logo-img

हिमपातका कारण जर्मनीको म्युनिखमा सयौँ उडान रद्द, बस र रेल सेवा स्थगित

भारी हिमपातका कारण शनिबार जर्मनीको म्युनिख विमानस्थलबाट हुने करिब ७६० उडान रद्द गरिएको छ । सीएनएनले विमानस्थलका प्रवक्तालाई उद्धृत गर्दै जनाएअनुसार हिमपातका कारण म्युनिखमा बस, ट्राम र केही रेल सेवाहरू समेत बन्द गरिएको छ ।

जर्मनीको राष्ट्रिय रेलवे कम्पनी ड्युचे बानका अनुसार म्युनिखको केन्द्रीय रेल स्टेसन आगमनका निम्ति बन्द गरिएको छ । लामो दूरीका अरू यातायातका सेवा पनि स्थगन गरिएको छ ।

रेल यातायात सोमबारसम्म ‘गम्भीर रूपमा प्रभावित’ हुने पनि कम्पनीले जनाएको छ । यसबाट ठूलो संख्यामा यात्री म्युनिखको मुख्य स्टेसनमा अलपत्र परेको जर्मनीमा आधारित अखबार सुदेट्च जेतुङलाई उद्धृत गर्दै समाचार सम्प्रेषण गरिएको छ । 

शनिबार प्रहरीले म्युनिखका नागरिकलाई अत्यावश्यक नभएसम्म सवारीसाधन प्रयोग नगर्न आग्रह गरेको छ । दक्षिणी बाभेरियाका केही भागमा मानिसलाई घरबाट बाहिर ननिस्कन भनिएको पनि सीएनएनले म्युनिख प्रहरी प्रवक्तालाई उद्धृत गर्दै जनाएको छ ।

यसैबीच, बायर्न म्युनिख र युनियन बर्लिनबीच शनिबार हुने भनिएको फुटबल खेल पनि ‘सुरक्षा जोखिम र ट्राफिक अवस्थाका कारण’ स्थगित गरिएको बायर्न म्युनिखले विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ । 

शनिबार म्युनिखमा ४४ सेन्टिमिटर हिउँ परेको सीएनएनले बाभेरियन सार्वजनिक प्रसारक बेइरिस्चर रुन्डफङ्कलाई उद्धृत गर्दै उल्लेख गरेको छ । म्युनिखमा शनिबार ४५ सेन्टिमिटर हिउँ परेको थियो, त्यो सन् १९३३ पछिको डिसेम्बरको पहिलो रेकर्ड हो । यसअघि, १९३८ डिसेम्बर २९ मा ४४ सेन्टिमिटर हिउँ परेको थियो ।



बाभेरियामा यसपालि १७ वर्षयताकै भारी हिमपात भएको छ । बाक्लो हिमपातसँगै यहाँको उडान र गुडान दुवै यातायात प्रत्यक्ष रूपमा प्रभावित हुने गर्छ । 



  • प्रकाशित मिति : मंसिर १७, २०८० आइतबार १२:२०:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया