logo-img

नेता निधिद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले भेटेर महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रको गठन आदेश शीघ्र जारी गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । 

नेता निधिको अनुरोधप्रति आफू सकारात्मक रहेको बताउँदै प्रधानमन्त्री दाहालले यथाशीघ्र गठन आदेश जारी गर्ने आश्वासन दिएको निधिको निजी सचिवालयले जनाएको छ । यसैगरी उनले राजर्षी जनक विश्वविद्यालयको केन्द्रीय कार्यालयका लागि जग्गा प्राप्ति अन्तिम चरणमा रहेकाले त्यससम्बन्धी निर्णय गर्न पनि प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएका थिए । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर भ्रमणका क्रममा जनकपुरको विकासका लागि एक अर्ब सहयोगको प्रतिबद्धता जनाएको स्मरण गराउँदै नेता निधिले सो रकम रामजानकी अन्तर्राष्ट्रिय रंगशालामा लगानी गर्न मधेश प्रदेश सरकार र जनकपुर उपमहानगरपालिकालाई समेत सुझाब दिएको जानकारी गराए । 

भेटमा निधिले सातवटै प्रदेश सरकारको मातहतमा सुरक्षा निकाय नभएको भन्दै तत्काल त्यससम्बन्धी कानुनी प्रक्रिया पूरा गरेर प्रदेश सरकारलाई बलियो बनाउनु पर्नेमा प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएका थिए।

हिजोका दिनमा कांग्रेस प्रतिपक्षमा रहेका बेला प्रदेश मातहत प्रहरी चाहियो भनेर मधेश प्रदेशले विधेयक पारित गर्दा सरकारलाई चिसो पसेको स्मरण गराउँदै निधिले अहिले सातवटै प्रदेश सरकारले आफू मातहत प्रहरी संगठन नहुँदा काम गर्न कठिनाई महशुस गरेको जानकारी गराए। यसैगरी प्रदेशको छुट्टै निजामति कर्मचारी हुनुपर्ने भन्दै यी दुई कुरा नभएसम्म कसरी सरकार भन्न सकिन्छ भन्ने निधिको प्रश्न थियो।

उनले यससम्बन्धी आवश्यक कानुन बनाएर स्थानीय तहलाई सानातिना कामका लागि सिंहदरबार आउन नपर्ने व्यबस्था मिलाउनु पर्नेमा दाहालको ध्यानाकर्षण गराएका थिए। यसो यति काम गर्नासाथ संघीयताविरोधी शक्तिहरु आफैँ कमजोर हुने निधिको विश्वास थियो। जबाफमा प्रधानमन्त्री दाहालले यस बिषयमा आफू सकारात्मक भएको भन्दै प्रहरी ऐन तयार भइसकेको र कार्यान्वयनका बाँकी काम छिट्टै पूरा गर्ने तथा निजामति कर्मचारी सम्बन्धी ऐन बनाउने प्रतिबद्धता जनाएका थिए।



प्रधानमन्त्रीसँगको भेटमा निधिले संसद विकास कोषको रकम भूकम्प प्रभावित जाजरकोट र रुकुमका पीडितका लागि व्यवस्था गर्नु सकारात्मक काम भन्दै सरकारको प्रशंसा गरेका थिए। यसैगरी नेपाल संवतलाई राष्ट्रिय संवतको मान्यता दिएकोमा सरकारलाई उनले बधाई दिएका थिए।
 



  • प्रकाशित मिति : मंसिर १, २०८० शुक्रबार २२:२०:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया