, विधागततर्फ उत्कृष्ट हुने खेलाडी जनही २० हजार र प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीलाई नगद ५० हजार पुरस्कार प्रदान गरिने उनको भनाइ छ ।





  • प्रकाशित मिति : कात्तिक २३, २०८० बिहीबार २२:४१:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया