logo-img

एक हप्ताभित्र मेलम्चीको काठमाडौं ल्याउने व्यवस्था नगरे सरकारविरुद्ध आन्दोलन गर्ने काठमाडौंवासीको चेतावनी
छिटोभन्दा छिटो खुवाउँछु : खानेपानीमन्त्री यादव

खानेपानीमन्त्री महिन्द्रराय यादवले काठमाडौंवासीलाई छिटोभन्दा छिटो मेलम्चीको पानी खुवाउने प्रतिबद्धता जनाएका छन् । काठमाडौंवासीले सो पानी एक हप्ताभित्र व्यवस्था गर्न दबाब दिइरहेका बेला उनले मंगलबार अर्थमन्त्री डा. प्रकाशशरण महतसँग छलफल गरेपछि सञ्चारकर्मीमाझ सो प्रतिबद्धता व्यक्त गरेका हुन् । 

खानेपानी उपभोक्तासँगै अर्थमन्त्री महतसँग भेट गरेका उनले त्यसका लागि आवश्यक बजेटको व्यवस्था गर्ने विषयमा अर्थ मन्त्रालय सकारात्मक छलफल भएको पनि बताए । मन्त्री यादवले फेरि उपभोक्ता, भेन्डरसहित अर्थ मन्त्रालयसँग छलफल गरेर मेलम्चीको पानी काठमाडौं ल्याउने काममा देखिएको समस्या समाधान गर्नेे आश्वासन दिए । 

यता, काठमाडौंवासीले भने एक हप्ताभित्र मेलम्चीको पानी काठमाडौंमा ल्याउने व्यवस्था गर्न सरकारलाई दबाब दिएका छन् । एक हप्ताभित्र पनि सो पानी काठमाडौं ल्याउने व्यवस्था नगरे सरकारविरुद्ध आन्दोलन गर्ने उनीहरुको चेतावनी छ । 

कोटेश्वरका स्थानीय हरि गौतमले अर्थमन्त्रीसँगको भेटमा सो पानी एक हप्ता भित्र काठमाडौं आउने गरी आवश्यक बजेटको व्यवस्था गर्न माग गरिएको बताए । गौतमका अनुसार ११ करोड, ५० लाख ६६ हजार हेलम्बुका स्थानीयले माग गरेको रकम सरकारले तत्काल उपलब्ध गराए खानेपानी ल्याउने काममा देखिएको अवरोध हट्नेछ ।

यसैबीच, हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले मेलम्चीको पानी काठमाडौं ल्याउने कुरामा हेलम्बुका स्थानीयले कुनै पनि अवरोध नगरेको स्पष्ट पारेका छन् । मंगलवार अर्थमन्त्री डा. प्रकाशशरण महतसँगको भेटपछि उनले सञ्चारकर्मीमाझ सो कुरा प्रस्टयाएका हुन् । अध्यक्ष शेर्पाले स्थानीयसँग गरेको सम्झौता अनुसारको बजेट भने तत्काल व्यवस्था गर्न पनि सरकारलाई दबाब दिए । 

अध्यक्ष शेर्पाले स्थानीयसँग गरिएको सम्झौता पूरा नगरेको भन्दै सरकारको आलोचना पनि गरे । 





  • प्रकाशित मिति : मंसिर १२, २०८० मंगलबार १८:२:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया