logo-img

‘गाजामा मानवीय पीडा असह्य छ’

प्यालेस्टिनी क्षेत्रमा रहेका नागरिकको सुरक्षाका लागि आह्वान गर्दै अन्तर्राष्ट्रिय रेडक्रस समितिकी अध्यक्ष सोमबार युद्धग्रस्त गाजा पुगेकी छन् । 

रेडक्रसको अन्तर्राष्ट्रिय समितिले अध्यक्ष मिर्जाना स्पोल्जारिकको यस क्षेत्रको भ्रमण विभिन्न चरणमा हुने र आगामी हप्ताहरूमा इजरायलको भ्रमण हुने अपेक्षा गरिएको जनाएको छ । 

‘म गाजा आइपुगेकी छु, यहाँ मानिसहरूको पीडा असह्य छ,’ स्पोल्जारिकले एक्स (ट्विटर) मा लेखेकी छन्, ‘गाजामा सर्वसाधारणको लागि कुनै सुरक्षित स्थान नहुनु अस्वीकार्य छ र सैन्य घेराबन्दीका कारण पर्याप्त मानवीय सहायता पनि सम्भव छैन ।’ 

हमासद्वारा बन्धक बनाइएका इजरायली बन्धक र इजरायलले कब्जामा लिएका प्यालेस्टिनी कैदीहरूलाई पर्याप्त सहयोग नगरेको भन्दै द्वन्द्वमा दुवै पक्षबाट आलोचना खेप्दै आएकी स्पोल्जारिकले ‘स्वतन्त्रताबाट बञ्चित सबैलाई मानवीय व्यवहार गरिनुपर्नेमा जोड दिएकी छन् । 

‘बन्धक बनाइएकाहरूलाई रिहा गरिनुपर्छ र आईसीआरसीलाई सुरक्षित रूपमा उनीहरूसँग भेट्न दिनुपर्छ,’ उनले भनेकी छन् । कतार, संयुक्त राज्य अमेरिका र इजिप्टको मध्यस्थतामा इजरायल र हमासले सयौं बन्धक र कैदीहरू आदानप्रदान गरेको एक हप्ता लामो युद्धविराम भङ्ग भई शुक्रबारदेखि पूर्ण रूपमा युद्ध सुरु भएपछि उनी गाजा पुगेकी हुन् । 

७ अक्टोबरमा इस्लामिक लडाकू समूहले गरेको आक्रमणको बदलामा इजरायलले हमासलाई परास्त गर्ने प्रतिबद्धता जनाएको छ । सो आक्रमणमा १ हजार २०० व्यक्तिको मृत्यु भएको थियो भने मृत्यु हुनेमा अधिकांश सर्वसाधारण थिए । उक्त आक्रमणपछि हमासले २४० जनालाई बन्धक बनाएको इजरायली अधिकारीहरूले बताएका छन् ।



इजरायली सेनाले युद्ध सुरु भएयता करिब १० हजार हवाई आक्रमण गरेको आइतबार जनाएको छ । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले गाजामा १५ हजार ५०० भन्दा बढी व्यक्तिको मृत्यु भएको जनाएको छ, जसमध्ये करिब ७० प्रतिशत महिला र बालबालिका रहेका छन् । 



  • प्रकाशित मिति : मंसिर १९, २०८० मंगलबार ७:२:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया