logo-img

‘चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ’

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शिक्षा ऐन छिट्टै संशोधन गरिने बताएका छन् । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका-१० चण्डेनीमण्डन स्वास्थ्यचौकी भवनको उद्घाटन गर्दै उनले आफ्नै मुलुकमा चिकित्सक र नर्स बन्न धेरै रकम तिरेर विदेश जान नपर्ने अवस्था सिर्जना गरिने बताए ।

उनले भने, ‘वर्षौँदेखि रोकिएको काम अब सुरु गर्छौँ । पढाइसँगै रोजगारीको व्यवस्था पनि यहीँ गर्छौँ ।’ एकातिर गाउँमा महिला स्वास्थ्य स्वयंसेविका सधैँभरि स्वयंसेवी भएर बस्नुपरेको र अर्कोतिर लाखौँ रूपैयाँ खर्च गरेर पढेका चिकित्सक र नर्स विदेश पलायन भइरहेको अवस्थामा सरकारले त्यसलाई व्यवस्थित गर्ने उनले बताए ।

वर्तमान अवस्थामा मुलुकमा ४८ हजार नर्स र पाँच हजार चिकित्सक आवश्यक रहेको मन्त्री बस्नेतको भनाइ छ । उनले भने, ‘हालसम्म ३१ हजार नर्स र झण्डै एक हजार मात्र चिकित्सकको दरबन्दी रहेको छ ।’

सो अवसरमा मन्त्री बस्नेतले स्वास्थ्यचौकीका लागि आवश्यक पर्ने उपकरण दुई महिनाभित्रमा उपलब्ध गराउने बताए । कार्यक्रममा मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाइबाले विकट बस्तीका नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउन चण्डेनीमण्डनको चण्डेनीडाँडा र ज्याम्दीको रामपुरमा स्वास्थ्य केन्द्र स्थापना गरी भवन, स्वास्थ्यकर्मी र औषधीको व्यवस्थापन नगरपालिकाले गर्दै आएको बताए ।

जोगिटारस्थित स्वास्थ्य चौकीलाई प्राथमिक स्वास्थ्य केन्द्रका रूपमा स्तरोन्नति गरी आवश्यक दरबन्दी र उपकरण व्यवस्थापन गर्न उनले मन्त्री बस्नेतसँग आग्रह गरे ।

नगरपालिकाका उपप्रमुख विष्णुमणि नेपालले भूकम्पपछि स्वास्थ्य चौकी भवन जीर्ण भएपछि कोरियाको रेडक्रसको सहयोगमा निर्माण गरिएका दुई भवनबाट सेवा दिँदै आएकामा अहिले भारत सरकारको सहयोगमा नयाँ सुविधा सम्पन्न भवन निर्माण गर्न सफल भएको बताए ।





  • प्रकाशित मिति : कात्तिक २७, २०८० साेमबार १३:१६:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया