logo-img

नेपाल संवतकाे भ्रम निवारण

पर्दाभित्र मान्छे छ भनेर थाहा भए पनि को मान्छे छ थाहा नभए झैँ पर्दाले छेकिएको नेपाल संवतकाे पनि वास्तविक स्वरूप थाहा नभएर अनेकौं अडकलबाजी मात्र गर्दै आएको पाइन्छ । यस्तो अड्कलबाजी एउटा/दुईवटा मात्र होइन, अनगिन्ती छन् । तीमध्ये मुख्य-मुख्य केही यहाँ औँल्याउन खोजिएको छ ।

नेपाल संवतकाे नामकरण नेवारले गरेको होइन

कतिपय स्वदेशी तथा विदेशी लेखक तथा इतिहासकारहरूले बिनाप्रमाण नेपाल संवतलाई नेवार संवत् भनेर लेखी दिए । वास्तवमा यो एक प्रकारको बाक्लो पर्दा भन्न सकिन्छ । सुरुमा नेपाल संवत केवल संवत मात्र भनेर प्रचलन हुन आयो । लिच्छवीकालमा चलेको संवत पनि यस्तै गरी संवत मात्र भनेर प्रचलन भएको अभिलेखहरूबाट स्पष्ट हुन्छ ।

नेपाल संवत १४८ पुग्दा अष्टसाहश्रिका प्रज्ञापारमिता ग्रन्थ लेखिँदा नेपाल संवतसर भनेर उल्लेख गरियो । संस्कृत भाषामा लेखिएको उक्त ग्रन्थकार नेवारै हो भन्ने प्रमाण छैन । नेपाल संवतसर भन्ने शव्द पनि नेवारी शब्द होइन । नेपाल भन्नाले नेवारसहित अरु सकल जातजातिको देश हो ।

यी सकल जातजातिले अपनत्व गरेको हुनाले नेपाल संवतसर कहलिएको हो । यो प्रज्ञापारमिता कलकत्तामा बस्ने एसके सरस्वती भन्ने व्यक्तिको संग्रहमा छ भनी धेरै लेखकहरूले उल्लेख गर्ने गरेका छन् ।

राष्ट्रिय अभिलेखालयमा रहेको शिव धर्मशास्त्र राजा रुद्रदेवको पालामा श्री रामाद्वहय भन्ने व्यक्तिले संवत २९० मा लेखेको भनी दिइएको छ । यसमा संवत २९० लाई नेपाल संवतसर २९० भनेर उल्लेख गरेका छन् । यसमा पनि राजा रुद्रदेव र ग्रन्थका लेखक श्रीरामाद्वहय भन्ने व्यक्ति नेवारै हो भन्ने प्रमाण छैन । नेपाल संवतसर शव्द पनि नेवार शव्द होइन ।



एक शैवाचार्य श्रीधरराज गुरुणाले लेखेको एउटा सन्दर्भ लुसियानो पेतेकले उल्लेख गरेका छन् । त्यसमा संवत ३०४ लाई नेपाल देशीय संवत भनेर उल्लेख गरेका छन् ।

शैवाचार्य श्रीधरराज गुरु नेवार थिए भन्ने प्रमाण छैन । यदि उनी नेवार भए नेपाल देशया संवत ३०४ भनेर लेख्थ्य होला ।  यसमा संस्कृतमा नेपाल देशीय संवत भनेको त्यो बेला सकल नेपालीले अपनत्व गरेको भएर नै नेपाल देशीय भनेको भन्ने स्पष्ट हुन्छ ।



संवत ३६६ मा राजा अभय मल्लको पालामा लेखिएको एक सन्दर्भमा नेपाल देशीया भिलिख्यमान ३६६ भनेर उल्लेख छ । राजा अभय मल्ल नेवार थिए भन्ने पनि प्रमाण छैन र नेपाल संवतलाई जनाउने विशेष वाक्यांश नेवारी भाषामा छैन । यसले पनि सम्पूर्ण नेपालीले अपनत्व गरेको नेपाल संवत भएकोले यो विशेषण दिइएको हो भन्ने स्पष्ट छ ।

संवत ५०६ मा राजा जयस्थिति मल्लको पालामा लेखिएको एक सन्दर्भमा नेपालिक अब्द श्रीमान् नेपालिक संवतसर ५०६ भनेर उल्लेख गरिएको छ । राजा जयस्थिति मल्ल नेवार थिए भन्ने कुनै प्रमाण छैन । नेपाल संवतकाे यो लामो विशेषण संस्कृत भाषामा छ नेवारी भाषामा होइन ।​​

संवत ५२६ को पाटन सुन्धाराको राजा धर्म मल्लको शिलालेखमा नेपाल संवतलाई श्रीवर्षः नैपालिकः श्रेयोस्तु संवत ५२६ भनेर उल्लेख गरिएको छ । राजा धर्म मल्ल नेवार नै थिए भन्ने प्रमाण पनि छैन । त्यतिबेला राष्ट्रिय भाषा नेवारी हुन सक्ला तर राजा नेवार हुँदैमा सकल प्रजा नेवार नै हुन जान्छ भन्ने प्रमाण पनि छैन ।

यदि नेपाल संवतकाे यति लामो विशेषण नेवारी भाषामा नभई संस्कृतमा छ । वास्तवमा नेपाल संवत तात्कालीक समयमा सकल नेपाली जातजातिको साझा संवत थियो भन्ने कुरामा विवाद छैन ।

संवत ७९० को रानीपोखरीको चारसुरमा रहेको राजा प्रताप मल्लको देवनागरी लिपिको शिलालेखमा शिलालेखको पाठ लेख्ने पण्डित कुनैमा श्रीकृष्ण मिश्र छ भने कुनैमा वशिष्ठ शर्माको नाम उल्लेख छ ।

यसमा राजा प्रताप मल्लले देवनागरी लिपि र नेपाली भाषा प्रयोग गरेका छन् । यसरी भाषा प्रयोगको आधारमा राजा नेवारै हो पनि भन्न मिल्दैन र खस नै हो पनि भन्न मिल्दैन । यसमा नेपाल संवत्लाई केवल संवत मात्र भनिएको छ । साथमा नेपाल संवतसँग ८०२ वर्ष अन्तर रहेको लिच्छवी संवत १५९२ समेत उल्लेख गरिएको छ ।

मल्लकालमा लिच्छवी संवत्लाई शाके संवत भनेर प्रयोग गर्ने गरिएको छ । कतिपय लेखक तथा इतिहासकारहरूले शक संवत भन्नु र शाके संवत् भन्नु एकै हो जस्ता भ्रम फैलाइआएको पाइन्छ ।

वास्तवमा यो एक प्रकारको गम्भीर भूल थियो भन्ने कुरा ती लेखक तथा इतिहासकारहरू अहिलेसम्म पनि सकार्ने त परै जावस्, महसुससम्म पनि गर्ने गरेको देखिएको छैन ।

हुन त यो महसुस गर्न कुनै गाह्राे कुरा पनि छैन । किनभने नेपाल संवत सुरु हुँदा शक संवत् ८०१ कार्तिक र लिच्छवी संवत ८०३ कार्तिक भएकाले नेपाल संवत १ भनेको शक ८०१ को कार्तिकदेखि शक ८०२ को असोजसम्म रहने भएकाले शक र नेपाल संवतबीचकाे अन्तर ८०० र ८०१ हुने निश्चित भएको हो ।

नेपाल संवत पनि कार्तिकादी र लिच्छवी संवत पनि कार्तिकादी भएकाले जसरी नेपाल संवत कात्तिकदेखि असोजसम्म १ भए जस्तै लिच्छवी संवत पनि ८०३ भएकाले यी दुईको अन्तर ८०२ हुने निश्चित भएको हो ।

यसैको परिधिमा रहेर तुलना गर्दा शक संवत् र लिच्छवी संवत एउटै होइन भन्ने पनि स्पष्ट हुन्छ । अतः शक र शाके पनि एकै होइन भन्ने पनि स्पष्ट हुन्छ । यस प्रकार नेपालमा चलेको संवतकाे विषयमा अनेकौं पर्दा हाल्दै आएकाले संवतकाे कुरा आयो कि दिशाविहीन भएर दिग्भ्रमित हुने गरेको पाइन्छ ।

नेपाल संवत्को नामकरण नेवारले गरेको होइन

पहिलो कारण नेपाल संवतसित बालुवा सुन भएको कपोलकल्पित कथा जोड्न ल्याई दिएकाले नेवारमध्ये अधिकांशलेबाहेक यो कथालाई आत्मसाथ गरेनन् । तब ती समूह बाहेक अरूले यो संवत हाम्रो पनि हो भनेर अपनत्व गर्न छोडिदिए । दोस्रो कारण नेपाल संवतलाई ऋणमुक्त संवत् भनी दिएकाले नेवारमध्ये केही समूहले बाहेक अरूले आत्मसात गर्न छोडिदिए ।

त्यसमाथि ऋणमुक्त भएको उपलक्ष्यमा म्ह:पूजा गरेको भन्न थाले । पछि नेवारमध्ये धेरैले नेपाल संवतलाई मात्र होइन, म्ह पूजालाई समेत बहिस्कार गर्दै आए । अहिले नेवार जातिभित्र पनि म्ह पूजा गर्न नपर्नेहरू धेरै छन् । यसको मतलव जो ऋणी थिए ती समूह ऋण मुक्त भएको हुनाले ती सीमित वर्गले अपनत्व गरेको संवत भनेर अर्थ लगाए ।

तेस्रो कारण नेपाल संवत्लाई शङ्खधरकृत नेपाल संवत भनी दिएकाले नेवारमध्ये केही समूहले बाहेक अरूले आत्मसात गर्न छोडिदिए । वास्तवमा नेपाल संवतलाई गौरवमय बनाउन शङ्खधर साख्वा नाम गरेको साहुले आफनो अपार सम्पत्ति उत्सर्ग गरी धेरैको ऋण मुक्त गराईदिए ।

नेपाल संवतकाे नयाँ वर्ष लागेको उपलक्ष्यमा ऋण मुक्त कार्यक्रम गरेको कुरालाई उल्टोपारी ऋणमुक्त गरेर नेपाल संवत सुरु गरेको भनेर अर्थ लगाए । चौथो कारण शङ्खधर साख्वालाई बालुवा सुनमा परिणत भएको कपोलकल्पित कथाको एक मुख्य पात्र बनाए । मल्लकालमा बालुवा सुनमा परिणत भएको कथाको कुनै नामोनिशान केही पनि छैन ।

राणाकालमा रचना भएको भाषा वंशावलीलगायत केही वंशावलीले यो कथालाई बडो मलजल गराई दिएपछि इतिहास भनेको के हो ? इतिहासका स्रोत प्रमाण भनेको के हो ? त्यो केही नबुझ्ने सीमित नेवार समुदायले बाहेक अरूले यो कथालाई आत्मसात गर्न छोडिदिए । केही समूह मल्लकालको शिलालेखमा पनि शङ्खधरको नाम देखियो भनेर मिथ्या अफवाह फैलाउन भरमग्दुर प्रयास गर्दै आएको पनि देखापरेको छ ।

उनीहरूको हेतुमा नेपाल संवत ऋणमुक्त संवत् नै हो र शङ्खधरकृत नेपाल संवत नै हो भन्ने प्रयासमा जुटी आएका छन् । वास्तवमा उनीहरूको यो दुष्प्रयास सूर्यलाई हातले छेके जस्तै मात्र हो । किनभने नेपाल संवत ८२९ को अभिलेखलाई एकातिर मिल्काएर त्यसलाई ८२७ को कृत्रिम अभिलेख तयार गरेर मिथ्या प्रचार गर्दै आएको रहस्य अहिले उद्घाटन भइसकेको छ ।

निष्कर्ष

समग्रमा भन्नुपर्दा नेपाल संवतकाे विषयमा यस्ता अनेकौं अनेक जाल प्रपञ्च रचना गर्दै आएको र यो संवत  सीमित नेवार समुदायको एकलौटी संवत भन्न भनाउन खोजिएका छन् ।

वास्तवमा नेपाल देश सम्पूर्ण नेपालीको देश हो । मल्लकालसम्म यो नेपाल संवत सम्पूर्ण नेपालीको साझा संवत भएर रह्याे पछि राजाको वंश परिवर्तन भएसँगै नेपाल संवतलाई अनेकौँ मिथ्या सन्दर्भ जोडेर ओझेलमा पार्ने प्रयास जारी रहे ।

अफसोचका साथ भन्नु पर्दछ कि नेवार समुदायले जसरी हुन्छ नेवारको संवत भन्न/भनाउन बडो लालायित देखाई आए । नेवारबाहेकका अरु समुदाय चाहीँ झन्झन् नेपाल संवतलाई आफ्नो पनि हो भन्ने सोच विकास गर्ने तिरभन्दा पर पन्छिनेतर्फ उन्मुख हुँदै गए । आज आएर नेपाल संवतले नचाहँदा नचाहँदै यो दुर्गती भोग्दै आउनुपरेको छ ।

(लेखक राजवंशी इतिहास तथा पुरातत्वविद् हुन् ।)

  • प्रकाशित मिति : कात्तिक २६, २०८० आइतबार १५:२८:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया